
News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्रप्रसाद ढकालले ६ वर्ष अध्ययन गरी नेपालमा रेमिट्यान्स कम्पनी खोल्न लाइसेन्स प्राप्त गरे।
- आईएमई रेमिटले २५ वर्षमा विश्वसनीय ब्रान्ड बनाउँदै वार्षिक ७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याइरहेको छ।
- सन् २००१ मा स्थापना भएको आईएमई रेमिट नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी हो।
३० जेठ, काठमाडौं । तीन दशकअघि संघीय राजधानी ठमेलमा बाग्लुङका चन्द्रप्रसाद ढकालले ‘इन्टरनेसनल मनी एक्स्चेन्ज’ भन्ने सानो अफिस खोले ।
कार्गो लगायत सानोतिनो व्यवसायमा हात हालेका चन्द्रलाई उनका भाइ हेमराज (रामु) ले पनि सघाइरहेका थिए ।
बिस्तारै व्यापारले गति लिँदै थियो । व्यापारकै सिलसिलामा चन्द्रलाई अमेरिका जानुपर्ने भयो । अमेरिकी दूतावास गएर भिसा आवेदन दिएलगत्तै भिसा पाए । अमेरिका उड्नुअघि एकदिन जापानमा रहेका चन्द्रकै गाउँका एक जना दाइसँग टेलिफोनमा कुराकानी भयो ।
ती दाइले चन्द्रलाई अमेरिका होइन, जापान बसेर काम गर्न सुझाए । चन्द्र त्यसपछि जापान हुँदै अमेरिका जाने भए । जापानको पनि भिसा पाए । जापान पुगे । त्यहीँ तीन महिना बसे । यता नेपालको कार्गो व्यापार भाइले सम्हालिरहेका थिए । जापान बसिरहँदा भाइ रामुलाई पनि चन्द्रले उतै बोलाए ।
जापान बसिरहेका नेपालीले आफ्ना परिवारलाई पैसा पठाउन असाध्यै गाह्रो भएको चन्द्र–रामुले उतै बस्दा थाहा पाए ।
अब कसरी यो काम कानुनी हिसाबमा फत्ते गर्न सकिन्छ ? कसरी नेपालमा सजिलै पैसा पठाउन सकिन्छ ? भनेर दाजुभाइबीच गहन बहस भयो ।

अनि, भाइ रामुलाई जापानमै छाडेर चन्द्र नेपाल फर्किए । संसारभरि छरिएर रहेका नेपालीले दुःखजिलो गरी कमाएको पैसा नेपालमा रहेको परिवारको हातमा वैधानिक रूपमा सजिलै कसरी पुर्याउन सकिन्छ भनेर चन्द्रले लगभग ६ वर्षसम्म अध्ययन गरे ।
नेपाल राष्ट्र बैंकदेखि अनेक सरकारी निकाय धाउँदा–धाउँदा आखिर चन्द्रले विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउन पाउने गरी सरकारबाट कम्पनी खोल्ने लाइसेन्स प्राप्त गरिछाडे ।
यो साढे दुई दशकअघिको कुरा हो । जापान हुँदै भाइसँग भएको सल्लाह अनुसार विदेशबाट रेमिट्यान्स भित्र्याउने एउटा कम्पनी स्थापना भयो नेपालमा ।
चन्द्रले रेमिट्यान्स भित्र्याउने कम्पनीको नाम के राख्ने भन्ने विषयमा भाइ रामुसँग सल्लाह गरे ।
जापान जानुअघि नै चन्द्रले ठमेलमा सुरु गरेको ‘इन्टरनेसनल मनी एक्स्चेन्ज’ कै नाम नयाँ कम्पनीमा दिनेबारे दाजुभाइको छलफलपछि सोही कम्पनीको नामको छोटो रूप (सर्ट फर्म) ‘आईएमई’ लाई नयाँ कम्पनीको नाम बनाए । र, नेपालमा रेमिट्यान्स भित्र्याउन थाले ।
चन्द्र–रामुले बनाएको ब्रान्ड ‘आईएमई’ को नाम नसुनेका नेपाली संसारमा पाउन मुस्किल छ । अहिले ‘आईएमई रेमिट’ कम्पनी एकमात्र यस्तो ब्रान्ड बनेको छ, जुन रेमिट्यान्सको पर्याय नै हो भन्दा अतिशयोक्ति नहोला ।
