
१ असार, काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनलाई फरार प्रतिवादी बनाउँदै पर्सा जिल्ला अदालतमा सहकारी ठगी कसुरको मुद्दा दायर भएको हो । उनीविरुद्ध ५ करोड ५१ लाख ९७ हजार ३५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
गाउँपालिकाको नियमित काममा रहेका बराललाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यसअघि उनी जीबी राई जोडिएको सुप्रिम सहकारीदेखि स्वर्णलक्ष्मी सहकारीमा पनि जोडिएर मुद्दा दायर भएको थियो ।
उनीसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ ।
यसअघि प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
प्रतिक्रिया 4