+
+
Shares

चितवनमा कालिकाको बेरुजु सबैभन्दा कम, अरुको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १०:५९

४ असार, चितवन । चितवनका ७ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ७ पालिकामा सबैभन्दा कम अद्यावधिक बेरुजु कालिकाको देखिएको हो ।

सो नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ ।

नगरपालिकाको गत आर्थिक वर्ष १ अर्ब ७७ करोड ८६ लाखको लेखापरीक्षण गर्दा ०.८३ प्रतिशत बेरुजु देखिएको हो ।

नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ । अघिल्लो वर्ष सो पालिकाले १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फर्स्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

कालिकाको आर्थिक वर्ष २०७९/८० मा एक करोड ३४ लाख फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७४/०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ रहेको बेरुजुलाई घटाउने काम तीव्र पारिएको नगरप्रमुख विनोद रेग्मीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा कालिकाको बेरुजु १६ करोड १२ लाख ९१ हजार रुपैयाँ थियो । आव २०७८/०७९ मा एकै वर्ष बेरुजु १० करोड ८३ लाख ५८ हजार रुपैयाँ फर्स्यौट गरिएको थियो ।

नगरप्रमुख रेग्मीले नगरपालिकाकाले आगामी दिनमा हरेक आर्थिक वर्षको बेरुजुलाई शून्य बनाउने र बाँकी बेरुजुलाई घटाउँदै लैजाने नीति अनुरुप काम गरिएको बताए ।

नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले बेरुजुलाई घटाउन प्राथमिकताका साथ नीति कानुनहरुको परिपालना गरेर अगाडि बढेको बताए ।

जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरको एक अर्ब ३ करोड ५३ लाख ८ हजार बेरुजु रहेको छ ।

महानगरको अघिल्लो वर्ष ०.०१ प्रतिशत बेरुजु रहेको भए पनि गत आर्थिक वर्षमा भने ०.९ प्रतिशत बेरुजु रहेको देखिएको थियो । आर्थिक वर्ष २०७९/८० मा जम्मा ५ लाख १५ हजार रुपैयाँमात्रै महानगरको बेरुजु थपिएको थियो ।

९३ करोड ५० लाख आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० सम्मको बेरुजु हो । गत आर्थिक वर्ष मात्रै बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ बेरुजु थपिएको छ । महानगरको गत वर्ष २०८०/०८१ मा एक रुपैयाँ पनि बेरुजु फर्स्यौट भएको देखिएको छैन ।

रत्ननगरले घटायो एकै वर्ष ६ करोड ६४ लाख बेरुजु

जिल्लाको रत्ननगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ६४ लाख बेरुजु फर्स्यौट गर्न सफल भएको छ ।

नगरपालिकाको गत आर्थिक वर्ष २ अर्ब ९४ करोडको लेखा परीक्षण गर्दा ०.१७ प्रतिशत अर्थात ४८ लाख ५६ हजार बेरुजु देखिएको थियो । आर्थिक वर्ष २०७९/०८० सम्म १६ करोड १८ लाख बेरुजु रहेको रत्ननगरमा गत बर्ष थपिएकोसहित अब १० करोड २ लाख मात्रै बेरुजु बाँकी छ ।

राप्तीमा थपियो झन्डै दोब्बर बेरुजु

जिल्लाको सबैभन्दा भद्रगोल नगरपालिकाका रुपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिकामा गत वर्ष मात्रै १६ करोड करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु थपिएको छ ।

२०७९/०८० सम्म १९ करोड ९४ लाख बेरुजु रहेको राप्तीमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १६ करोड ७३ लाख ७७ हजार बेरुजु थपिएर ३६ करोड ३ लाख ७१ हजार पुगेको ।

गत वर्ष सो पालिकाले एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गरेको छैन । २ अर्ब ९ करोड ७७ लाख ५६ हजारको लेखा परीक्षण गर्दा ७.९८ प्रतिशत बेरुजु गत वर्ष सो पालिकाको देखिएको थियो ।

खैरहनी, माडी र इच्छाकामना १० करोड माथि बेरुजु

चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ । यो नगरपालिकामा गत वर्षको मात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ बेरुजु थपिएको छ ।

गत आर्थिक वर्षमा १६ लाख ५० हजार मात्रै बेरुजु फर्स्यौट गरेको पालिकामा आ.ब. २०७९/०८० सम्म ११ करोड ९४ लाख ९२ हजार बेरुजु रहेको थियो ।

माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन ।

इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु ११ करोड भन्दा माथि रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म १० करोड ८० लाख ६४ हजार बेरुज रहेको पालिकामा गत आर्थिक वर्ष २०८०/०८१ करोड ३१ लाख १२ हजार रुपैयाँ बेरुजु थपिएको छ । सो पालिकाले अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा बेरुजु फर्स्यौट गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?