
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
- मन्त्रालयले नेपालीलाई घर वा बंकरबाट बाहिर निस्किन र नियमित सूचना हेर्न सुझाव दिएको छ।
- संकट परेमा उद्दार र सहायताका लागि अनलाइनमार्फत आफ्ना विवरण दिन आग्रह गरिएको छ।
४ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई तोकिएको समय र स्थानमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।
इजरायल–इरानबीच पछिल्लो पाँच दिनदेखि युद्ध चलिरहेको छ । सो कारण अन्य मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न ‘एडभाइजरी’ जारी गरेका छन् ।
मध्यपूर्वमा देखिएको खतराको स्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तररुपमा लिन र पालना गर्न आग्रह गरेको छ ।
यस्तै नेपाली समुदाय र नेपाली दूतावाससँग नियमित सम्पर्कमा बस्न समेत मन्त्रालयको आग्रह छ । साथै परमन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रा सम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गर्दै मन्त्रालयले संकट आइ परेमा उद्दार तथा सहायताका लागि आफ्नो विवरण अनलाइनमार्फत यथाशीघ्र टिपाउन भनेको छ ।
इजरायलमा रहेका नेपालीले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र तेल अवीवस्थित नेपाली राजदूतावासको वेबसाइटमार्फत आफ्नो विवरण टिपाउन सक्नेछन् ।
नेपालबाट इजरायल, इरान र मध्यपूर्वका मुलुक तत्काल नजान आग्रह
परराष्ट्रले विज्ञप्तिमार्फत इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकमा भ्रमणका लागि जाने योजनामा रहेकाहरुलाई तत्काल यात्रा नगर्न समेत आग्रह गरेको छ ।
साथै इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकमा रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारीमा रहेकाहरुलाई पनि मन्त्रालयले तत्कालका लागि योजना स्थगित गर्न सुझाएको छ ।
मन्त्रालयले इजरायल र इरानबीच विकसित घट्नाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको भन्दै त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको जानकारी दिएको छ ।
‘त्यहाँ रहनुभएका नेपाली नागरिकहरु हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकता अनुसारको उपयुक्त कदम चालिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरुले स्वेच्छाले नेपाल फर्कन चाहेमा सहजीकरण गर्नै जनाएको छ । इजरायल र इरानको हवाइमार्ग बन्द रहेका कारण तेस्रो मुलुक भएर आउनुपर्ने भएकाले ‘ट्रान्जिट भिसा’ लिनुपर्ने पर्ने भन्दै फर्किन चाहनेहरुलाई सहजीकरण गरिने जानकारी दिएको छ ।
प्रतिक्रिया 4