+
+
Shares

अयातुल्लाह अली खामेनी : राजतन्त्रविरोधी आन्दोलनदेखि इरानको सर्वोच्च नेतासम्म

उमेर बढ्दै जाँदा खामेनीले राजतन्त्रप्रति तीव्र असन्तुष्टि पोख्दै विरोधको स्वर चर्काउन थाले । खामेनीले त्यो बेला राजतन्त्रको विरोध गरिरहेका मुख्य नेता अयातुल्लाह रुहोल्लाह खुमेनीको समर्थकका रूपमा काम गर्न थाले ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी यतिबेला विश्व राजनीतिमा चर्चामा छन्। उनले इजरायललाई समाप्त गर्नुपर्ने बताउँदै आएका छन्।
  • इजरायलले खामेनीलाई निसाना बनाउँदै संघर्ष बढाउने योजना बनाएको बुझिन्छ, तर ट्रम्पले खामेनीलाई मार्ने योजना खारेज गरेका छन्।
  • खामेनीले इरानको शक्ति र धार्मिक अभियानमा भूमिका खेलेका छन् र उनीसँग जोडिएका विवादहरू पनि छन्।

४ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी यतिबेला विश्व राजनीतिमा चर्चामा छन् । इजरायल-इरानबीच बढ्दो द्वन्द्वबीच खामेनीको चर्चा चुलिएको हो ।

मध्यपूर्वमा दीर्घकालीन शान्ति कायम गर्न इजरायललाई समाप्त पार्नुपर्ने बताउने खामेनीलाई अहिले इजरायलले नै निसाना बनाइरहेको छ । खामेनीले धेरै पटक आफ्ना भाषणमा इजरायलको अस्तित्व नामेट पार्ने बताउँदै आएका छन् ।

इजरायललाई पश्चिम एसियाको क्यान्सरका रूपमा चित्रण गर्ने इरानी सर्वोच्च नेता खामेनी इजरायललाई उखेलेर फ्याँक्न जरुरी रहेको छ र त्यो सम्भव भएको बताउँछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने आफ्ना सार्वजनिक बयानमा खामेनीका बारे उतिसारो बोलेको सुनिँदैन्थ्यो ।

तर, पछिल्लो पटक एबीसी च्यानललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहुलाई सोधिएको एक प्रश्नको जवाफमा खामेनीलाई निसाना बनाउन सक्ने बताएका छन् ।

‘के मध्यपूर्वमा अशान्ति बढ्छ भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेताको हत्या गर्ने इजरायली योजना रोकेका हुन् ?’, अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफमा नेतान्याहुले भनेका छन्, ‘खामेनीको मृत्युले संघर्ष बढाउनेभन्दा संघर्ष समाप्त गर्न सघाउँछ ।’

नेतन्याहुको यो बयानले इजरायलले इरानी सर्वोच्च नेता खामेनीलाई निसाना बनाउने योजना बनाइरहेको बुझ्न सकिन्छ । तर त्यसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘ग्रिन सिग्नल’ दिएका छैनन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतन्याहू र इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनी

किन सुरु भयो यस्तो चर्चा ?

अमेरिकाबाट सञ्चालित एबीसी न्युज च्यानल बीबीसीको सहयोगी संस्था हो । हालै उक्त च्यानलबाट प्रसारित कार्यक्रममा ट्रम्प प्रशासनका तीनजना अधिकारीले भनेका थिए- डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई खारेज गरिदिएका छन् ।

रिपोर्टअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायल र इरानबीचको जारी संघर्ष अझ भड्किन सक्ने भन्दै खामेनीको हत्या गर्न उचित नहुने बताएका थिए ।

मंगलबार राति आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘हामी अहिले नै खामेनीलाई मार्दै छैनौं ।’

‘हामीलाई राम्रोसँग थाहा छ, तथाकथित सुप्रिम लिडर खामेनी कहाँ लुकेका छन् । उनलाई टार्गेट गर्न निकै सजिलो छ । तर उनी त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्दै छैनौं । कम्तीमा अहिलेका लागि यस्तो गर्दैनौं । तर हामी यो पनि चाहँदैनौं कि, आम नागरिक र अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार होस् ।’

इजरायलको सैन्य र खुफिया एजेन्सीको ‘प्याटर्न र ट्रम्पको ताजा बयानलाई विश्लेषण गर्दा इरानी सर्वोच्च नेता खामेनीमाथि संकटको कालो बादल मडारिइरहेको पुष्टि हुने बीबीसीले उल्लेख गरेको छ ।

