
News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय संगीत दिवसमा नेपालसहित विश्वभर कार्यक्रम आयोजना भए।
- नेपाली रकगायिका अभया सुब्बाले सामाजिक संजालमा एआई सम्बन्धी पोस्ट गरे।
- उनले एआईको प्रयोगले संगीत सिर्जना र मस्तिष्कमा प्रभाव पर्ने चिन्ता व्यक्त गरे।
काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय संगीत दिवस ! यस दिनमा नेपाल सहित विश्वभर संगीत सम्बन्धी धेरै कार्यक्रम आयोजना भए ।
नेपालदेखि विश्वभर आयोजित कार्यक्रममा संगीतप्रेमीको मुख्य चिन्ता थियो- एआई । कृत्रिम बौद्धिकताले संगीत सिर्जनामा पारेको असर र प्रभावबारे धेरै संगीतकर्मीले चिन्तन गरे ।
यस अवसरमा नेपाली रकगायिका अभया सुब्बाले सामाजिक संजालमा पोस्ट गरेको एआई सम्बन्धी एक पोस्टले तरंग ल्याएको छ । उनको उक्त पोस्टले संगीतकर्मीलाई संगीत सिर्जना गर्न र विचार राख्न कत्तिको चुनौति दिइरहेको छ भन्ने पुष्टि गर्छ ।
पछिल्लो समय एआईको प्रयोगको कारण आफूले दोषी महसुस गरिरहेको अभयाले बताएकी छन् । ‘हरेक दिन पोस्ट गर्दा जब मैले च्याटजिपिटीको प्रयोग गर्छु, मैले आफूलाई दोषी महसुस गर्छु । यो कुरा स्वीकार्न म तयार छु’ उनले लेखेकी छन् ।
अत्याधिक प्रविधिको प्रयोगले संगीत सिर्जना मात्र होइन लेखनमा पनि मस्तिष्कलाई सुस्त बनाएको अभयाले लेखेकी छन् । उनले सहकर्मी साथीभाइलाई पनि एआईको चुनौतिले सिर्जना गर्न सक्ने अवगतबारे जानकारी गराएकी छन् ।
‘अभया एन्ड स्टिम्स इन्जिन्स’की प्रमुख गायिका रहेकी सुब्बा हामी सबै नेपाली, हावा हुरी, लैजाऊ मलाई, आज किन जस्ता गीतका लागि परिचित छिन् । उनले एआईबारे सामाजिक संजालमा लेखेको पोस्ट यस्तो छ :
‘हरेक दिन पोस्ट गर्दा जब मैले च्याटजिपिटीको प्रयोग गर्छु, मैले आफूलाई दोषी महसुस गर्छु । यो कुरा स्वीकार्न म तयार छु । सायद यो एकदमै नराम्रो निर्णय हो किनकी हाम्रा आमाबाबुले कडा परिश्रम गरेर दिएको शिक्षालाई केवल एआईको प्रम्पटको लागि प्रयोग गर्न दिन सकिँदैन । वातावरणको लागि एआई कति खर्चिलो छ भन्ने कुरा यहाँ उल्लेख गर्न जरुरी छैन (प्रविधिका मेसिनलाई चिस्याउन मानिसले टनको टन पानी प्रयोग गरिरहेका छन् । म मजाक गरिरहेको छैन । गुगलमा हेर्नुहोस्) ।
हामीले हाम्रो मस्तिष्कलाई कमभन्दा कम आँकिरहेका छौं । यदि कसैले लेख्ने काम बन्द गर्यो भने तपाईंको दिमाग अझै सुस्त हुनेछ । यो वैज्ञानिक निष्कर्ष हो साथीहरू ।
कसैले एआई प्रयोग गरिरहेको छ भनेर प्रत्ता लगाउने धेरै तरिका छन् । त्यो भनेको लामो ड्यासहरू हुन् । यो कुरा ध्यान दिन जरुरी छ कि यसले स्क्रिप्ट पनि दिन्छ । जससम्म आक्रामक वा विचारशिल हुन प्रेरित गरिँदैन, तबसम्म यसले कूटनीतिक भाषा पनि प्रयोग गर्छ । मैले यो पनि याद गरेको छु कि एआईले ‘यो मात्र होइन तर त्यो पनि हो’, ‘चाहे यो होस् वा त्यो, ‘यसबाट त्यो’ जस्ता वाक्यांश प्रयोग गर्दछ ।
ध्यान दिनुहोस् कि म सानो ड्यास प्रयोग गरिरहेको छु, जुन मैले सधैं प्रयोग गर्थें– लामो होइन । हाहा ! केवल ठूलो स्वरमा सोच्दै, लगभग १२ वर्ष पहिलेको त्यो अभया जसले सधैं फेसबुकमा आफूले सोचेको कुरा लेख्थी । सन् २०१४ मा सामाजिक सञ्जाल आजको जस्तो विषाक्त वा सतही थिएन। । ओह र यो पोस्टबाट बाहिर निस्कँदैछु । अन्तर्राष्ट्रिय संगीत दिवसको शुभकामना । संगीतको लागि धन्यवाद ।’
प्रतिक्रिया 4