
News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचखाल नगरपालिका–१२ मा २८ वर्षीया अपाङ्ग चन्द्रमाया दनुवारलाई नयाँ आवास हस्तान्तरण गरियो।
- अपाङ्ग चन्द्रमायासहित १० जनाको परिवार टहरामा बस्दै आएका थिए।
८ असार,काभ्रे । पाँचखाल नगरपालिका–१२ स्थित जरेटारकी २८ वर्षीया चन्द्रमाया दनुवारले शारिरीक अपाङ्गता झेलिरहेकी छन् ।
शरीरको देब्रे पाखा र कम्मरभन्दा तलको भाग नचल्दा हुँदा उनी स्पष्ट बोल्न समेत सक्दिनन् । अपाङ्ग चन्द्रमायासहित १० जनाको परिवार टहरामा बस्दै आएका थिए ।
साघुरो कोठामा दु:ख झेल्दै बस्दै आएकी चन्द्रमायाको परिवार आइतबार नयाँ घर पायो । यसले उनमा ऊर्जा थपेको झल्किन्थ्यो । ‘अब नयाँ घरमा बस्न पाइने भयो,’ खुशी हुँदै उनले भनिन्, ‘आवास पाएकोमा धेरै खुशी छु ।’
उनी जस्तै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ६, १० र १२ वडाका १५ परिवारले पक्की घर पाए ।
आइतबार एक कार्यक्रमको बीच राष्ट्रिय विपद् व्यवस्थापन न्युनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्ट, पाँचखाल नगर प्रमुख महेश खरेल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, हृयाबिट्याट फर हृयुमानिटी नेपालका प्रतिनिधि एलिजा स्थापित र शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले संयुक्त रूपमा आवास हस्तान्तरण गरे ।
पाँचखाल नगरपालिका, हृयाबिट्याट फर हृयुमानिटी नेपाल र शान्ति जनआदर्श सेवा केन्द्रको संयुक्त पहलमा सुरु गरिएको यस अभियानमार्फत समाजका १५ विपन्न वर्गका महिलाहरूलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यका साथ आवास निर्माण कार्य सुरु भएको थियो ।
प्रत्येक घर निर्माणको लागि अनुमानित १० लाख रुपैयाँमा निर्माण गरिएको शौचालय सहितको आवासका लागि पाँचखाल नगरको ४० प्रतिशत, हृयाबिट्याट फर हृयुम्यानिटीको ४० प्रतिशत र शान्ति जनआदर्श सेवा केन्द्र र व्यक्ति श्रमदान २० प्रतिशत लागतबाट निर्माण भएको हो ।
आवास कम्प्रेस गरेर बनाइएको वातावरणमैत्री इट्टा (रातो माटो ९० प्रतिशत र सिमेन्ट १० प्रतिशत) प्रयोग भएको र जाडोमा तातो तथा गर्मीमा चिसो भूकम्प प्रतिरोधी तीन कोठे घर निर्माण भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन न्युनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले आगामी मनसुनमा ठूलो क्षति हुने देखिएकाले प्रतिकार्यको लागि समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।
पाँचखाल नगर प्रमुख महेश खरेलले अपाङ्गता भएका र एकल महिलाहरूको मात्र नभई, विपन्न समुदायका अन्य समूहका लागि पनि सुरक्षित आवास निर्माण गरिने बताए ।
प्रतिक्रिया 4