+
+
Shares

पिकासोको कलामा मौलिक मोड ल्याउने त्यो यात्रा

सापेक्ष सापेक्ष
२०८२ असार ५ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९०६ मा पाब्लो पिकासोले गोसल यात्रा गरे, जसले उनको कला र करियरमा महत्वपूर्ण परिवर्तन ल्यायो।
  • उनीहरूले त्यहाँको कला, मूर्ति र प्रभावहरूबाट प्रेरणा लिएर नयाँ शैली विकास गरे।
  • गोसलको यात्रा पिकासोको लागि शारीरिक र मानसिक रूपान्तरणको अवसर बन्यो।

सन् १९०६ को जुन महिनामा पाब्लो पिकासो स्पेनको क्याटालोनियामा अवस्थित प्राचीन गाउँ गोसल पुगे । एकजना साथीले उनलाई त्यस पहाडबारे बताएका थिए, त्यो ठाउँ कुख्यात तस्करहरूको आश्रयस्थलका रूपमा परिचित थियो ।

सो कुरा पिकासोलाई रोचक लाग्यो । त्यसैले उनले आफ्नी प्रेमिका फर्नान्डे ओलिभरलाई आफूसँगै गोसोलको कठिन यात्रामा जान मनाए ।

त्यसबेला उनीहरू पेरिसबाट रेलमा चढेर बार्सिलोना पुगेका थिए । त्यहाँ केही समय आफ्ना पुराना साथीहरूसँग रमाइलो गरी गोसलतर्फ लागे ।

त्यस गाउँको अन्तिम बाटो निकै खतरनाक थियो । अलि उकालो बाटो भएकाले खच्चड नै चढ्नुपर्थ्यो । उनीहरू पनि त्यसरी गए ।

गाउँ पुगेर उनीहरूले त्यहाँको एकमात्र ‘होस्टाल क्याल ताम्पानादा’ नामक होटलमा बास बसे । त्यहाँ जानुमा उनीहरूको मुख्य योजना गर्मीयाम बिताउने, चित्र कोर्ने र सादा जीवनको स्वाद लिने थियो ।

त्यही गोसल बसाईंलाई कलाविद्हरूले पिकासोको करियरको निर्णायक मोडका रूपमा हेर्छन् । पेरिसभन्दा निकै टाढा हुँदा त्यहाँ कुनै होड थिएन । ईर्श्या, द्वेष थिएन । जसले गर्दा उनले आफ्नो कलामा मौलिक परिवर्तन ल्याउन सके ।

गोसलको उपलब्धि

सन् १९०६ सम्ममा पिकासोले पेरिसमा सफलताको स्वाद चाखिसकेका थिए । त्यस समयमा पेरिस नयाँ तथा प्रयोगात्मक कलाको केन्द्र थियो । सन् १९०१ मा एम्ब्रोइज भोलार्डको ग्यालरीमा भएको उनको पहिलो पेरिस प्रदर्शनीले निकै सकारात्मक समीक्षा पाएको थियो । उनका ‘ब्लू पिरियड’ र ‘रोज पिरियड’ का चित्रहरू त चर्चित नै भइसकेका थिए । यद्यपि तिनमा अझै उन्नाइसौं शताब्दीको ‘सिम्बोलिज्म’को प्रभाव छँदै थियो ।

यसबाहेक उनले अमेरिकी संकलकहरू पनि फेला पारिसकेका थिए । त्यहीबीच गोसल पुग्नेबित्तिकै उनको रचनामा एकाएक अनौठो तर गहिरो मोड आयो । उनका कला सरल, मौलिक र चाख लाग्दा हुन थाल्यो । त्यहाँ करिब १० हप्ता बस्दा पिकासोले ७ वटा ठूला चित्र, दर्जनौं माध्यम आकारका चित्र, थुप्रै स्केच, वाटरकलर र काठका कलाहरू तयार गरेका थिए ।

प्रेम, स्मगलर र म्याडोना

एकाएक देखिएको त्यो कलात्मक परिवर्तनको मुख्य कारण के थियो ? यसका धेरै सम्भावनाहरू छन् । उदाहरणका लागि, पिकासोले गोसोलमा तयार गरेका धेरैजसो कलाकृतिहरूमा उनकी प्रेमिका ओलिभर देखिन्छिन् । सम्भवत: आफ्नी प्रेमीकाप्रतिको बलियो भावनाले त्यसो भएको हुन सक्छ ।

गोसेलमा बसिरहँदा पिकासोले नयाँ साथी पनि बनाए । ती मध्येका एक थिए, उनी बसेका होटलका ९० वर्षीय साहु जोसेप फोन्डेभिला । फोन्डेभिला एक भूतुपूर्व तस्कर थिए । उनको लामा‍ र चम्किला सेतो दाँतको पिकासो प्रशंसक थिए । ती विषय पनि पिकासोको चित्रकलाका लागि प्रेरणाका स्रोत बन्न पुगे ।

