
३१ जेठ, काठमाडौं । दुबईको एक ६७ तले आवासीय भवनमा भिषण आगलागी भएको छ । आगलागीमा मानवीय क्षति नभएको गल्फ न्यूजले जनाएको छ ।
यूएईको दुबईस्थित टाइगर टावरका नामले चिनिने गगनचुम्बी भवनमा आगलागी भएको हो । आगलागीलगत्तै भवनमा रहेका मानिसहरुको आपतकालीन टोली परिचालन गरेर उद्धार गरिएको थियो । गगनचुम्बी भवनको ७ सय ६४ वटा अपार्टमेन्टबाट ३ हजार ८२० जनाको सकुशल उद्धार भएको छ ।
स्थानीय प्रशासनले विस्थापित भएका मानिसहरुको निर्माणकर्ता कम्पनीसँग मिलेर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ । आगलागीको यकिन कारण खुलेको छैन ।
शनिबार बिहान ९ः३० बजेतिर सुरु भएको आगलागीपछि दुबई सिभिल डिभेन्स, प्रहरी र आपतकालीन चिकित्सकहरुको टोली घटनास्थलमा खटिएका थिए । सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा धुवाँले भरिएको भवनबाट मानिसहरु अनुहार छोप्दै बाहिर निक्लिरहेको देखिन्छ ।
यसअघि सन् २०१५ पनि यही भवनको ४७औं तलाको भान्साबाट सुरु भएको आगलागी ४८औंसम्म फैलिएको थियो । यो भवन नजिकैका गगनचुम्बी द टोर्च टावरमा पनि सन् २०१५ र २०१७ मा आगलागी भएको थियो ।
प्रतिक्रिया 4