+
+
Shares

कांग्रेस छाडेपछि देउवासँग स्वर्णिमको पहिलो भेट

मैले त गिरिजाबाबुविरुद्ध १४ वर्ष लडेँ, तपाईंले छाड्न हुँदैन थियो-देउवा

देउवासँग राखेको आफ्नो बोलीबारे वाग्ले भन्छन्, ‘अब ५–१० वर्ष हो मेरो राजनीतिमा सक्रिय हुने भनेँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते २०:००

६ असार, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । कांग्रेस परित्यागपछि पहिलोपटक देउवालाई भेट्न वाग्ले पुगेका हुन् ।

कांग्रेस स्रोतका अनुसार पूर्वमन्त्री डा. नारायण खड्काले देउवा–वाग्ले भेटमा समन्वय गरेका थिए । कांग्रेस नेताका अनुसार, गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण अघि नै देउवा– वाग्ले संवाद भएको हो । दुई नेताबीचमा करिब ४५ मिनेट संवाद भएको थियो ।

‘सभापतिज्यूसँग भेट्न उहाँले नारायण खड्का दाइसँग समन्वय गरिदिन आग्रह गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘स्वर्णिमजीको आग्रह अनुसार, नारायण दाइले सभापतिसँग कुरा गरेर भेटको तारतम्य मिलाउनुभएको हो ।’

रास्वपा उपसभापति वाग्लेले कांग्रेस सभापति देउवालाई भेटेको र सौहार्दपूर्ण रुपमा कुराकानी भएको अनलाइनखबरसँग बताए । अन्य दलका शीर्ष तहका नेताहरूसँग संवाद गर्ने क्रमको निरन्तरतामा देउवासँग भेट भएको जानकारी गराए ।

पार्टी उपसभापतिको हैसियतले देउवासँग संवाद गरेको उनले बताए । ‘कांग्रेसमा पनि विविध मान्छे, समूहहरू सँग केही अंशमा हाम्रो रचनात्मक, सिर्जनात्मक संवाद चलेको छ । सौहार्दपूर्ण ढंगले चलेको छ,’ वाग्लेले भने ।

देउवाले कांग्रेस नछोड्ेको भए हुने थियो भन्ने आफूसँग बताएको वाग्लेले बताए ।

‘गिरिजाबाबुविरुद्ध मैले पनि त १४ वर्ष संघर्ष गरेकै हुँ भन्नुभयो । तमाम असन्तुष्टिका बाबजुद पार्टीमै रहेको भए हुन्थ्यो, तपाईं जस्तो मान्छे चाहिं कांग्रेस छोड्न हुँदैनथ्यो भनेर भन्नुभयो,’ देउवाको बोली उद्धृत वाग्लेले भने ।

देउवाको बोलीमा जवाफ फर्काउँदै वाग्लेले जीवनभर राजनीतिकर्मी हुने आफ्नो अभिलाषा नरहेको बताएका थिए । देउवासँग राखेको आफ्नो बोलीबारे वाग्ले भन्छन्, ‘अब ५–१० वर्ष हो मेरो राजनीतिमा सक्रिय हुने भनेँ । मेरो ऊर्जा, क्षमताले दिन सक्ने यही हो । ५० देखि ६० को यो दशकलाई मैले एकदम महत्त्वपूर्ण मानेको छु । यसलाई मैले सदुपयोग गर्ने निर्णय गरेको उहाँलाई सुनाए ।’

देउवाको नेतृत्वमा रहेको कांग्रेसले अवसर पटक–पटक नदिएको, पछिल्लो पटक चुनावी राजनीतिमै होमिने खोज्दा नदिएपछि तथ्यहरू राखेको वाग्लेले सुनाए ।

‘यहाँ ढोकेर, कुरेर समय बर्बाद गर्न मैले उपयुक्त ठानिनँ भनेर मैले उहाँलाई स्पष्ट भनेँ,’ उनले भने ।

आगामी दिनमा देश, लोकतन्त्रको समृद्धिको खातिर, सहकार्य हुनसक्ने वाग्लेले देउवालाई बताएका थिए । त्यसबेला राखेको धारणाबारे वाग्ले भन्छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकदमै उन्नत लोकतान्त्रिक दलकै रुपमा अगाडि बढाउने भावबाट हामी धेरै टाढा रहनुहुन्न भन्ने सन्देश पनि मैले दिएको छु, त्यो कुरालाई उहाँले असाध्यै सकारात्मक रुपमा ग्रहण गर्नुभयो ।’

लोकतान्त्रिक शक्तिहरू अझै बढी दायित्व हुने र सहकार्य गर्ने स्पिरिटले संवाद भइरहेको वाग्लेले बताए । संवादहीनताको तोडिएकै उपजका रुपमा वाग्लेले संसदमा गतिरोधमा भएको संवाद पनि सुनाए ।

उनी भन्छन्, ‘पछिल्लोपटक संसदकै गतिरोध फुकाउनको लागि जसरी सबभन्दा ठूलो दल लगभग रास्वपालाई खोज्दै नि आयो । त्यसैको एउटा उपजको रुपमा लिन सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?