खामेनी इरानका सबभन्दा शक्तिशाली पद्‌मा आसिन छन् ।

जवाहरलाल नेहरू विश्वविद्यालयका सेन्टर फर वेस्ट एसियन स्टडिजका प्रोफेसर एके महापात्राका अनुसार इजरायलले इरानको परमाणु कार्यक्रम रोक्न आक्रमण गरिरहेको बताए पनि उसको खास उद्देश्य खामेनीलाई सत्ताच्युत गर्नु नै हो ।

खामेनी यति महत्वपूर्ण किन छन् र पछिल्लो साढे तीन दशकदेखि इरानको सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा स्थापित छन् ? अब यो बुझ्न जरुरी भएको छ ।

 

इरानमा धार्मिक हुनुका चुनौती

अयातुल्लाह अली खामेनीईको जन्म सन् १९३९ मा इरानको उत्तर-पूर्वी शहर मशहदमा भएको हो । मशहदलाई इरानीहरूले पवित्र शहरका रूपमा लिन्छन् ।

खामेनीका पिता पनि इस्लाम धर्म गुरु थिए । उनले पनि त्यही बाटो रोजे र ११ वर्षको उमेरमै मौलवी (धर्म गुरु) बने । खामेनीले इस्लामहरूको प्रमुख शिक्षण संस्थामध्येको एक कुममा गएर धार्मिक शिक्षा हासिल गरे ।

साह मोहम्मद रजा पहलवीको शासन चलिरहेका बेला हुर्किएका हुन् खामेनी । त्यो बेला इरानमा राजतन्त्र थियो । पहलवीको वंशले नै शासन सत्ता चलाइरहेको थियो । पहलवी धर्मनिरपेक्ष दृष्टिकोण राख्ने राजा थिए । उनी धर्मलाई अप्रासंगिक बताउँथे । धर्म मान्ने मानिसलाई उनी शंकाको दृष्टिले हेर्थे ।

खामेनीको जीवनीबारे तथ्य संकलन गरेका इरानी-अमेरिकी लेखक मेहदी खालाजीका अनुसार बाल्यकालमा खामेनी ‘मौलवी’ अर्थात् धर्मगुरुको पोशाक लगाएर आफ्नै उमेरका साथीहरूसँग सडकमा खेल्दा उनलाई गिज्याएर हासोको पात्र बनाइन्थ्यो ।

सन् २०११ मा बीबीसी संवाददाता जेम्स रिनोल्ड्ससँगको अन्तर्वार्तामा लेखक खालाजीले भनेका छन्, ‘सुरुवाती वर्षहरूमा खामेनीलाई चुरोटको लत लागेको थियो, जुन एक धार्मिक व्यक्तिसँग गरिने अपेक्षाकृत असामान्य आचरण थियो ।’

उमेर बढ्दै जाँदा खामेनीले राजतन्त्रप्रति तीव्र असन्तुष्टि पोख्दै विरोधको स्वर चर्काउन थाले ।

खामेनीले त्यो बेला राजतन्त्रको विरोध गरिरहेका मुख्य नेता अयातुल्लाह रुहोल्लाह खुमेनीको समर्थकका रूपमा काम गर्न थाले ।

इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सका फेलो र मध्यपूर्वी मामिलाका जानकार डा. फज्जुर रहमान सिद्दिकीका अनुसार राजतन्त्रविरोधी नेता खुमेनीबाट प्रभावित हुनुअघि खामेनीलाई कविता लेखनमा रुचि थियो । तर, खुमेनीबाट प्रभावित भएपछि उनले रचनात्मक गतिविधि पूर्ण रूपमा त्यागे ।

अयातुल्लाह रुहोल्ला खुमेनी त्यतिबेलाका राजा साह मोहम्मद रजा पहलवीको मुख्य आलोचक थिए । अमेरिकासँग राजा पहलवीको निकट सम्बन्धको विरोध गरेका कारणलाई खुमेनीलाई देश निकाला गरिएको थियो ।

इरानमा इस्लामिक शासन स्थापित गर्न चाहन्थे खुमेनी । खुमेनीलाई देश निकाला गरिएपछि उनको पक्षमा हालका सर्वोच्च नेता खामेनीले इस्लामिक अभियान चलाउन थालेका थिए । त्यस क्रममा उनी चार पटक गिरफ्तारीमा परे ।

अनि सुरु भयो इस्लामिक क्रान्ति

समय बित्दै जाँदा इरानमा इस्लामिक गतिविधि पनि बढ्दै गयो । सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गर्यो । राजाको शासन ढल्यो र पेरिसमा निर्वासन जीवन बिताइरहेका अयातुल्लाह रुहोल्लाह खुमेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरे ।

वरिष्ट पत्रकार सइद नकवीका अनुसार राजतन्त्रको विरोधमा चर्किएको इस्लामिक क्रान्तिका बेला आन्दोलित मानिसले मुख्यतः दुई व्यक्तिको तस्वीर बोकेको देखिन्थ्यो । पहिलो अयातुल्लाह खुमेनी र दोस्रो हुसेन अली मोतजरी ।

