+
+
Shares
तीनकुने घटना :

प्रसाईंको गाडीमा झुन्डिनेदेखि जडीबुटीमा आगो झोस्नेसम्मका व्यक्ति थुनामा

३२ जना प्रतिवादी धरौटीमा रिहा हुँदा दुर्गा प्रसाईं, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत कारागार चलान भए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ ३० गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीनकुने घटनामा संलग्न सात प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
  • उनीहरूमा राष्ट्रविरोधी गतिविधि र आगजनीमा संलग्नता रहेको आरोप छ।
  • आरोपितहरूमा दुर्गा प्रसाईं, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ, डण्डपाणि रेग्मी, गोकर्ण शाही र सरोज गौतम रहेका छन्।

३० जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भए ।

बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई कारागार पठायो ।

६१ जना प्रतिवादीलाई सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् ।

बिहीबार रातिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ३९ जना थिए । ३९ प्रतिवादीको एक साताभन्दा लामो थुनछेक बहस सकिएपछि बिहीबार अदालतले आदेश गर्‍यो ।

जसमध्ये राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिका जनकमान्डर तोकिएका दुर्गा प्रसाईं, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत कारागार चलान भए । बाँकी ३२ जनालाई भने धरौटी माग भएकाले उनीहरू धरौटी बुझाएर रिहा भए ।

पुर्पक्षका लागि कारागार चलान भएका यिनै ७ जनाको समूहले तीनकुने घटनामा खेलेको भूमिका र उनीहरूमाथि लागेको आरोपबारे खोतल्ने प्रयास गरिएको छ ।

दुर्गा प्रसाईं

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ ।

यो महाअभियानलाई प्रशासनले १५ चैतमा आन्दोलन गर्न तीनकुनेमा स्वीकृत दिएको थियो । राजसंस्था पुनर्स्थापनाका लागि भनिएको यो आन्दोलनका उनी जनकमान्डर तोकिएका थिए । उनै जनकमान्डर प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेको आरोप छ ।

यो घटनामा पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो । यसका कमान्डर समेत भएको र उनैलाई कार्यक्रम गर्न अनुमति दिएको भन्दै उनीविरुद्ध ५ कसुरमा मुद्दा दायर भएको थियो ।

जसमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । २९ चैतमा आसामबाट पक्राउ परेयता हिरासतमा रहेका प्रसाईंलाई अदालतले कारागार चलानको आदेश दिएपछि उनी कारागार चलान भएका छन् ।

सुशील बराल

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मेदिबुङ घर भएका २३ वर्षीय बराल पछिल्लो समय काठमाडौं कोटेश्वर बस्दै आएका थिए । उनी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकै अनवरत तत्पर फोर्स एटीएफमा आबद्ध थिए ।

एटीएफका महासचिव समेत रहेका बराललाई विरुद्ध ३ कसुरमा मुद्दा दायर भएको थियो । जसमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध थिए । बराललाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश भएको छ ।

उनले मुख्यगरी तीनकुनेस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्था रहेको भवनमा लागेको आगो निभाउन आएको दकमलाई अवरोध गरेको आरोप छ । आन्दोलनकारीले यो भवन आगो लगाएपछि दमकल ल्याएर निभाउने प्रयास भएको थियो ।

तीनकुने घटनाका कमान्डर दुर्गा प्रसाईं अदालतको आदेशपछि कारागार चलान भएका छन् । उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

आगो निभाउन आएको दमकललाई बरालको मुख्य नेतृत्वमा अवरोध गरिएको थियो । यसको सीसीटीभी फुटेज समेत संकलन गरेर प्रहरीले प्रमाण जुटाएको थियो । दमकललाई अवरोध गर्दा आगो निभाउन ढिला हुँदा उही भवनमा पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।

दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई पेल्दै गाडी अगाडि बढाउँदा उनी पनि त्यो गाडीमा सवार रहेको बताइएको छ ।

केशव बस्नेत

रामेछापको गोकुलगंगा गाउँपालिका–४ घर भएका २८ वर्षीय बस्नेतविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

उनले मुख्यगरी जडिबुटी प्रशोधन केन्द्रमा राखेका गाडी जलाएको आरोप थियो । प्रशोधन केन्द्रमा राखिएका सरकारी र निजी गाडीमा उनले आगजनी गरेका थिए । दाउरामा कपडा बाँधेर पुल्ठो बनाउँदै आगो सल्काएर गाडीहरूमा लगाएको सीसीटीभी फुटेज समेत फेला परेको थियो ।

