+
+
Shares

स्ट्याटसका कारण पक्राउ परेका अधिवक्ता केसीविरुद्ध मुद्दा दर्ता

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा केसीले देशमा मौलाउँदो भ्रष्टाचार, आर्थिक संकट, युवा पलायन लगायतलाई मध्यनजर गरेर नेपाली नागरिकको रुपमा मन खिन्न भएको विषयबारे स्ट्याटसमा लखेको भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्याटस लेखेर साइबर अपराध गरेको भन्दै अधिवक्ता सुजित केसीमाथि साइबर अपराधको मुद्दा दर्ता भएको छ।
  • प्रहरीले केसीको स्ट्याटसले घृणा र चरित्र हत्या गरेको आरोप लगाएको छ।
  • केसीले भ्रष्टाचार र आर्थिक संकटको विषयमा फेसबुकमा स्ट्याटस लेखेका थिए।

२९ जेठ, काठमाडौं । हिल्टन होटलसँग सम्बन्धित प्रसंगमा ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च’ भन्दै स्ट्याटस लेखेर साइबर अपराध गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता सुजित केसीले त्यसबारे स्ट्याटस लेखेर विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ विपरितको कसुर गरेको निष्कर्षसहित सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानपछि तयार रायसहितको प्रतिवेदनका आधारमा बिहीबार अदालतमा मुद्दा दायर भएको एक अधिकृतले बताए ।

अदालतमा दायर यो मुद्दामा जाहेरवालाको नाम उल्लेख छैन । नाम परिवर्तन गरेर ‘साइबर ब्यूरो ५५’ ले स्ट्याटसले आफ्नोविरुद्ध घृणा, द्वेष फैलाउने कार्य गरेर चरित्र हत्या गरेको भन्दै अनुसन्धानका लागि निवेदन प्राप्त भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीले उनलाई यो विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा समेत राखेको थियो । तर, ६ दिनपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई छाड्न आदेश दिएको थियो ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा केसीले देशमा मौलाउँदो भ्रष्टाचार, आर्थिक संकट, युवा पलायन लगायतलाई मध्यनजर गरेर नेपाली नागरिकको रुपमा मन खिन्न भएको विषयबारे स्ट्याटसमा लखेको भनेका छन् ।

‘सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाहरुमा समेत नेपालको पाँचौं पटक प्रधानमन्त्री भइसकेको पविारका सदस्यले ९ अर्ब बढी मूल्य पर्ने हिल्टन नामक होटल खरिद गरेको विषय थाहा पाएपछि मैले फेसबुकमा स्ट्याटस लखेको थिएँ’, उनले भनेका छन्, ‘पछि उक्त घट्ना सत्य नहुन पनि सक्छ भन्ने मलाई लागि डिलिट समेत गरिदिएको थिएँ ।’

प्रहरीले उनको यो बयान, अम्मरबहादुर रावल नामक व्यक्तिले गरेको कागजका आधारमा केसीमाथिको अभियोग पुष्टि हुने भन्दै मुद्दा चलाउन रायसहितको प्रतिवदेन दिएको थियो ।

हिल्टनसँग सम्बन्धित विषयमा समाचार प्रशारण गरेपछि पत्रकार दिलभूषण पाठकविरुद्ध समेत साइबर ब्यूरोमा निवेदन परेको छ । त्यसको आधारमा प्रहरीले पक्राउ पूर्जी समेत लिइसकेको छ । ‘उहाँविरुद्ध निवेदन परेकाले अनुसन्धान गरिरहेका छौं’, ब्यूरोका एसएसपी नविन्द अर्यालले भने, ‘यो निवेदनमा उहाँको खोजी भइरहेको छ, अरु कोही पक्राउ पर्नुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?