हो, यही आईएमई रेमिटले आज शुक्रबार स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको छ ।
‘अहिले त कतिसम्म हुन थालेछ भने कोही मान्छे पैसा पठाउन हाम्रो कम्पनीमा नआई अर्कै कम्पनीमा गएको छ भने पनि पैसा पठाउने बेला आईएमई गरौं न भन्ने रहेछन्,’ आईएमई रेमिटका सहसंस्थापक तथा अध्यक्ष चन्द्र भन्छन्, ‘यसले पनि हाम्रो आईएमई ब्रान्ड कतिसम्म छाएको रहेछ भन्ने पुष्टि हुन्छ ।’
आईएमईले सुरुवातमा मलेसियाबाट रेमिट्यान्स भित्र्याउन थालेको थियो । करिब साढे दुई दशकअघि नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेसिया थियो ।
नेपालीहरू वैदेशिक रोजगारीका लागि हजारौंको संख्यामा मलेसिया पुगिरहेका थिए । तर, तिनले त्यहाँ दुःख गरेर कमाएको पैसा वैधानिक हिसाबमा घर पठाउन नसक्ने अवस्था थियो ।
मलेसियाको बजारमा आफ्नो हिस्सा बढाउन चन्द्रले भाइ रामुलाई उतै पठाए । अनि, भाइले उता गएर बजार अध्ययनदेखि त्यहाँको नियामक निकायसम्म काम गरेपछि आईएमईले मलेसियाबाट रेमिट्यान्स ल्याउने अनुमति पाएको थियो ।
१ करोड पूँजीबाट सुरु भएको आईएमई रेमिट अहिले अर्ब नाघिसकेको छ । सुरुवातमा वार्षिक २० लाख अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य राखेका चन्द्र–रामु अहिले २० करोड डलर बराबर रेमिट्यान्स ल्याउनु सामान्य भएको बताउँछन् ।
पछिल्लो तथ्यांक हेर्दा त नेपाल भित्रिने कुल रेमिट्यान्सको आधा हिस्सा आईएमई रेमिट एक्लैले नै ल्याउने गरेको छ । यसले वार्षिक ७ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्र्याइरहेको छ ।
आईएमई रेमिटको यात्रा
सन् २००१ मा स्थापना भएको आईएमई रेमिट नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गर्ने मुलुककै पहिलो मनी ट्रान्स्फर कम्पनी हो ।
आईएमई रेमिटले २००२ मा मलेसियामा पहिलो वैदेशिक कार्यालय खोलेको थियो । त्यसपछि २००३ देखि २००४ मा बेलायत र अस्ट्रेलियामा कार्यालय स्थापना गरेको थियो ।
व्यापार बढाउँदै आईएमई रेमिटले सन् २००७ देखि २००८ भित्र इन्डोनेसिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनाम प्रवेश गरेको थियो ।
२०१० देखि २०१३ भित्र अमेरिका प्रवेश गरेको आईएमई रेमिटलाई नेपाल सरकारले मुलुककै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी घोषणा गरेको थियो ।
२०१४–२०१५ मा आईएमई रेमिटले लगातार दोस्रो वर्ष सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीको अवार्ड प्राप्त गरेको थियो । २०१६ मा फेरि नेपाल सरकारबाट सोही अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
विभिन्न देशबाट आएको रेमिट्यान्स नेपालका ३ हजार ५ सयभन्दा बढी स्थानबाट तुरुन्तै पाउन सकिने व्यवस्था आईएमई रेमिटले गरेको छ ।
प्रतिक्रिया 4