
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता हरिवंश आचार्य अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका फिल्म फेस्टिभलको विशेष अतिथिको रुपमा सहभागी हुनेछन्।
- फेस्टिभल जुन २६ देखि २९ सम्म आयोजना हुँदैछ र ‘शाम्बाला’ र ‘राजागञ्ज’ फिल्महरूको प्रदर्शन हुनेछ।
- आचार्यले आफ्नो फिल्म ‘भूठान’को अमेरिका प्रिमियरमा सहभागी हुने र नेपाली सिनेमा र साहित्यको विश्वव्यापी सम्भावनामा छलफल गर्नेछन्।
काठमाडौं । अभिनेता हरिवंश आचार्य अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५ मा विशेष अतिथिको रुपमा सहभागी हुने भएका छन् । फेस्टिभलले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।
जुन २६ देखि २९ सम्म यसवर्षको फेस्टिभल संस्करण आयोजना हुँदैछ ।
यो फेस्टिभल मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को प्रदर्शनसँगै औपचारिकरुपमा सुरु हुँदैछ । समापन फिल्मको रुपमा दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ छ ।
अभिनेता आचार्य उद्घाटन र समापन समारोहसहित आफ्नो फिल्म ‘भूठान’को अमेरिका प्रिमियरमा पनि उपस्थित हुनेछन् । यो फिल्मको स्क्रिनिङपछि दर्शकले आचार्यसँग प्रश्नोत्तर गर्ने मौका पाउनेछन् ।
महोत्सवको क्रममा ब्रेन्टवुड आट्र्स एक्सचेन्जमा हरिवंशसँग फायरसाइड च्याट आयोजना गरिनेछ, जहाँ उनले आफ्नो सिर्जनात्मक यात्राको बारेमा चिन्तन गर्नेछन्, नेपाली सिनेमा र साहित्यमा आफ्नो योगदानको बारेमा छलफल गर्नेछन् र नेपाली कथाकथनको विश्वव्यापी सम्भावनाको बारेमा विचार राख्नेछन् ।
आफ्नो सहभागिता बारेमा बोल्दै आचार्यले भने, ‘यस प्रकारको अन्तर्राष्ट्रिय महोत्सवमा म पहिलो पटक भाग लिइरहेको छु । अमेरिकामा बसोबास गर्ने नेपाली फिल्मप्रेमीले मेरिल्याण्डमा यस्तो उत्कृष्ट महोत्सवको सुरुवात गरेकोमा म धेरै उत्साहित छु । यस्ता महोत्सवले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा उचाल्न मद्दत गर्छन् । म जस्ता कलाकारका लागि, यो अन्तर्राष्ट्रिय समुदायसामु हाम्रो प्रतिभा प्रस्तुत गर्ने मञ्चको रूपमा काम गर्दछ र विश्वव्यापी अवसरहरूको ढोका खोल्न सक्छ ।’
‘हामी हरिवंश आचार्यलाई हाम्रो फिल्म महोत्सवमा स्वागत गर्न पाउँदा हर्षित छौं । उनको उपस्थितिले नेपाली डायस्पोरालाई सिनेमामार्फत कला, संस्कृति र समुदायसँग अझ गहिरो रूपमा संलग्न हुन प्रेरित गर्नेछ’ नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्ण बराइलीले बताए ।
प्रतिक्रिया 4