+
+
Shares

इजरायल–इरान संघर्ष : को कति शक्तिशाली ?

९० लाख जनसंख्या भएको इजरायल र ८ करोड ८० लाख जनसंख्या भएको पश्चिम एसियाको विशाल देश इरान ६ दिनदेखि भिडिरहेका छन् । युद्ध भूगोलले होइन् सामरिक सैन्य क्षमताले जितिन्छ । र, यसमा इजरायल अघि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ को जुन १३ मा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गर्यो।
  • इजरायलले हालसम्म हवाई दबदबा कायम राख्दै, इरानको हतियार र रक्षा प्रणालीलाई लक्षित गरेको छ।
  • इरानले पनि इजरायलका थुप्रै सहरमा मिसाइल प्रहार गर्दै ठूलो क्षति पुर्याएको छ ।

४ असार, काठमाडौं । सन् २०२५ को जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गर्‍यो । लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । ६ दिनदेखि यो क्रम जारी छ ।

९० लाख जनसंख्या भएको इजरायल ८ करोड ८० लाख जनसंख्या भएको पश्चिम एसियाको विशाल देश इरानसँग भिडिरहेको छ । त्यसैले भूगोलमा पनि सानो इजरायलको लडाइँ इरानसँग असमान देखिन सक्छ ।

तर इजराइलको शक्तिशाली र अत्याधुनिक सेना हाबी हुने गरेको छ । इजराइलसँग अधिकांश हतियार छन् । धेरैजसो अत्याधुनिक हतियार इजरायलले अमेरिकाबाट प्राप्त गरेको छ ।

इजराइलले अहिलेसम्म के हासिल गर्‍यो ?

इजराइलले हमासविरुद्ध गाजा क्षेत्रमा र इरानमा एकसाथ आक्रमण गरिरहेको छ । पछिल्लो अवस्थामा इरानको राजधानी तेहरानको हवाई क्षेत्रमाथि ‘पूरा नियन्त्रण’ प्राप्त गरेको इजरायलले दाबी गरेको छ । बीबीसीले पनि इरानसँगको संघर्षमा हालसम्म इजराइलको हवाई क्षेत्रमा पूरै दबदबा देखिएको जनाएको छ । अमेरिकामा निर्मित इजरायलका युद्धक विमानहरूले टार्गेट गरेकै स्थानमा बम खसालेका छन् ।

इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।

हालसम्मको संघर्षमा इजरायली वायु सेनाले जमिनमा रहेका राडार र प्रक्षेपकहरूलाई निशाना बनाउने कार्य जारी राखेको छ । संघर्ष सुरु हुनुअघि नै इजरायली गुप्तचर एजेन्टहरू इरानभित्र प्रवेश गरी उसको प्रतिउत्तर क्षमतालाई निशाना बनाउने तयारी गरिरहेका थिए ।

इजरायली गुप्तचर संस्था मोसादका एजेन्टहरूले देशमा ड्रोन तस्करी गरेका थिए जसको प्रयोग इरानका बाँकी रहेका हवाई सुरक्षा प्रणालीलाई निशाना बनाउन प्रयोग गरिएको थियो ।

के इरान अझै प्रतिउत्तर गर्न सक्षम छ ?
मंगलबार रातिदेखि इजरायल र इरानबीच लडाइँ झन् चर्किएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीले इजरायलको दयामाया नगरी आक्रमण तेज पार्ने घोषणा गरेका छन् ।

इरानको अर्धसरकारी सञ्चारमाध्यम मेहरका अनुसार इजरायलतर्फ ‘फताह १’ नामक क्षेप्यास्त्र प्रहार भएको छ । सरकारी प्रेस टीभीले पनि इस्लामिक रिभोलुशनरी गाड्र्स कोर (आईआरजीसी)लाई उद्धृत गर्दै फताह क्षेप्यास्त्रले इजरेलको प्रतिरक्षा प्रणाली अन्त्यको सुरुवात गर्ने जनाएको छ ।

सन् २०२३ मा पहिलोपटक प्रदर्शन गरिएको फताह क्षेप्यास्त्रको गति ध्वनिको भन्दा पनि तेज रहेको दाबी इरानले गर्दै आएको छ । फताहको पहिलो प्रदर्शनमा झुण्डाइएको ब्यानरमा हिब्रु भाषामा ‘४०० सेकेन्डमा तेल अविव’ लेखिएको थियो । तेल अविवलाई इजरायलको आर्थिक, प्राविधिक, सांस्कृतिक र व्यापारिक राजधानी मानिन्छ ।

इरानसँग कति छ हतियार ?

