+
+
Shares

१०० वर्ष पार भए कर्णेल जेपी क्रस

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेपी क्रसले दोस्रो विश्वयुद्धमा लडेर १०१ वर्षको उमेर पार गरे र नेपाली नागरिकता प्राप्त गरे।
  • उनी बेलायती सेनामा ४० वर्षभन्दा बढी सेवा गरे र नेपाली समाज र इतिहासका बारेमा विशिष्ट ज्ञान राख्छन्।
  • पोखरामा जन्मेका जेपीले नेपाली युवालाई बेलायती सेनामा भर्ती गर्न नेतृत्व गरे र १९ वटा किताब लेखेका छन्।

८ असार, पोखरा । ‘के छ सञ्चै हुनुहुन्छ ?’ गोरो छाला भएका हँसिला जेपी क्रस अहिले पनि पोखरा रामबजार, नयाँ गाउँतिर भेटिन्छन् । बिहान लठ्ठी टेक्दै मर्निङ वाकमा निस्किंदा हात उठाउँदै हालखबर सोध्दै, जिस्किँदै हिँड्ने जेपी क्रसलाई नचिन्ने सायदै होलान् ।

ढाकाटोपी, बाक्लो पावरवाला चस्मा, टाइसुटमा औपचारिक कार्यक्रमहरुमा देखा पर्ने जेपी धेरैको आकर्षणको केन्द्र बन्छन्, व्यक्तित्व र ठट्यौलीका कारण पनि । मन परेको कुरामा उनी अठ्ठाहास हाँसिदिन्छन्, उनलाई हेरेर अरु पनि नहाँसी बस्न कहाँ सक्नु ?

अहिले बुढ्यौलीले च्यापे पनि बोली र व्यवहार उस्तै रसिलो र ठट्यौली छ । अहिले टाढा हिँडडुल गर्न सहारा चाहिन सक्छ । तर, एउटा दुर्लभ इतिहास बोकेर सय वर्ष पार गरे, यिनै जेपीले ।

दोस्रो विश्वयुद्धको लडाइँ लड्दै ४० भन्दा बढी पुगेर नेपालमा आएपछि यतै बसेर यहीँको नागरिकता लिएका लेफ्टनेन्ट कर्णेल जेपी क्रसले सय वर्ष (सताब्दी) उमेर पार गरेका छन् । विसं १९८२ असार ८ गते बेलायतमा जन्मिएका जेपी दोस्रो विश्वयुद्ध उत्कर्षमा रहेका बेला सैनिक सेवामा प्रवेश गरेका थिए ।

अविवाहित तर पोखरामा धर्मछोराकै परिवारलाई आफ्नो बनाएर बसेका जेपी क्रसले करिब ४२ वर्ष अगाडि नयाँ गाउँमा घर बनाएर बस्न थालेका हुन् । बेलायती सेनाको सुरुआतदेखि नै गोर्खा सैनिकसँग नजिक हुन पुगेका जेपीले नेपाल आएपछि यतै बस्ने निधो गरेका थिए ।

नेपाल बस्न थालेको साढे ३२ वर्षपछि उनले नेपाली नागरिक प्राप्त गरेका थिए । लडाइँ र बेलायती सेनाको जागिरकै क्रममा ४० भन्दा धेरै देश चाहरेका जेपीले अहिले खरर नेपाली बोल्छन् । अहिले पनि फुर्तिलो र रवाफिलो शैलीमा हिँड्छन्, बोल्छन् ।

दोस्रो विश्वयुद्ध, नेपाली समाज र गोर्खा सैनिक अनुभव, इतिहासका बारे कुरा गर्ने उनी दुर्लव पात्र हुन् । सन् १९४३ अप्रिलमा भर्ती भएका जेपी तालिम सकेलगत्तै पानीजहाज चढेर भारतको देहरादून आइपुगेका थिए । विश्वमै शक्ति बिस्तार गर्दै लगेको इष्ट इन्डिया कम्पनीले भारतमा सरकार चलाइरहेको थियो ।

भारत आएदेखि नै नेपाली गोर्खा सैनिकसँग नजिकको सम्बन्ध बनाएका जेपीले बर्मामा चलेको जापानीज र बेलायती सेनाको युद्धमा गएका थिए । जेपीका अनुसार उनीहरु पुगेलगत्तै युद्ध सकियो तर उनको जागिरे जीवनमा भने गोर्खा सैनिकसँगको सम्बन्ध झनै प्रगाड हुँदै गयो ।

भारतका विभिन्न क्षेत्र, चीन, मलाया–ब्रोनियो क्षेत्र, इन्डोनेसियाजस्ता ४० भन्दा बढी देशमा जागिरे जीवनमै पुगेका जेपी २०३३ सालमा पहिलो पटक नेपाल आएका हुन् । नेपाली युवालाई बेलायती सेनामा भर्ती लिन पहिलोपटक नेतृत्व गरेर आएका जेपी त्यही बेलादेखि नेपालप्रति मोहित भएको बताउँछन् ।

लमजुङका बुद्धिमान दूरा तमु ‘धम्पु’लाई धर्म छोरा बनाएपछि जेपी नेपालमै बस्ने मानसिकतामा पुगेका थिए । अहिले धम्पुसँगै रामबजारदेखि दक्षिण नयाँ गाउँमा बस्दै आएका जेपीसँग युद्ध र विश्वयात्राका रोमाञ्चक कथाहरु छन् ।

युद्धका कथा र किस्साहरु तिथिमितिसहित रोचक ढंगले भन्ने सक्ने जेपीले यस्तै कथाहरु बुनेर १९ वटा किताब लेखिसकेका छन् । बेलायती सेना र विश्वयुद्ध सम्बन्धीका कार्यक्रममा प्राय उनी छुट्दैनन् ।

४ दशकभन्दा लामो समयदेखि लाहुरेहरुको सहर पोखरा बसेका जेपीसँग पोखराकै बस्ती विकास, यहाँका रहनसहनबारे पनि ज्ञान छ । त्यतिबेला रामबजार, नयाँ गाउँतिर बस्ती विकास नै भएको थिएन, जतिबेला उनी त्यो क्षेत्रमा बस्न थालेका थिए ।

१०१ वर्षमा प्रवेश गरेका जेपीको पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा जन्मोत्सव मनाइएको छ । बेलायती राजदूत रब फेन, भूतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरूका बीच जेपीले केक काटे र सताब्दी उमेर पार गरेकोमा ‘सेलिब्रेसन’ गरे ।

ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराए । ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ उनले भने ।

जेपीको वास्तविक नाम जन फिलिप क्रस ओ बी इ हो । अहिले आफूलाई बेलायतमा जन्मेको नेपाली भनेर चिनाउने गरेका छन् ।

गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धिबाहेक उनी जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् । जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त गरेका छन् । उनी एक उच्च दक्ष भाषाविद् पनि हुन्, जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह छन् । उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?