गाडी जलाउने मुख्य भूमिकामा देखिएका उनलाई पनि कारागार चलानको आदेश भएको हो । त्यस्तै उनले सीसीक्यामेरामा ढुंगाले हानेर तोडफोड समेत गरेका थिए । यी दुवै आरोप पुष्टि हुने किसिमका फुटेज प्रहरीले संकलन गरेको थियो ।

कुमार तामाङ

पुर्पक्षका लागि कारागार चलान भएका अर्का प्रतिवादी सन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २८ वर्षीय तामाङविरुद्ध आपराधिक उपद्रव, संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाने मध्ये उनी एक हुन् । उनीमाथि उही आरोप लगाउँदै मुद्दा दायर भएको थियो । कार्टुनमा आगो लगाएर उनले प्रशोधन केन्द्रमा आगो झोसेको आरोप छ । यसको सीसीटीभी फुटेज समेत भेटिएको थियो ।

त्यस्तै तामाङले ट्राफिक लाइटमा ढुंगा प्रहार गर्दै तोडफोड गरेको भिडिओ पनि प्रहरीले प्रमाणका रूपमा संकलन गरेर पेस गरेको थियो । यही दुई भिडिओलाई बलियो प्रमाणका रूपमा लिँदै न्यायाधीश कार्कीको इजलासले उनलाई कारागार पठाएको हो ।

डण्डपाणि रेग्मी

अछामको बान्निगढी गाउँपालिका–२ घर भएका रेग्मी पछिल्लो समय कैलालीको धनगढी बस्दै आएका थिए । १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनमा सहभागी हुन आएका उनी शिवसेना नेपालमा आबद्ध व्यक्ति हुन् ।

६२ वर्षीय रेग्मीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, संगठित अपराध गरी ४ कसुरमा मुद्दा दायर भएको थियो ।

तीनकुनेमा रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था भएको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा उनी संलग्न रहेको आरोप छ । यो घरमा आगो लगाउनेमध्येका एक रेग्मी रहेको भन्दै मुद्दा दायर भएको थियो । उनीहरूले नै लगाएको आगोमा परेर पत्रकार रजकको मृत्यु भएको थियो ।

जसका कारण उनलाई कर्तव्य ज्यानको मुद्दा पनि लगाइएको थियो । उनै रेग्मीलाई कार्कीको इजलासले पुर्पक्षका लागि कारागार पठाएको हो ।

गोकर्ण शाही

अछामको पञ्चदेव नगरपालिका–५ लयाटी घर भएका २६ वर्षीय शाही पछिल्लो समय ललितपुरको टीकाथली बस्दै आएका थिए । अनुप राजावादी भनेर समेत चिनिने उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

उनी राप्रपा र एटीएफमा आबद्ध रहेको पाइएको प्रहरीले बताएको छ । दुर्गा प्रसाईंको गाडीमा बसेर सुरक्षाकर्मीलाई समेत पेल्ने गरी अघि बढाउनेमा उनको पनि भूमिका देखिएको अभियोगपत्रमा उललेख छ ।

दुर्गा प्रसाईंले आओ–आओ भन्दै गाडी अगाडि बढाएका बेला उनले प्रसाईंकै गाडीको झ्यालमा झुन्डिएर भिडलाई हौस्याउँदै आक्रोशित बनाएको आरोप लगाइएको छ । जुन कुरा भिडिओमा समेत प्रष्ट देखिन्छ । ज्यान मार्ने उद्देश्यले अगाडि बढ्ने र निषेधित क्षेत्र तोड्नेमा उनको भूमिका देखिएको बताइएको छ ।

सरोज गौतम

रामेछापको सुनापति गाउँपालिका–९ सिमपानी घर भएका २६ वर्षीय गौतम तारा राजावादी भनेर चिनिन्छन् । उनीविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

उनी एनी टाइम रेडी फोर्स (एटीआरएफ)मा आबद्ध सदस्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।

उनी पनि पत्रकार सुरेश रजकको मृत्यु भएको तीनकुनेको घरमा आगजनी गर्नेमध्ये एक रहेको निष्कर्ष निकाल्दै प्रहरीले प्रमाण संकलन गरेको थियो । आगो लगाउँदै गरेको फोटो समेत भेटिएको थियो ।

यसका साथै उनले संसद् भवन कब्जा गर्न जाउँ भन्दै उक्साए, डिभाइडर फुटाएको आरोप थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?