+
+
Shares

ट्रम्पले भने– इरानको सत्ता परिवर्तन किन नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानका सर्वोच्च नेता खामेनीलाई सत्ताच्युत गर्ने बहस सुरु भएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले इरानको सत्ता परिवर्तनको कुरा गरेका हुन् ।
  • इजरायल र अमेरिकाले इरानको परमाणु कार्यक्रम रोक्न आक्रमण गरेको भनिएपनि त्यसको भित्री उद्देश्य खामेनीको सत्ता परिवर्तन भएको जानकारहरु बताउँछन् ।

९ असार, काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ । यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका हुन् ।

उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् ।

उनले लेखेका छन्, ‘रेजिम चेन्ज (शासन सत्ता परिवर्तन) भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने ?’

उनले आफ्नो स्टाटसमा ‘MIGA’ पनि लेखेका छन् । यसको पूर्णरुप ‘मेक इरान ग्रेट अगेन’ हुन्छ ।

खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन् ।

सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९  मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका थिए ।

अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्ने उद्देश्यले आक्रमण गरेको भने पनि खास उद्देश्य भने खामेनीलाई सत्ताच्युत गर्नु रहेको भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका सेन्टर फर वेस्ट एसियन स्टडिजका प्रोफेसर एके महापात्राले बीबीसीलाई बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा लेखेका शब्दहरुले पनि यही कुरालाई पुष्टि गरेको छ ।

इजरायल र इरानबीच लडाइँ जारी रहेका बेला अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । ती केन्द्रहरुमा भएको क्षतिको फोटो सार्वजनिक गर्दै अमेरिकाले आक्रमण सफल भएको जनाएको छ ।

इरानले भने यसको कडा जवाफ दिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?