
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ०८४ को निर्वाचनमा मतदान गर्न स्वदेश फर्कन प्रवासमा रहेका नेपालीहरूलाई आह्वान गरेकी छिन् ।
भारतको बैंग्लोरमा कर्नाटक राज्य समितिले आयोजना गरेको भेला तथा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आह्वान गरेकी हुन् ।
पार्टी सभापति रवि लामिछानेले कारागारबाट पठाएको सन्देश सुनाउँदै उनले ०८४ को निर्वाचनलाई मुख्य अस्त्रको रुपमा लिनुपर्ने बताइन् ।
अहिलेको पुराना दलका नेतृत्वसँग सत्ताको चाबी हुनेबेलासम्म पार्टी सभापति लामिछानेलाई जेलबाट छुट्न कसैले नदिने भन्दै उनले जनताको साथ आवश्यक रहेको बताइन् ।
‘अहिलेका सत्तामा बसेका स्थापित दलका नेतृत्वको हातमा यो देशको भाग्य परिवर्तन गर्ने कि नगर्ने भन्ने चाबी उहाँहरूको हातमा हुनुहुन्जेलसम्म मलाई कारागारबाट निकाल्ने छैनन् भनेर सभापतिज्यूले भन्नुभएको छ,’ सांसद गौतमले भनिन्, ‘सभापतिलाई कारागारबाट निकाल्ने कसैको तागत छ भने त्यो हो– नेपाली जनता । नेपाली जनताले मतको शक्तिबाट निकाल्नुपर्छ ।’
उनले त्यसका लागि ०८४ को निर्वाचनमा हरेक नेपालीले आफ्नो कर्मभूमिबाट छुट्टि लिएर भए पनि फर्कनुपर्ने बताइन् ।
‘०८४ को निर्वाचनमा हरेक एक नेपालीलाई आह्वान गर्छु– आफ्नो कर्मभूमिबाट कामको छुट्टि लिएर भए पनि एक वर्ष तपाईंले परीक्षण गर्नका लागि भए पनि तपाईंहरू आफ्नो देश फर्कनुस्,’ सांसद गौतमको आह्वान छ, ‘०८४ को निर्वाचनमा रास्वपा नै सबैभन्दा ठूलो जनताले रुचाएको पार्टी हो भन्ने देखाउनुपर्छ ।’
उनले ०८४ को निर्वाचनमा मत हाल्नका लागि मतदाता परिचय पत्र अनिवार्य हुने भन्दै त्यसको तयारीमा लाग्न पनि आग्रह गरिन् ।
‘०८४ मा घर आउँदै गर्दा निर्वाचनमा मत हाल्नका मतदाता परिचय पत्र हुनुपर्छ । तपाईंहरूसँग त्यो भएन भने तपाईंहरूलाई ०८४ मा मत हाल्न दिने छैन,’ उनले भनिन्, ‘त्यसकारणले पनि यहाँहरूले आफ्नो मतदाता परिचय पत्र निशर्त बनाउनुस् ।’
उनले ०८४ को निर्वाचनपछि नेपालको भाग्यको यात्रा सुरु हुने पनि बताइन् । पछिल्लो समय रास्वपाका सांसदहरूकै कारणले संसद् हेर्न लायक बनेको उनको भनाइ थियो ।
कर्नाटकमा आयोजित सभामा सहभागी हुन ठूलो संख्यामा नेपालीहरूको सहभागीता थियो ।
‘आजको यो सभा सिंहदरबारले पनि हेरोस्, मन्त्रीमण्डलले पनि हेरोस् । र पश्चाताप गर्ने विन्दुसम्म पुगोस्,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया 4