+
+
Shares

तेल अविवमा तनाव छ, नेपालीको अवस्था के छ ?

परराष्ट्रमन्त्री आरुजुले सोधिन् इजरायलको हालखबर

तेल अविवमा तनाव छ । नेपालीहरुबारे अप्रिय खबर छैन । हामीले सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला, उद्धार नगर्नुहोला’ भन्नुभएको छ ।

धनप्रसाद पण्डित, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, इजरायलका लागि नेपाली राजदूत
२०८२ असार १ गते २०:११

१ असार, काठमाडौं । राति ९ बजेदेखि तेल अविवमा पहिलो मिसाइल आक्रमण भयो । त्यसपछि राति एक–दुई बजेदेखि बिहान तीन–चार बजेसम्म ठूलो आवाजका साथ आक्रमण चल्यो । अहिले बिहानको ७ बज्दासम्म यहाँको अवस्था ठिकै छ ।

सरकारले नै इमर्जेन्सी सेवामा खटिएकाहरु बाहेक अरुलाई घर बाहिर ननिस्किन भनेर सूचना जारी गरेको छ । त्यसैले आज दूतावासको कार्यालय जानसक्ने अवस्था छैन । हामी दूतावासका कर्मचारीहरु अलग–अलग ठाउँमा सुरक्षित बसिरहेका छौं ।

हामी दूतावासका सबै कर्मचारीहरु सुरक्षित छौं । अरु नेपालीहरुबारे पनि नराम्रो खबर सुन्न परेको छैन । यसको अर्थ सबै नेपालीहरु सुरक्षित नै हुनुहुन्छ भन्ने विश्वास छ ।

एउटा कार्यक्रमका लागि इजरायल आउनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पनि सुरक्षित हुनुहुन्छ । उहाँ किबुट होटलमा बस्नु भएको छ । मेयर कोइराला र अरु नेपालीहरुलाई मैले बेलाबेलामा फोन गरेर सम्पर्क गरिराखेको छु । ठिकै छ भन्ने खबर पाएको छु ।

अहिले हवाई र समुद्री दुवैतर्फका मार्ग बन्द गरिएको छ । देशको सीमा नाघेर आउ–जाउ गर्नसक्ने अवस्था छैन ।

आज इरानको तर्फबाट इजरायलमा पहिलो आक्रमण हाइफ भन्ने ठाउँमा भयो । यो बन्दरगाह हो । त्यसपछि तेलअविवका अरु तीन ठाउँ– रमादगान, ब्याटयाम र ताम्रा ठन्ने ठाउँमा आक्रमण भए । यी शहर राजधानी तेलअविवका ठूला शहरहरु हुन् । आक्रमण भएको ठाउँ काठमाडौंको सिंहदरबार र क्षेत्रपाटी भनेजत्तिकै दुरीमा छन् ।

परराष्ट्रमन्त्री आरुजुले सोधिन् हालखबर

आज बिहानै नेपाली समय अनुसार करिब ६ बजे परराष्ट्रमन्त्री आरुजु राणा देउवाले पनि मलाई फोन सम्पर्क गरेर हालखबर सोध्नु भएको थियो । मैले हामीहरु र यहाँ रहेका नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको जानकारी गराएँ । नेपालीहरुको उद्धार गर्नुपर्ने अवस्था आए भन्नुहोला पनि भन्नुभएको छ ।

इजरायलमा ५ /७ हजार जना नेपालीहरू रहेको अनुमान छ ।  हामीले सकेसम्म सबै नेपालीसँग सम्पर्क गर्ने कोसिस गरिराख्या छौं । उनीहरुको हालखबर सोधिराखेका छौं । तर प्रत्येक व्यक्तिलाई सम्पर्क गर्न सम्भव होला नहोला । तर सबै नेपालीहरुलाई मेरो विनम्र आग्रह के छ भने इजरायल सरकारका सुरक्षा सम्बन्धी सूचनामा अपडेट हुनुहोला । सरकारले जारी गरेका नियमलाई पालना गरिदिनु होला ।

