
News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी श्रेष्ठ थलि स्तन क्यान्सरबाट पीडित भएकी छन् र अहिले घरमै उपचार गराइरहेकी छन्।
- उनी ‘मेरी बास्सै’ श्रृंखलामा अप्सरा आमाको भूमिका निर्वाह गरेकी थिइन् र धेरै कलाकारले भेट्न पुगेका छन्।
- उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले परिवारले अस्पतालबाट घर पठाएको र छोरीले स्याहार गरिरहेकी छन्।
काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमा पात्रबाट चर्चित कलाकार लक्ष्मी श्रेष्ठ थलिएकी छन् । स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी बिरामी भएकी हुन् ।
दशैंदेखि बिरामी भएकी उनलाई ४ महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर र अस्पताल आउने जाने गरेपनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ ।
उनी अहिले कपन बालुवाखानीस्थित घरको ओछ्यानमा थलिएकी छन् । छोरीले स्याहारसुसार गरिरहेकी छन् । दुई सातादेखि कठिन भएको र औषधि छुटाइसकेको बताइएको छ ।
झोल खानेकुराबाहेक खाना खान पनि छाडेकी छन् । उनकै इच्छाअनुसार अहिले कलाकार धमाधम उनको घरमा पुगेर भेटिरहेका छन् ।
लक्ष्मीले ‘मेरी बास्सै’ श्रृंखलामा अप्सरा आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनले सीतराम कट्टेल धुर्मुसले निर्वाह गरेको खड्काजीको श्रीमती अप्सरा आमाको रोल निर्वाह गरेकी थिइन् ।
खड्काजी र अप्सरा आमाको रोल सिरियलका दर्शकमाझ चर्चित बनेको थियो । लामो समयदेखि कलाकारितामा सक्रिय लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहितका टिभी तथा वेब सिरिज, म्युजिक भिडियो र फिल्ममा अभिनय गरेकी छन् ।
केही दिनअघि कलाकार कट्टेल र उनकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे लक्ष्मीलाई भेट्न घरमा पुगेका थिए । कलाकार सुशिला निरौला विमलीले पनि भेटेकी थिइन् ।
आफूले काम गरेका कलाकारलाई भेट्ने इच्छा गरेपछि लक्ष्मीकी छोरीले सबैलाई आमाको फोटो पठाएकी थिइन् । त्यसपछि कलाकार उनीसँग भेट्न घरमा पुगेका हुन् ।
राजाराम पौडेल, सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारले पनि भेटिसकेका छन् ।
प्रतिक्रिया 4