
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ।
- ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले राष्ट्रपति ट्रम्पले निकट भविष्यमा वार्ता वा आक्रमणबारे निर्णय लिने बताइन्।
- इरान र इजरायलबीच पछिल्लो एक हप्तादेखि युद्ध जारी छ।
६ असार, काठमाडौं । अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिता हुने वा नहुनेबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ । बिहिबार राति ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट यस्तो सन्देश दिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिनले भनिन्, ‘ ट्रम्पले आगामी दुई हप्ताभित्र निर्णय लिनेछन् ।’
क्यारोलिनका अनुसार इजरायल–इरान युद्धमा अमेरिका प्रत्यक्ष संलग्न हुने नहुनेबारे ट्रम्पले भनेका छन्, ‘निकट भविष्यमा इरानसँग वार्ता हुने वा नहुने दुवै सम्भावना रहेको आधारमा म आउने दुई हप्ताभित्र निर्णय लिनेछु ।’
इरानसँग संवादको प्रयास जारी रहेको भन्दै प्रवक्ता क्यारोलिनले राष्ट्रपति ट्रम्पले अझै पनि वार्ताको ठूलो सम्भावना रहेको बताएको उल्लेख गरिन् ।
‘इरानमा सत्ता परिवर्तनको प्रयासबारे ट्रम्प प्रशासनको धारणा के हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले राष्ट्रपति ट्रम्पको मुख्य प्राथमिकता इरानको आणविक हतियार निर्माण कार्यक्रम रोक्नु भएको बताइन् ।
वासिंटन डीसीस्थित बीबीसी संवाददाता ग्यारी ओडोह्युका अनुसार ह्याइट हाउसको पछिल्लो बयानले इरानमाथि अमेरिकी आक्रमकता केही सुस्ताएको देखिन्छ ।
राष्ट्रपति ट्रम्पले आजै वा भोलिमा इरानमाथि आक्रमण गर्नेबारे निर्णय गर्न सक्ने अड्कल भइरहेका बेला ह्वाइट हाउसको पछिल्लो प्रतिक्रियालाई इरानसँग ‘कूटनीतिक संवादको बाटो कायम राखिएको’ रुपमा हेरिएको छ ।
शुक्रबार युरोपेली विदेशमन्त्रीहरुले स्वीट्जरल्यान्डमा इरानी समकक्षीसँग भेट्ने कार्यक्रम छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिनका अनुसार अमेरिकी वार्ता टोलीले पनि इरानका प्रतिनिधिहरुसँग निरन्तर सम्पर्क गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालका पोस्टलाई विश्लेषण गर्दा उनी आफ्नै भनाइमा नटिक्ने र बोलेका कुरा पनि उल्ट्याउन सक्ने देखिएको छ ।
अमेरिकाले इरानमाथि आणविक कार्यक्रम रोक्न दबाब दिँदै आएको छ । इरानले परमाणु हतियार निर्माणमा सफलता हाँसिल गरेमा मध्यपूर्वमा अशान्ति हुने अमेरिकी दाबी छ ।
अमेरिकाले इजरायललाई अघि सारेर इरानमाथि ‘फायर खोलेको’ समेत आरोप लाग्दै आएको छ । अप्रत्यक्षरुपमा इजरायललाई सघाएपछि हालसम्म अमेरिका यी दुई देशबीचको युद्धमा संलग्न छैन । इरानले यसअघि नै इजरायललाई सहयोग नगर्न अमेरिका, यूके र फ्रान्सलाई चेतावनी दिँदै आएको छ ।
इजरायललाई सघाएमा इराक लगायतका मध्यपूर्वी मुलुकमा भएका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने इरानले चेतावनी दिएको छ । इरान र इजरायलबीच पछिल्लो एक सातादेखि युद्ध जारी छ ।
बिहिबार इरानले इजरायलको एक अस्पतालमा मिसाइल आक्रमण गरेपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई जिवितै छाड्न नहुने बताएका छन् ।
उनले ‘खामेनीलाई समाप्त पार्नु नै इजरायलको युद्ध उद्देश्य’ भएको आक्रामक बयान दिएका छन् । हालसम्म इजरायली आक्रमणबाट इरानमा २ सय ४० जना भन्दा बढीको मृत्यु भएको छ भने इजरायलतर्फ इरानको आक्रमणमा परी कम्तिमा २४ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
प्रतिक्रिया 4