
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद असिम शाहले नेपाल भ्रष्टाचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरे।
- उनीहरूले भिजिट भिसा प्रकरण र भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिनको माग गरे।
- शाहले सरकार र गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार र नैतिकता सम्बन्धी आरोप लगाए।
८ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाल भ्रष्टचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर संसद विरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले रास्वपा सांसद शाहलाई बोल्न समय दिएका थिए ।
‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’
‘बेस्ट–सेलर’ सूचीमा नयाँ अध्यायको रुपमा ‘भिजिट भिसा काण्ड’ आएको उनले बताए । एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको शाहले बताए ।
‘सिन्डिकेटको ‘प्रोडक्ट क्याटलग’ पनि गजबकै छ । यो सामान्य ठगी होइन । यो हजारौं नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिंगो भविष्यमाथिको सुनियोजित डकैती हो,’ शाहले भने,‘यस्तो मुद्दामा तत्काल निष्पक्ष छानबिन नगरेर सरकार मुकदर्शक बन्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’
हालका गृहमन्त्री रमेश लेखकले मन्त्रीमाथि प्रश्न उठे, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने संसदमा बताएको स्मरण गराउँदै शाहले उनीमाथि त्यही प्रश्न उठेको बताए । गृहमन्त्रीप्रति संकेत गर्दै भने, ‘अब उपदेश होइन, आचरण देखाउने समय हो। नत्र इतिहासले तपाईंलाई ‘काफिला लुटिँदा मौन बस्ने कायर रहबर’ का रूपमा सम्झिनेछ ।’
प्रतिक्रिया 4