अमेरिकी अनुमान अनुसार, इजरायली आक्रमण अघि इरानसँग पश्चिम एसियामा सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल भण्डार थियो, जसको अनुमानित संख्या २,००० देखि ३,००० को बीचमा थियो ।

यद्यपि, इजराइलले तीमध्ये केहीलाई निशाना बनाएर ध्वस्त पारिसकेको छ । इजरायलले सतहबाट सतहमा प्रहार गर्ने इरानी प्रक्षेपकहरूमध्ये एक तिहाइ नष्ट गरिसकेको दाबी गरेको छ । इजरायलले मिसाइल बनाउने इरानका कारखानाहरूमा पनि आक्रमण गरेको छ ।

यद्यपि इरानको मिसाइल केन्द्रहरूमा पूर्ण रूपमा नष्ट भएको छैन । त्यसैले इजराइलका लागि अझै पनि खतरा छ । इरानसँग छोटो दूरीमा प्रहार गर्न सक्ने हवाई सुरक्षा मिसाइलहरू पनि की छन् ।

रूसी थिंक ट्यांक जस्टिन ब्रोंक भन्छन्– इजराइल हालको अवस्थामा तेहरानको हवाइ क्षेत्रमा दबदबा भएको दाबी त गर्न सक्छ, तर उसले पूर्ण रूपमा हवाई नियन्त्रण प्राप्त गरेको छैन र छोटो दूरीका मिसाइलहरूको खतरा अझै कायम छ ।

इरानको परमाणु शक्ति

इरानको परमाणु केन्द्र विश्वका धेरै देशलाई टाउको दुखाइको विषय बनिरहेको छ । गत साता संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था आईएईएले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा इरानले ६० प्रतिशत शुद्धतासम्मको युरेनियम संकलन गरेको उल्लेख छ ।

इरानको फोर्दो युरेनियम प्रशोधन केन्द्र

एजेन्सीका अनुसार, यदि यो स्तर ९० प्रतिशतसम्म पुग्यो भने, प्राविधिक रूपमा त्यसबाट परमाणु बम बनाइने सम्भावना हुन्छ । त्यसैले एजेन्सीले यसलाई गम्भीर चिन्ताको विषय भनेको छ ।

इरानले भने आफ्नो परमाणु कार्यक्रम बम बनाउने उद्देश्यका लागि नभई नागरिकले प्रयोग गर्ने ऊर्जाका लागि भएको बताउँदै आएको छ । तर आईएईएले इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण छ भन्नेमा शंका व्यक्त गर्दछ ।

इरानले आफ्नो परमाणु कार्यक्रमको सुरुवात १९७४ मा गरेको थियो । तत्कालीन शासक शाह रजा पहलवीले देशको ऊर्जा आवश्यकता पूरा गर्न परमाणु ऊर्जा प्रयोग गर्ने योजना ल्याएका थिए । यसैअनुसार इरानको परमाणु ऊर्जा संगठन स्थापना गरिएको थियो ।

योजना अनुसार देशभर २० वर्षभित्र २० भन्दा बढी परमाणु संयन्त्र बनाउने भनिएको थियो, तर कार्यक्रम धेरै ढिलो गतिमा अघि बढ्यो । यद्यपि यसका लागि प्रारम्भिक कदम १९५७ मा उठाइसकेको थियो । त्यतिबेला उसले अमेरिकासँग परमाणु सहकार्यको सम्झौता गरेको थियो ।

