
काठमाडौं । इरान र इजरायलबीचको पछिल्लो सैन्य टकरावले सम्पूर्ण पश्चिम एसियालाई तनावग्रस्त बनाएको छ । पछिल्ला केही दिनमा इजरायलले इरानमाथि तीव्र हवाई आक्रमणहरू गरेको छ, जसमा ईरानी सेनाका उच्च अधिकारीदेखि लिएर तेल प्रशोधन केन्द्रहरूसम्म ध्वस्त भएका छन् ।
तर, यी सबै क्षतिहरूका बाबजुद, इरान अझै पनि इजरायलका लागि ठूलो सुरक्षा चुनौतीको रुपमा रहेको इजरायलले बताउँदै आएको छ । समाचार अनुसार इरानसँग अझैपनि परमाणु हतियार बनाउने प्राविधिक क्षमता बाँकी छ ।
इजरायलका प्रधानमन्क्री बेन्जामिन नेतन्याहूले इरानको आणविक कार्यत्रमलाई इजरायलको अस्तित्वमाथिको खतरा बताएका छन् । उनका अनुसार, इरानका भूमिगत आणविक संरचनाहरू नष्ट गर्नु आवश्यक भइसकेको छ । त्यसैले इरानको आणविक कार्यक्रमलाई समाप्त पार्नका लागि ’बंकर बस्टर’ बमहरूको प्रयोग गर्ने योजना बनाएको छ ।
अझै बाँकी छ इरानको आणविक भट्टी
इजरायलको भिषण आक्रमणका बाबजुत इरानको एउटा निकै महत्वपूर्ण परमाणु केन्द्र अझै पनि सुरक्षित छ । त्यो हो फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट ।
यो आणविक केन्द्र इरानको राजधानी तेहरानबाट करीब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा एउटा पहाडभित्र रहेको छ । केन्द्र लगभग ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।

इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रहरुमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति भएको छैन ।
बीबीसीका अनुसार यो फोर्दो निकै सुरक्षित छ । यो पहाडभित्र रहेको छ र अत्याधुनिक वायु प्रतिरक्षा प्रणालीबाट सुरक्षित छ ।
यहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार, इरानले त्यहाँ उच्च संवर्धित युरेनियम उत्पादन गर्दछ, जसले त्यस केन्द्रको रणनीतिक महत्वलाई बढाएको छ ।
किन चर्चामा छ बंकर बस्टर बम ?
बंकर बस्टर बम विशेष रूपमा जमिन मुनि गहिराइमा रहेका शक्तिशाली संरचनाहरूलाई नष्ट गर्नका लागि डिजाइन गरिएको बम हो । यी बमहरू अत्यन्तै बलिया संरचनाहरूमा प्रवेश गर्न सक्षम हुन्छन् । त्यसपछि विस्फोट गरेर ती संरचनाहरूलाई ध्वस्त पार्छन् ।
यो विशेष प्रकारको बमलाई गहिरो बंकर, सुरुङ वा कंक्रिट संरचना जस्ता ठाउँहरुलाई नष्ट गर्नका लागि तयार पारिएको हुन्छ । यो जमिनमा निकै गहिराइसम्म घुसेर विस्फोट हुन्छ, जसले भूमिगत संरचनाहरुलाई पूर्ण रुपमा ध्वस्त पार्दछ ।
यसले कंक्रिटमा ६ मिटर तथा माटोमा ३० मिटरसम्म भेदन गर्न सक्दछ । यसमा दोहोरो आक्रमण प्रणाली हुन्छ । पहिलो हिस्साले सतहलाई तोड्छ भने दोश्रो हिस्सा जमिनको भित्र गएर विस्फोट हुन्छ । यसको वजन २ हजारदेखि ४ हजार पाउण्डसम्म हुन्छ । यो बमको अगाडिको तिखो भागले ड्रिलले जस्तै काम गर्दछ र लक्ष्यको भित्रसम्म छिरेर विध्वंश मच्चाउँछ ।
अमेरिकाको GBU–57A/B Massive Ordnance Penetrator (MOP) एउटा प्रमुख ‘बंकर बस्टर’ बम हो । यसको तौल लगभग १३ हजार ६०० किलोग्राम छ । यो ६० मिटर गहिरासम्म प्रवेश गर्न सक्छ । यसको डिजाइन विशेष रूपमा गहिरा र बलियो संरचनाहरूलाई लक्षित गरेर गरिएको हो ।
इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई केवल यस्तै अमेरिकी बमले मात्रै ध्वस्त पार्न सक्दछ । यस्तोमा प्रश्न उठ्न थालेको छ कि के इजरायलले फोर्दोलाई नष्ट गर्नका लागि बंकर बस्टर बमको प्रयोग गर्ला ? तर महत्वपूर्ण यथार्थ यो छ कि इजरायलसँग यस्तो बम छैन ।
इजरायलको रणनीति र अमेरिकी सहयोगको आवश्यकता
इजरायलको वायुसेनासँग GBU–57A/B बम छैन र यसलाई प्रयोग गर्नका लागि अमेरिकी B-2 Spirit स्टेल्थ बम वर्षकको आवश्यकता पर्छ । यस्तो बम तथा प्रविधि केवल अमेरिकासँग मात्रै भएकाले यसमा इजरायललाई अमेरिकी सहयोग आवश्यक पर्नेछ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा केही बताएका छैनन् र तत्काल इजरायललाई बंकर बस्टर बम दिने/नदिने विषयमा बोल्न चाहेका छैनन् ।
उता इजरायलका अधिकारीहरूले भन् आफ्नो देशसँग इरानको फोर्दो आणविक केन्द्र नष्ट गर्नका लागि वैकल्पिक योजना रहेको र अमेरिकी रक्षा सहयोगको अपेक्षा राखिएको बताएका छन् ।
यसप्रकार इरानको रणनीतिक महत्वको अन्यन्तै शक्तिशाली फोर्दो आणविक केन्द्रलाई नष्ट गर्न इजरायलका लागि बंकर बस्टर बम नै एकमात्र उपाय हो । तर यदि अमेरिकाले इजरायललाई ऊक्त बम दिएर इरानमाथि आत्रमण गर्न लगायो भने त्यसले इरानी अणविक शक्ति ध्वस्त त हुनेछ, त्यसले नयाँ वैश्विक द्वन्द्वको अवस्था निम्त्याउने जोखिम रहनेछ ।
– एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4