+
+
Shares

संसद्‌मा उठ्यो मर्यादाको विषय

प्रतिनिधि सभा नियमावली अनुसार सभामुख घिमिरेले ३१ वैशाख २०८० मा संसद बैठकमा सहभागी हुँदा सांसदहरूले लगाउने पोशाक तय गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते २१:५३

३ असार, काठमाडौं । संसद्‌मा मर्यादित पोशाकको विषय उठेको छ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो स्कार्फ (रिबन) लगाएर संसद् छिरेपछि मर्यादित पोशाकको विषयले प्रवेश पाएको हो ।

प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाका सांसदहरूको पोशाकलाई लिएर नियमापत्ति गरे ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० को बैठकमा अभद्र व्यवहार गर्ने आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन्,’ घिमिरेले प्रतिनिधि सभा नियमावली स्मरण गरे ।

सभामुखको चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्तै नियन्त्रण गर्नुपर्नेछ भन्ने व्यवस्थो छ । साथै, बैठककक्षबाट निष्काशन समेत गर्न सकिने व्यवस्था नियमको ३१ मा छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ अनुसार रास्वपा सांसदउपर सभामुखले एक्सन लिनुपर्ने उनको आग्रह थियो ।

रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाउनु अभद्र व्यवहार हो ? यसको ब्याख्या गर्ने क्रममा कांग्रेसका प्रमुख सचेतक घिमिरेले मर्यादित पोशाकको विषय उठाए ।

‘यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो,’ घिमिरेले भने ।

निलो स्कार्फ लगाउनु मर्यादित नरहेको घिमिरेको दाबी छ । ‘यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ प्रमुख सचेतक घिमिरेको प्रश्न छ ।

सभामुखले मर्यादित पोशाकका लागि एक्सन नलिए विकृति आउन सक्ने उनको चेतावनी छ । ‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ प्रमुख सचेतक घिमिरेको प्रश्न छ ।

उनले अमर्यादित पोशाक लगाउने सांसद उपर सभामुखको चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही आवश्यक रहेको माग गरे ।

संसद्मा उठेको मर्यादित पोशाकको विषयबारे सभामुखले दलहरूसँग छलफल समेत गरेका छन् ।

रास्वपाले संसद अवरोधबारे छलफल गर्न सभामुखले नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका थिए ।

जहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना पनि थिए ।

नेकपा एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छलफलमा मर्यादित पोशाकको विषयले प्रवेश पाएको हो ।

सभामुखको सचिवालयका अनुसार विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसदमा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेले यसबारे (मर्यादित पोशाकबारे)मा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताएका छन् । आफू स्वनियमनको पक्षमा रहेको सभामुख घिमिरेको जवाफ छ ।

प्रतिनिधि सभा नियमावलीको नियम २४२ मा सांसद्को पोशाक र प्रतीक चिन्हबारे व्यवस्था छ ।

‘सदस्यको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुनेछ’ नियमावलीको नियम १ मा छ । सभामुखले पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभुषा वा पोशाक समेतमा ध्यान दिनुपर्ने भनिएको छ ।

यसबाहेक सांसदले कस्तो पोशाक लगाउनुपर्ने भनेर नियमावलीमा थप केही भनिएको छैन ।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुख घिमिरेले ३१ वैशाख २०८० मा संसद बैठकमा सहभागी हुँदा सांसदहरूले लगाउने पोशाक तय गरेका थिए ।

त्यसदिन सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरूको पोशाक तोकेका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार सांसदहरू मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको छ ।

नियमावली अनुसार सभामुख घिमिरेले संसदमा मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी पोशाक तोकेका हुन् । जसमासंसद बैठकमा उपस्थित हुँदा लोगो अनिवार्य लगाउनुपर्ने प्रावधान छ ।

त्यसबेला सभामुखको सचिवालयले भनेको थियो, ‘फुल कोर्ट, हाफ कोर्ट लगाउन सकिने भयो, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित पोशाक पनि लगाउन सकिने भयो । तर, टिसर्ट पाइन्ट, जिन्स पाइन्ट लगाउन नपाउने भयो ।’

यसबाहेक सभामुखले पोशाकमा अन्य निर्णय गरेका छैनन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा मर्यादित पोशाकको विषय उठाउने कांग्रेसका प्रमुख सचेतक घिमिरेले नियमाववलीको व्यवस्था भएको नियम २४२ र सभामुखको निर्णय स्मरण गरेनन् । बरु उनले प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ स्मरण गर्दै सभामुखको ध्यानाकर्षण गरे । जहाँ प्रतिनिधि सभा बैठकमा सुव्यवस्था कायम गर्ने विषय छ ।

‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ,’ नियम ३० मा भनिएको छ ।

उपनियम ३१ मा बैठक कक्षबाट निष्कासन हुन सक्ने विषय छ । नियम बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था यसमा छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्ने भनिएको छ ।

सभामुखको आदेश पाएपछि पनि बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्छन् । कांग्रेसका प्रमुख सचेतक घिमिरेले रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर संसद् प्रवेश गर्नु सभामुखले संसद्को सभाकक्षबाट बाहिर निकाल्नुपर्ने हदसम्मको अभद्र व्यवहार हो वा होइन भन्ने व्याख्या गरेनन् ।

तत्कालिन संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुर्दशन कुईंकेलका अनुसार पहिलो संविधानसभामा सांसदहरूको पोशाक तोक्न खोजिएको थियो । तर मशेस केन्द्रित र आदिवासी जनजाति सांसदहरूले दौरा सुरुवाल नै लगाउनुपर्ने वा कोट पाइन्ट नै लगाउनुपर्ने गरी अगाडि बढाउन खोजिएको उक्त प्रस्तावको विरोध गरेका थिए ।

संसदमा आफ्नो धर्म संस्कृतिअनुसारको ड्रेस लगाउन पाउनुपर्ने माग बलियो भएपछि त्यसबेला रोकिएको थियो ।

अहिले पनि सांसदहरू आफ्नो अनुकूल पोशाक लगाएर संसद र संसदीय समितिमा गइरहेका हुन्छन् ।

सांसद वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कस्तो पोशाक लगाउने भन्ने विषय नियममा लेख्ने नभइ स्वयंले बुझ्नुपर्ने विषय भएको संसदीय समितिका पूर्वसचिवसमेत रहेका तत्कालिन संविधानसभा सचिवालयका सह–प्रवक्ता कुईंकेल बताउँछन् ।

उनका अनुसार संसद र संसदीय समितिका बैठकमा जाँदा औपचारिक हुनुपर्छ भनेर सांसदले नै बुझ्ने विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?