News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका प्रतिस्पर्धा गर्ने भए।
- मेलम्चीले साँगाचोकलाई सुपर ओभरमा पराजित गरी फाइनल प्रवेश गर्यो।
- फाइनल प्रतियोगिता सोमबार काठमाडौंमा आयोजना हुनेछ।
१ असार, काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार हुने तय रहेको भोटेचौर स्पोर्टस क्लबसँगकाे पहिलो सेमिफाइनल वर्षाका कारण हुन नसके पनि समूह विजेता भएका आधारमा पाँचपोखरीले फाइनलमा स्थान बनायो ।
पाँचपोखरी समूह ‘ए’ को विजेता तथा भोटेचौर समुह‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
यता निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा पराजित गर्यो ।
साँगाचोकले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याएको मेलम्चीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
वर्षाका कारण खेललाई १० ओभरमा झारिएको थियो । मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले ३३, उत्तम थापा मगरले १५ र सोनु देवकोटाले ११ रन बनाए ।
साँगाचोकका लागि उद्धव तिमल्सिनाले दुई तथा प्रतिक श्रेष्ठ, समुन चौलागाइ र मनिष पराजुलीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो ।
साँगाचोकका लागि अशोक पौडेल ३३, प्रतिश श्रेष्ठले २१ र कप्तान उमंग धितालले १० रन बनाए ।
मेलम्चीका लागि सन्दीपकुमार शाहले दुई तथा सोनु देवकोटा, निशान भारती, राकेश श्रेष्ठ र रिन्जिङ लामाले समान एक विकेट लिए ।
मेलम्ची समुह ‘बी’ को विजेता र साँगाचोक समूह ‘ए’ को उपाविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए ।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4