
News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको मृत्यु भएको घटनामा प्रहरी र कारागार प्रशासनको भूमिका प्रश्न उठेको छ।
- मृतकको शरीरमा चोटपटक र निलडाम देखिएपछि आफन्तले योजनाबद्ध हत्या भएको आरोप लगाएका छन्।
- प्रहरी र कारागारले अनुसन्धान गरिरहेको भए पनि सीसीटीभी फुटेज नभएको र सुरक्षा लापरबाहीको आशंका व्यक्त गरिएको छ।
५ असार, धनगढी । बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको कैलाली कारागार चलान भएको भोलिपल्टै मृत्यु भएपछि प्रहरी र जेल प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ ।
बैंकिङ कसुर मुद्दा दिने नेपाल प्रहरीका सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हुनु, घटनास्थलको सीसीटीभी फुटेज नहुनु र मृतकको शरीरभरी कुटपिट गरिएको जस्तो देखिनुले मृतकका परिवारले प्रहरीमाथि नै प्रश्न उठाएका हुन् ।
असार २ गते कारागारभित्रै अचेत अवस्थामा फेला परेका पालीको सोही दिन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारले भने योजनाबद्ध हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।
घटना के थियो ?
जिल्ला अदालत कैलालीले डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीलाई बैंकिङ कसुर मुद्दामा २०८० सालको फागुनमा दोषी ठहर गर्दै १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथले बैंकिङ कसुर मुद्दा दिएका थिए । मुद्दाको फैसला भएदेखि नै फरार रहेका पालीलाई २९ जेठमा डडेल्धुरा प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई कैलाली प्रहरीकै एक टोलीले निजी गाडीमा राखेर कैलाली सदरमुकाम धनगढी ल्याएको थियो । धनगढी ल्याइपुर्याउँदा अदालत बन्द भइसकेकाले त्यस दिन जिल्ला प्रहरी कार्यालयले पालीलाई अदालतमा पेस गर्न पाएन । ३१ गते शनिबारको सार्वजनिक बिदा भएकाले पनि अदालतमा पेस गरिएन । त्यसैले ३० र ३१ गते राति जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षमा राखिएका पालीलाई प्रहरीले १ असारमा अदालत पेश गरेको थियो ।
अदालतले पुरानो फैसलाअनुसार उनलाई असार १ गते नै जिल्ला कारागार चलान गरेको थियो । कैद भुक्तानका लागि अदालत चलान भएको भोलिपल्ट भने उनको मृत्यु भयो ।
कैलाली कारागारका जेलर बसन्त बहादुर खत्रीकाअनुसार राति साढे १० बजेतिर बाथरुम नजिकै अचेत अवस्थामा पाली भेटिएका थिए । उनको स्वास्थ्य परीक्षण गर्दा १०४.९ डिग्री ज्वरो र ६०/४० प्रेसर देखिएपछि तत्कालै जिल्ला प्रहरी कार्यालयको भ्यान मगाएर उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको जेलर खत्रीले बताए । तर राति १२ बजे भने चिकित्सकले पालीको मृत्यु भएको घोषणा गरेका थिए ।
सामान्य अवस्थामा जिम्मा लगाएको थियो डडेलधुरा प्रहरीले
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा २९ जेठमा पक्राउ गरिएका पालीको अन्य स्वास्थ्य अवस्था भने सामान्य थियो । डडेल्धुरा प्रहरीले सामान्य अवस्थामै पालीलाई कैलाली प्रहरीको जिम्मा लगाएको जनाएको छ ।
कैलाली प्रहरीले हिरासतमा राख्नुअघि गरेको स्वास्थ्य परीक्षणमा समेत उनको अवस्था समान्य भएको बताएको छ । तर कारागार चलान भएको भोलिपल्टको राति अचेत अवस्थामा भेटिएका पालीको राति नै मृत्यु भएपछि प्रहरी र कारागार प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ ।
अचेत अवस्थामा भेटिएका पालीको शरीरमा चोटपटक समेत रहेकाले कुटपिट गरेर कारागारभित्रै हत्या गरेको आरोप लगाउँदै आफन्तले शव बुझ्न मानेका छैनन् ।
मृतककी श्रीमती जानकी साउदले श्रीमान विरुद्धको मुद्दामा वादी समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथको योजनामा कारागारभित्रै कुटपिट गरेर हत्या गरिएको दाबी गरेकी छन् ।