तपाईंहरु जहाँ हुनुहुन्छ, त्यही ठाउँमा सुरक्षित तरिकाले बस्नु होला । आफूखुसी बाहिर निस्किने, हिँडडुल गर्ने काम नगर्नुहोला । उद्धार गर्नुपर्ने भएमा वा अरु कुनै अप्ठ्यारो अवस्था आइपरेमा हामीलाई सम्पर्क गर्नुहोला ।

आज त दूतावासको कार्यालयसम्म जानसक्ने अवस्था छैन । तर पनि हामी अवस्था खराब हुँदै गएमा कुनै तरिका अपनाएर हामी सम्पर्कका माध्यमहरु सार्वजनिक गर्नेछौं ।

नेपालीहरुले भने– हाम्रो उद्धार नगर्नुहोला

हामीले नेपालीहरुलाई सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला तर हाम्रो उद्धार नगर्नुहोला’ भन्नुभएको छ ।

यसका दुई कारण छन् । एउटा आकर्षक तलबसहितको काम र अर्को फेरि फर्किएर त्यही काम नपाउने अवस्था ।

अहिले हामीलाई उद्धार नगरे पनि हुन्छ भन्छन् नेपालीहरु । किनभने उनीहरुलाई आकर्षक कमाइ गुम्ने डर छ ।

इजरायलमा हमासले नेपाली विद्यार्थीहरुमाथि आक्रमण गर्दा नेपाल सरकारले नेपालीहरुको उद्धार गरेको थियो । त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैं आउनु भएको थियो ।

विद्यार्थीहरु बाहेक घरमा स्याहारसुसारको काम गर्ने अरु नेपालीहरुको पनि उद्धार भयो । नेपालीहरुलाई सुरक्षित उद्धार त गरियो तर इजरायली रोजगारदाताहरु रिसाए । हामीलाई अप्ठेरो परेको बेला, झन् बढी स्याहार चाहिएको बेला तिमीहरु भाग्ने ? भनेर प्रश्न गरे । नेपाल फर्किएकाहरु फेरि इजरायलमा त्यही काममा आउन पाएनन् । आकर्षक तलब आउन बन्द भयो ।

त्यही भएर अहिले हामीलाई उद्धार नगरे पनि हुन्छ भन्छन् नेपालीहरु । किनभने उनीहरुलाई आकर्षक कमाइ गुम्ने डर छ । हुन पनि यहाँ केयरटेकरमा आउने नेपालीहरुले मासिक कम्तिमा पनि दुई–तीन लाख बचाउँछन् । त्यति रकम बचाउनु भनेको त नेपालीहरुलाई ठूलो कुरा हो नि ।

इजरायल र इरानको लडाइँ कति दिनसम्म चल्छ थाहा छैन । इरायली मिडियाहरुले इरानसँग लामो दुरीमा आक्रमण गर्नसक्ने मिसाइल २ हजारको संख्यामा छ, त्यो सकिएपछि लडाइँ पनि रोकिने अनुमान गरेका छन् । तर युद्ध अनुमान गरेजस्तो हुँदैन । देशहरु विभक्त छन् । तिनीहरुले आ–आफ्ना समर्थक देशहरुलाई हतियार सहयोग पनि गर्न सक्छन् । त्यसैले लडाइँ अनुमान गरिएको भन्दा लामो समयसम्म चल्न पनि सक्छ, नचल्न पनि सक्छ ।

ज्यान सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैभन्दा पहिले आफू सुरक्षित हुनुपर्छ । म नेपालीहरु सबैलाई सुरक्षित रुपमा बस्न र कुनै समस्या भए हामीलाई सम्पर्क गर्न फेरि पनि अनुरोध गर्दछु ।

(तेलअविवमा रहेका राजदूत पण्डितसँग अनलाइनखबर डटकमले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?