
६ असार, काठमाडौं । नेपाली कांग्रेसले होहल्लाका बीच प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउन नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि रास्वपाले अवरोध जारी राख्ने बताएपछि कांग्रेसको यो धारणा सार्वजनिक भएको हो ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले अनलाइनखबरसँग कुरा गर्दै होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्न नहुने बताए । ‘होहल्लाका बीचमा प्रधानमन्त्रीलाई उभ्याउनु राम्रो होइन । शान्त वातावरण बन्छ भने गरौं, नभए नगरौं भन्ने मेरो सुझाव छ’ घिमिरेले अनलाइनखबरसँग भने ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची छ । यो कार्यक्रम सञ्चालन गर्दा शान्त वातावरण हुनुपर्छ भनेर सभामुख देवराज घिमिरेले रास्वपालाई आग्रह समेत गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर रास्वपाले वेल घेराउ गर्दै आएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने पहिलो नम्बरमा राखिएको छ ।
प्रतिक्रिया 4