+
+
Shares
फोटोकथा :

आखिर के छ माइपोखरीमा ?

मिलन मुखिया मिलन मुखिया
२०८२ असार ९ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइपोखरी इलाम बजारबाट उत्तरतिर उक्लिएपछि पुग्ने मनोहर जलाशय हो ।
  • यसको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जैविक विविधता आकर्षक छन् ।

माइपोखरी अब नौलो गन्तव्य रहेन । सामाजिक सञ्जालमै सही, माइपोखरीबारे चर्चा–परिचर्चा भइरहेको छ ।

यो मनोहर जलाशय कहाँ पर्छ ? कस्तो छ ? भनी धेरै बेलिबिस्तार लगाइरहनु पर्दैन । धेरैलाई थाहा छ, इलाम बजारबाट उत्तरतिर उक्लिएपछि माइपोखरी पुगिन्छ । माइपोखरी पुग्नका लागि बाटोको सुविधा छ । त्यसैले गाडीमा चढेर त्यहाँसम्म सजिलै यात्रा गर्न सकिन्छ । यद्यपि इलाम बजारलाई प्रस्थानबिन्दु बनाएर हिँड्ने हो भने, पैदल यात्रा अरु रोमाञ्चक हुनेछ । किनभने पहाडको गोरेटो र बस्तीहरू, चिया बगान र कारखानाहरू अनि ऐंसेलु र चुथ्रोहरूले ठाउँ-ठाउँमा स्वागत गर्नेछन् ।

माइपोखरी आफैँमा जादुयी जलाशय हो, जसलाई हेरेर हाम्रा आँखाहरू थाक्दैनन् । अनन्तसम्म देखिने हरियो–गहिरो जलाशय, पानीको सतहमा तैरिरहेका कमलका फूलहरू, हावाको लहरसँगै उठ्ने स-सना छालहरू । पोखरी किनारलाई एकसरो धर्को बनाएर जलाशयमा पर्ने जंगल र आकाशको प्रतिछायाँ कम्ता मोहक लाग्दैन ।

माइपोखरीलाई एक छेउबाट हेरेर पुग्दैन । यसका लागि पोखरीमाथि बनेको सानो गोरेटोबाट एक फन्को लगाउनुपर्छ । किनभने एकै ठाउँबाट, एउटै फ्रेमभित्र माइपोखरी देख्न सम्धव छैन । यसको 9 वटा कुना छ र यसको फैलावट पनि सोही अनुरुपको छ ।

प्राकृतिक सौन्दर्यमा रमाउनेहरूका लागि त माइपोखरी गज्जब गन्तव्य नै भयो । पहाडी भूगोलमा भेटिने यति हराभरा जलाशयले हठात् मनलाई लोभ्याउँछ । त्यस आसपासका घना जंगल, चिस्यान क्षेत्र पुग्दा ताजापन महसुस हुन्छ । यो एकान्तमा योग, ध्यान गर्नेहरूले फरक अनुभूति गर्न सक्छन् ।

खासमा माइपोखरी पर्यटकीय गन्तव्य मात्र होइन, यसको नाता धार्मिक आस्थासँग पनि जोडिएको छ । यहाँ मठ मन्दिर छन् र धार्मिक किम्बदन्ती पनि ।

त्यसबाहेक माइपोखरीलाई तपाईं जैविक विधिताको आँखाले पनि नियाल्न सक्नुहुन्छ । यो अनेकथरी जलचर, चराचुरुङ्गीको सुरक्षित आश्रयस्थल हो । ९० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा कति दुर्लभ वनस्पति र जीव सुरक्षित छन् ।

माइपोखरीमा तपाईं प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्नुहुन्छ, तीर्थयात्रा गर्न सक्नुहुनछ, जैविक विविधताको खोज गर्न सक्नुहुन्छ, योग, ध्यान गर्न सक्नुहुन्छ । अनि जीवनको एक ताजा अनुभव संगाल्न सक्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?