अहिले अमेरिकालाई पनि इरानको परमाणु संयन्त्र चिन्ताको विषय बनेको छ । ट्रम्पले बोलाएको बैठकमा इरानको परमाणु केन्द्रमा आक्रमण गर्नेबारे छलफल भएको थियो । इजरायल र इरानबीच लडाइँ चर्किंदै गएपछि जी–सेभेनको बैठक नसकिँदै ह्वाइटहाउस फर्किएका ट्रम्पले वरिष्ठ सैन्य अधिकारीहरूसहित छलफल गरेका थिए । सो बैठकमा इरानका परमाणु केन्द्रहरूमा हमलाका विषयमा केन्द्रित रहेको बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले जनाएको छ ।

इरानको फोर्दोस्थित जमिन मुनि ९० मिटर तल रहेको भूमिगत युरेनियम प्रशोधन केन्द्रलाई निशाना बनाउनेबारे कुराकानी भएको बीबीसीले जनाएको छ । त्यसलाई ध्वस्त पार्ने क्षमता अमेरिकाको बंकर बस्टर बम (जीबीयू–५७ एमओपी बम)सँग मात्र भएको बताइन्छ । त्यसले जमिनभन्दा ६१ मिटर मुनिसम्म प्रहार गर्न सक्छ ।

बंकर बस्टर बम

तर निरन्तर प्रहार गर्दा त्योभन्दा तलसम्म पनि क्षति पुर्‍याउन सकिने बताइन्छ । तर ट्रम्पले बोलाएको बैठकमा के गर्ने भन्ने निर्णय भएको छैन । यसबीचमा अमेरिकाले ३० वटा लडाकू जेट र बम वर्षक विमानहरूलाई आवश्यक इन्धन भर्नका लागि पठाएको समाचारहरू पनि सार्वजनिक भइरहेका छन् ।

ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न र विनासर्त आत्मसमर्पण गर्न पनि भनेका थिए । तर इरानका सर्वोच्च नेता खामेनीले आत्मसमर्पण नगर्ने भन्दै मिसाइल आक्रमण गरेका छन् ।

इरानका सहयोगी को–को छन्, के सहयोग गर्न सक्छन् ?

इरानले धेरै वर्षसम्म गाजा क्षेत्रमा हमास र लेबनानमा हिज्बुल्लाहलाई हतियार र प्रविधि उपलब्ध गराउँदै आएको छ । यद्यपि, पछिल्ला दुई वर्षमा इजरायली कार्यबाहीले यी दुबैको अग्रपंक्तिमा चुनौती दिने क्षमतालाई समाप्त गरिदिएको बताइन्छ ।

गाजामा हमास लगभग समाप्त भइसकेको छ, भने हिज्बुल्लाहको शक्ति यति घटेको छ कि उसले इरानमाथि इजराइलका हमलाको जवाफ दिन सकिरहेको छैन ।

दोस्रो तर्फ, यमनमा रहेका हूथी विद्रोहीहरूसँग इजराइलमाथि मिसाइल प्रहार गर्ने क्षमता छ । उनीहरूले त्यो गरिरहेका पनि छन् । अमेरिकाको बमबारीको बाबजुद, हूथीहरूले जमिनबाट आकाशमा प्रहार गर्न सक्ने मिसाइल प्रयोग गरेर धेरै ड्रोनहरू खसालिसकेका छन् ।

इरानसँग यो क्षेत्रका पश्चिमी सैन्य अड्डाहरूलाई निशाना बनाउने क्षमता छ । इराकमा रहेका इरान समर्थित मिलिसियाहरू यस क्षेत्रका पश्चिमी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेका छन् र अमेरिका तथा बेलायत यस स्थितिका लागि तयारी गरिरहेका छन् ।

इराकको राजधानी बगदादमा पनि १०० जना बेलायती सैनिकहरू रहेका छन् । उनीहरूको सुरक्षाका लागि बेलायती प्रधानमन्त्रीले हालै बेलायती वायुसेनाका लडाकु विमानहरूलाई साइप्रस पठाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?