तर पिकासोले गोसलमा अर्को एउटा चीज पनि देखे, जसले उनको चित्रकलाको तरिकालाई परिवर्तन गरिदियो । त्यो थियो, चर्चमा रहेको १२औं शताब्दीको बहुरङ्गी काठको म्याडोना (जिससकी आमा) । ७७ सेन्टिमिटर अग्लो त्यस मूर्ति ठूलो सेतो अनुहार र ठूला आँखा भएको थियो ।

यो मूर्ति अहिले बार्सिलोनास्थित क्याटालोनियाको राष्ट्रिय कला संग्रहालय(एमएनएसी) मा रहेको छ । जहाँ करिब ४० वटा पिकासोका कलाकृतिहरू समेत राखिएका छन् । ती हेर्दा पिकासोको कलामा रोमानस्क कलाको प्रभाव देखिन्छ । यो शैली ११औं देखि १३औं शताब्दीको सुरुसम्म मध्यकालीन युरोपमा सुरु भएको थियो ।

रोमानस्क प्रभाव

अधिकांश कलाविद्हरू पिकासोको कलामा अफ्रिकी जनजातीय कला, प्राचीन इबेरियन मूर्तिकला र सेजानको प्रभावको चर्चा गर्छन् । तर रोमानस्क कलाले पारेको प्रभाव भने खासै उठाउँदैनन् ।

कतिपयले भने रोमानस्क कला पनि पिकासोको एक अत्यन्त महत्वपूर्ण स्रोत रहेको बताउँछन् । र यो कुरा धेरै हदसम्म सत्य पनि हो । तर, गोसल जानुअघि नै पिकासोमा रोमानस्कप्रति आकर्षण भएको बताइन्छ । त्यसबेला उनले बार्सिलोनामा भएको रोमानस्क र गोथिक कलाको प्रदर्शनी हेरेका थिए । त्यसबेला नै पिकासोले रोमानस्क संग्रहालय संसारकै अद्वितीय हुने बताएका थिए ।

त्यस्तै पिकासोबाहेक अर्का प्रसिद्ध स्पेनी कलाकार जोआन मिरो पनि रोमानस्क कलाबाट गहिरो रूपमा प्रभावित थिए । बार्सिलोनामा रहेर बाल्यकालदेखि नै यसको अध्ययन गरेका थिए ।

उनीहरू जस्ता जमेका कलाकार यस शैलीप्रति यति धेरै आकर्षित हुनुको कारण रोमानस्क कलाको ‘सरलता’ भएको बताइन्छ । एमएनएसीका अधिकारीहरूका अनुसार रोमानस्क कलामा पर्सपेक्टिभको प्रयोग गरिएको हुँदैन । यसमा अनुहारहरू धेरै सरल तरिकाले बनाइन्छन् । यो कला आँखा, आगो र माछाजस्ता प्रतीकहरूले भरिएको हुन्छ । तिनले फरक विचारको प्रतिनिधित्व गर्छन् ।

रोमानस्क कलामा हिंसा, थिलथिल परेका शरीर, खप्पर, क्रुसिफिक्सन (क्रुसमा चढाउने काम) र मृत्युजस्ता विषयहरू पनि थिए । जुन पिकासोको कामसँग मिल्दोजुल्दो थियो ।
यसरी शैली र विषयवस्तु दुवैमा पिकासोको कुरा मिल्ने भएकाले उनी रोमानस्क कलासँग प्रभावित थिए ।

रोमानस्क र गोसल

गोसल यात्रा पिकासोको जीवनमा निकै फलदायी भयो । मुख्यत: व्यस्त कला संसारबाट टाढा रहेर नयाँ विचार र प्रभावहरूलाई गहिरो रूपमा बुझ्ने अवसर दियो ।

गोसल धेरै पुरानो र अविकसित ठाउँ भएकाले रोमानस्क जस्तो आदिम कलाप्रतिको रुचिलाई अझ बलियो बनायो । त्यसबेला आदिम कलाको पुनर्जागरण गर्नेहरूलाई पश्चिमी कलाभन्दा सो कला बढी वास्तविक र शुद्ध लाग्थ्यो । त्यसैले आदिमवादीहरूले प्राय: परम्परागत वा शैक्षिक कलालाई मन पराउँदैनथे ।

सम्भवत: रोमानस्क कलाले पिकासोलाई पश्चिमी कलाको परम्परालाई भत्काउन एउटा नयाँ मार्ग दियो । त्यसैले गोसलको त्यो यात्रा पिकासोका लागि गर्मी चल्ने एउटा बहाना मात्र भएन, रूपान्तरणको एउटा यात्रा पनि बन्यो ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?