‘मेरो श्रीमानको मृत्यु ज्वरोका कारण भएको भए शरीरभरी चोटपटक र निलडाम कसरी भयो ? चोटपटक नभएको कुनै ठाउँ बाँकी देखिएको छैन,’ साउदले भनिन्, ‘त्यही सई हरजीत नाथ भन्नेले कारागाभित्र अरुलाई लगाएर श्रीमानलाई कुटपिट गरेर हत्या गराएको हो । नाथसहित हत्यामा संलग्न सबैलाई कारबाही हुनुपर्छ ।’
घटनामा संलग्नलाई कारवाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने उनको अडान छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेकाले थप कुरा त्यसपछि मात्र थाहा हुने बताएका छन् ।
कारागारभित्र कैदीको सुरक्षामा गम्भीर लापरबाही
कैलाली कारागारले हरिशसिंह पालीलाई बाथरुम नजिकै अचेत अवस्थामा भेटिएपछि प्राथमिक उपचारपछि तत्कालै अस्पताल लगेको दाबी गरेको छ ।
मृतकका आफन्तले कारागारभित्र सीसीटीभी क्यामेरा जडान हुने भएकाले त्यसको फुटेज देखाउन अनुरोध गरेका थिए ।
तर, कारागार कार्यालयले भने सीसीटीभी क्यामेरामा भिडियो नै कैद नभएको जनाएको छ । यो कुराले मृतकका आफन्तले लगाइरहेको योजनाबद्ध हत्याको आरोपलाई बल पुगेको छ भने कारागार जस्तो संवेदनशील ठाउँको सुरक्षामा गम्भीर लापरवाही भएको तथ्य उजागर गरिदिएको छ ।
कारागारका जेलर बसन्त बहादुर खत्रीले सीसीटीभीमा भिडियो कैद नभएको बताउँदै भने, ‘हामीले मृतकका आफन्तहरु यहाँ आएपछि सीसीटीभी फुटेज हेर्न खोजेका थियौं तर वैशाख १ गते पछिका फुटेज फेला पार्न सकेनौं,’ खत्रीले भने, ‘स्क्रीनमा देखाइरहेको भएपनि भिडियो कैद नभएको कुरा बल्ल थाहा पायौं । क्यामेरा बिग्रिएको रहेछ ।’
खत्रीले सीसीटीभी क्यामेरामा समस्या रहेकाले २०८१ को कार्तिकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सहयोगका लागि आग्रह गरिएको बताए । तर सहयोग प्राप्त नहुँदा समस्या समाधान हुन नसकेको उनी बताउँछन् ।
कारागारमा सीसीटीभी क्यामेरामा पाली र अन्य कैदीका गतिविधि कैद नभएका कारण घटनाको अनुसन्धानमा जटिलता थपिएको छ भने कारागार प्रशासन र प्रहरीको भूमिकामाथि शंका सिर्जना भएको छ ।
जेलर र सईसहितका ५ जनाविरुद्ध जाहेरी, दर्ता हुन बाँकी
मृतक परिवारले हरिशसिंह पालीविरुद्धको बैकिङ कसुर मुद्दामा वादी रहेका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
मृतककी श्रीमती जानकी साउदले जिल्ला प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा श्रीमानको योजनाबद्ध रुपमा कुटपिट गरेर हत्या गरिएको भन्दै कारबाहीको माग गरेकी छन् । साउदले कैलाली कारागारका जेलर बसन्त बहादुर खत्री, कारागारको सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक(सई) भरत अधिकारी, घटनाका बेला डिउटीमा खटिएकी प्रहरी ईश्वरी पाण्डेय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत नाम नखुलेका सिंह थरका प्रहरीविरुद्ध किटानी जाहेरी दिएकी छन् ।तर किटानी जाहेरी दर्ता भने भएको छैन । जिल्ला प्रहरी कार्यालयले यो विषयमा औपचारिक जानकारी दिएको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन
घटनाको अनुसन्धानका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले छानबिन समिति गठन गरेका छन् । हमालले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंह, राष्ट्रिय अनुुसन्धान कार्यालयका अधिकृत तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।
उनीहरुलाई घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । प्रमुख जिल्ला अधिकारी हमालले सोही समितिले घटनाबारे विस्तृत अनुसन्धान गरेर प्रतिवेदन बुझाइने बताए । ‘यो घटनाको सबै छानबिनको जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई दिइएको छ,’ प्रजिअ हमालले भने, ‘छानबिन गरेर प्रतिवेदन बुझाएपछि धेरै कुरा थाहा हुन्छ होला । प्रारम्भिक अनुसन्धानमा धेरै कुरा खुलेका छैनन् ।’
प्रतिक्रिया 4