
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्यो।
- एकीकृत कारोबारपछि खल्ती एपको नाम रहने भएको छ भने प्रयोगकर्ता डेटा र पुरस्कारहरू एकीकृत गरिनेछ।
- सहकार्यले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई बलियो र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थामध्ये नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरिएको छ ।
नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो नै पहिलो पटक हो ।
आईएमई पे र खल्तीको एकीकृत कारोबारपछि आधिकारिक रूपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा रहने छ ।
संयुक्त कारोबारपछि अधिकारिक रूपमा एपको नाम खल्ती रहने छ । ठूलो चुक्ता पूँजी र ५० लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ता भएको खल्ती एप नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटका रूपमा स्थापित छ । साथै, भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तारमा तीव्रता आउने विश्वास कम्पनीले लिएको छ ।
राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने छ । जसका लागि दुवै एप, आईएमई पे र खल्ती यथावत सञ्चालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आईएमई पे दुवैमा भएका प्रयोगकर्ता एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आईएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिने छ ।
नयाँ प्रयोगकर्ताका हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आईएमई पे एपमात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोबारपछि एपको नाम खल्ती भए पनि आईएमई पेमा भएका सबै फिचर त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आईएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन् ।
आईएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मका रूपमा स्थापित हुने विश्वास लिइएको छ ।
संयुक्त कारोबारपछि यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीका रूपमा रहने कम्पनीको विश्वास छ ।
डिजिटल भुक्तानी बिस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आईएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।
खल्ती वालेटले आगामी दिनमा प्रयोगकर्तालाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने छ । एपमार्फत प्रयोगकर्ताले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिसा कार्ड प्राप्त गर्न सक्नेछन् ।
साथै, भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया 4