+
+
Shares

बंगलादेशी पर्यटकलाई आह्वान : नेपाल घुमेर जीवनभरिको सम्झना सहित फर्किनुस्

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशी पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमण गरी जीवनभरिको सम्झना सहित फर्किन आग्रह गरेको छ।
  • कार्यक्रममा नेपालका विविध पर्यटकीय गतिविधि र नयाँ सम्भावनाबारे जानकारी दिइएको थियो।
  • बंगलादेश र नेपालबीच पर्यटन सहकार्यलाई थप बलियो बनाउन संयुक्त योजना र सम्बन्ध प्रगाढ बनाउने चर्चा भयो।

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरिको सम्झना सहित फर्किन आग्रह गरेको छ ।

पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली दूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल–बंगलादेश पर्यटन भेटघाट कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले बंगलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन र जीवनभरिको सम्झना सहित फर्किन आग्रह गरे ।

निमित्त निर्देशक खनालले नेपालका विविध पर्यटकीय उत्पादन र गतिविधिको समग्र प्रस्तुतीकरण गरेका थिए । उनले ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जी जम्पजस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, वेलनेस टुरिज्म तथा मेडिकल टुरिज्मजस्ता नयाँ सम्भावनाबारे विस्तृत जानकारी गराएका हुन् ।

‘छिमेकी नेपाल : जीवनभरिका अनुभवहरूको भूमि’ भन्ने मूल नारासाथ आयोजना गरिएको कार्यक्रम सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशी पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे ।

नेपालले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन अवसर र आतिथ्य संस्कृतिको अद्भुत संयोजन प्रदान गर्ने बताउँदै राजदूत भण्डारीले पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीचको मित्रताको उत्कृष्ट प्रतिविम्बका रूपमा उल्लेख गरे ।

उनले दुई देशका पर्यटन व्यवसायीबीच बीटुबी सम्बन्ध अझ प्रगाढ बनाउन आह्वान गरे । बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्‍त सचिव एकेएम मोनिरुज्जामानले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त पर्यटन प्याकेज विकासको आवश्यकता औंल्याए । नेपाल र बंगलादेशलाई परस्पर परिपूरक गन्तव्यका रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाबारे समेत उनले जोड दिए ।

कार्यक्रममा दूतावासकी उपप्रमुख ललिता सिलवालले नेपाल र बंगलादेशबीचको पर्यटन सहकार्य थप बलियो बनाउने नेपालको प्रतिबद्धता यस्ता कार्यक्रमले पूरा गर्ने विश्‍वास व्यक्त गरिन् ।

कार्यक्रममा बंगलादेशी आरोही इक्मारुल हसन शाकिलले हालै १ हजार ३ सय ७२ किलोमिटरको ‘सी टु समिट’ यात्रा सम्पन्न गरी २०२५ मे १९ मा सगरमाथा आरोहण गरेको प्रेरणादायी अनुभव सुनाइन् ।

बंगलादेश ट्राभल एजेन्ट संघ अध्यक्ष अब्दुस सलाम अरेफ तथा एसियन टुरिज्म फेयर अध्यक्ष मोहिउद्दिन हेलालले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली लोकसांस्कृतिक प्रस्तुति गरिएको थियो ।

साथै, सहभागी पर्यटन व्यवसायीको सहयोगमा राफल ड्र पनि गरिएको थियो, जस अन्तर्गत हिमालय एयरलाइन्स र विमान बंगलादेश एयरलाइन्सको प्रायोजनमा ढाका–काठमाडौं राउन्ड ट्रिप टिकट र नेपाली ट्राभल एजेन्सीहरूद्वारा प्रायोजित विशेष छुट प्याकेज प्रदान गरिएको छ ।

कार्यक्रमपूर्व दुई देशका ट्राभल तथा टुर कम्पनीबीच बीटुबी सत्र र नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो । नेपालबाट गएको प्रतिनिधिमण्डलमा पर्यटन बोर्डका अधिकारी सहित १३ वटा पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधि सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?