
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्यो।
- अन्सारीले अदालतमा रिट दायर गरेपछि सुनुवाइ सकिएर खारेजी आदेश भयो।
- अन्सारीलाई १० जेठमा तोकिएको सजाय भुक्तान गरेपछि पक्राउ गरिएको थियो।
३ असार, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
आज मंगलबार उच्च अदालतका न्यायाधीशद्धय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले अन्सारीको रिट खारेज गरेको हो ।
यसअघि आइतबार दुर्गाप्रसाद ढुंगेलको इजलासमा अन्सारीको रिटको सुनवाइ गर्दै जवाफसहित उपस्थित हुन र वादी (अन्सारी)लाई पनि उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि आज मंगलबार सीआईबीले अन्सारीलाई समेत अदालतमा उपस्थित गराएको थियो । सुनुवाइ सकिएपछि अन्सारीको रिट खारेजको आदेश भएको हो ।
गत १० जेठमा तोकिएको सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् ।
२०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।
यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।
६ वर्ष कैद भुक्तान गरेर छुटे लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया 4