
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रीन टी स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले बिहान खाली पेटमा पिउन सल्लाह दिइन्छ।
- खाना खानुभन्दा कम्तीमा दुई घण्टा अघि वा पछि ग्रीन टी पिउन सुझाव दिइन्छ।
- दैनिक २ देखि ३ कप ग्रीन टी सेवनले स्वास्थ्य लाभ र साइड इफेक्टको जोखिम कम गर्न सक्छ।
पछिल्लो समय नेपाली समाजमा ‘ग्रीन टी’ पिउने चलन बढ्दै गइरहेको छ । खासगरी स्वास्थ्यप्रति सचेत हुनेले ग्रीन टीलाई आफ्नो दैनिकीमा समावेश गर्छन् । कोही तौल घटाउन, कोही स्वास्थ्य सुधार्न त कोही सौन्दर्यका लागि भन्दै पिउँछन् । ग्रीन टी विश्वभर लोकप्रिय छ ।
ग्रीन टीमा विशेष प्रकारका बिरुवाबाट प्राप्त हुने एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसलाई क्याटेचिन भनिन्छ। यो हानिकारक ‘फ्री रेडिकल’हरूसँग लड्छ । त्यसो भए ग्रीन टी पिउने सही समय कुन हो ? कुन समयमा पिउदा शरीरलाई सबैभन्दा बढी फाइदा हुन्छ त ?
बिहान खाली पेटमा पिउनु फाइदाजनक
बिहान खाली पेटमा एक कप ग्रीन टी पिउँदा, यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । किनभने त्यतिबेला पेटमा कुनै खाना वा पोषक तत्व हुँदैन, जसले ग्रीन टीका बिरुवाजन्य तत्वहरूलाई सजिलै अवशोषित गर्न मद्दत गर्छ ।
खाना खानुअघि वा पछि नपिउने
यदि ग्रीन टीलाई खाना खानेबित्तिकै पिइयो भने यसमा भएको ‘ट्यानिन्स’एक प्रकारको तितो स्वाद दिने तत्वले आइरनजस्ता पोषक तत्वहरू अवशोषित हुनमा बाधा पुर्याउन सक्छ । विशेषगरी यदि शाकाहारी हो र खानामा आइरनको मात्रा कम छ भने, यो कुरा झनै महत्त्वपूर्ण हुन्छ । त्यसैले ग्रीन टीलाई खाना खानुभन्दा कम्तीमा दुई घण्टा अघि वा पछि पिउन पोषणविद्हरू सुझाव दिन्छन् ।
रातमा पनि सोचविचार गरेर मात्र पिउनुपर्छ
कतिपय मानिसहरू सुत्नुअघि ग्रीन टी पिउँछन् किनभने यसले आराम प्रदान गर्छ । तर यसमा लगभग २०–४५ मिलिग्राम प्रतिकप क्याफिन हुन्छ, जसले निद्रामा बाधा पुर्याउन सक्छ । यदि क्याफिनप्रति बढी संवेदनशील हुनुहुन्छ भने, रातमा यो पिउनबाट जोगिनुपर्छ वा हर्बल चिया रोज्नुपर्छ ।
ग्रीन टी सही तरिकाले बनाउनुपर्छ
यदि ग्रीन टीलाई सही तरिकाले बनाइयो भने, यसको फाइदा अझै बढ्छ । जस्तो उमालिएको पानी मा २–३ मिनेटसम्म टी ब्याग वा पातहरू राख्ने । धेरैबेर भने राख्नु हुँदैन नत्र स्वाद तितो हुन सक्छ । सम्भव भएसम्म यसलाई थोरै कागती वा भिटामिन सी भएको फलसँग लिनुपर्छ । यसले एन्टिअक्सिडेन्टहरूको अवशोषणमा मद्दत गर्छ ।
ग्रीन टीमा दूध मिसाउनु राम्रो हुँदैन । यदि ग्रीन टीमा विशेषगरी गाईको वा सोया दूध मिसाइयो भने यसले चियामा भएको राम्रा तत्वहरूको प्रभाव कम गर्न सक्छ । त्यसैले यदि स्वास्थ्यको दृष्टिकोणले ग्रीन टी पिउने हो भने यसलाई दूधबिना पिउनुपर्छ ।
शारीरिक अवस्थाले पनि प्रभाव पार्छ
केही अनुसन्धान अनुसार धूम्रपान गर्ने, बढी तौल भएका वा विशेष जेनेटिक प्रोफाइल भएका व्यक्तिहरूलाई एन्टिअक्सिडेन्टहरूको त्यति फाइदा नहुन सक्छ, जति अरूलाई हुन्छ । अर्थात्, प्रत्येक व्यक्तिको शारीरिक अवस्थाले पनि ग्रीन टी को प्रभाव कति हुन्छ भनेर निर्धारण गर्छ ।
ग्रीन टी कति पिउने ?
ग्रीन टीको उचित मात्रा व्यक्तिको स्वास्थ्य अवस्था, उमेर, जीवनशैली र सहनशीलतामा भर पर्छ । केही अध्ययनहरूले स्वस्थ वयस्कका लागि दैनिक २ देखि ३ कप ग्रीन टी उपयुक्त हुने सुझाव दिन्छ । यो मात्राले ग्रीन टीबाट हुने फाइदाहरू लिन सकिन्छ । र, साइड इफेक्टहरूको जोखिम कम गर्छ ।
हार्वर्ड मेडिकल स्कूलका अनुसार दैनिक २ देखि ३ कप ग्रीन टीले मुटुरोगको जोखिम कम गर्न र मस्तिष्कको कार्यक्षमता बढाउन सहयोग गर्छ ।
ग्रीन टी कसरी पिउँदा बढी फाइदा हुन्छ ?
खाना खानसाथ वा खाना खानुअघि ग्रीन टी पिउनु राम्रो होइन । खाना खानुभन्दा अघि वा पछि आधा घण्टाको फरकमा पिउनुपर्छ । बिहान ब्रेकफास्टका साथमा ग्रीन टी पिउनु प्रभावकारी हुन्छ । अत्यधिक मात्रामा ग्रीन टी सेवन गर्दा त्यसमा एन्टिअक्सिडेन्ट र फ्लवोनोइडस अधिक मात्रामा हुने भएकाले कलेजोमा असर गर्न सक्छ । त्यसैले सीमित मात्रामा ग्रीन टी सेवन गर्नुपर्छ ।
ग्रीन टीमा चिनी, दूध मिसाउनु हुँदैन । कागती वा स्ट्रबेरीजस्ता भिटामिन सी भएको फलसँग पिउनुपर्छ । रातमा क्याफिनलाई ध्यानमा राखेर पिउने वा हर्बल चिया रोज्नुपर्छ ।
प्रतिक्रिया 4