अयातुल्लाह रुहोल्लाह खुमैनी (दायाँ) र उनका छोरा अहमद खुमैनी (बायाँ)का बीचमा बसेका अयातुल्लाह अली खामेनी

इस्लामिक इरानमा त्यसताका मौलवी अर्थात् धर्मगुरुहरूको हातमा शासन सत्ताको बागडोर थियो । त्यसैमध्येका एक थिए, अयातुल्लाह अली खामेनी । छोटो समयमै उनी खुमेनीका निटकतम विश्वासपात्रका रूपमा स्थापित भए ।

सन् १९७९ मै तेहरानमा रहेको अमेरिकी दूतावास कब्जा गर्ने कार्यमा खामेनीको मुख्य भूमिका थियो । त्यसपछि अमेरिकासँग संवाद स्थापित गर्न खामेनीलाई नै जिम्मेवारी दियो ।

त्यसपछि खामेनीलाई इरानको उपरक्षामन्त्रीमा नियुक्त गरियो । उपरक्षामन्त्री बनेपछि खामेनीले इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) लाई संगठित गर्न भूमिका खेले ।

समय क्रममा आईआरजीसी इरानकै सबभन्दा शक्तिशाली संस्थामध्ये एक बन्यो ।

आईआरजीसीलाई धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा लड्न सक्नेगरी निर्माण गरिएको थियो । इरानलाई इस्लामिक राष्ट्रका रूपमा कायम राख्दै आन्तरिक र बाह्य खतराविरुद्ध लड्न आईआरजीसी बनाइएको थियो ।

इस्लामिक क्रान्ति चर्किएपछि इरानका राजा रहेका शाह मोहम्मद रज़ा पहलवी १९७९ मा देश छोडेर अमेरिका गएका थिए।

हत्याको असफल प्रयास

इस्लामिक गणतन्त्र स्थापित भएको दुई वर्षपछि सन् १९८१ मा इरानका तत्कालीन उपरक्षामन्त्री खामेनीको हत्या प्रयास भयो । पत्रकार सम्मेलनमा बोलिरहेका बेला उनी नजिकै राखिएको एक टेप रेकर्डर विष्फोट भएको थियो ।

उक्त घटनामा खामेनीको दायाँ हात प्यारालाइज्ड भएको र एउटा कानको श्रवण क्षमता कमजोर भएको बताइन्छ ।

खामेनीमाथि इस्लामिक शासन विरोधी मुजाहिदीन-ए-खल्क -एमईके)ले आक्रमण गरेको आरोप लागेको थियो ।

उक्त घटनापछि एक सभामा बोल्दै खामेनीले आफू गम्भीर घाइते भएको र मृत्युको मुखमा पुगेको बताएका थिए ।

उनले भनेका थिए, ‘त्यसको केही दिनसम्म म सोचिरहें कि आखिर म किन बाँचे ? मलाई लाग्यो इश्वरले कुनै कारणवश मलाई बचाए होला ।’

अनि बने राष्ट्रपति

आक्रमणमा परेर घाइते भएका खामेनी निको हुँदै थिए, त्यही साल सन् १९८१ मै उनलाई राष्ट्रपति पदमा चयन गरियो ।

त्यसपछिका ७ वर्ष ३११ दिन उनले इरानको राष्ट्रपति पदभार सम्हाले ।

सन् १९८३ को यस तस्वीरमा ईरानका तत्कालीन राष्ट्रपति आयतुल्लाह अली खामेनेई देखिन्छन् ।

उनकै राष्ट्रपतीय कार्यकालका बेला इराकका तत्कालीन शासक सद्दाम हुसेनले इरानमाथि आक्रमण गरे । त्यसपछिका ८ वर्ष इरान र इराकबीच विनाशकारी युद्ध चल्यो ।

इराकसँगको युद्धका बेला खामेनीले निकै महत्वपूर्ण निर्णय लिँदै रणनीतिक मोर्चामा सक्रिय भूमिका निभाएका थिए ।

सन् १९८९ अयातुल्लाह रुहोल्लाह खामेनीको निधन भयो । त्यसपछि अयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनाइयो ।

सर्वोच्च नेता बनाउन संविधान संशोधन

डा. फज्जुर रहमान सिद्दिकीका अनुसार खामेनीलाई सर्वोच्च नेता त बनाइयो तर, उनी आफैंलाई त्यसका लागि आफू अयोग्य लाग्थ्यो ।

तर, खुमेनीको निकटवर्ती भएका कारण र देशभर लोकप्रिय नै रहेकाले संविधान नै संशोधन गरेर उनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

सर्वोच्च नेता नियुक्त भएपछि खामेनीले आफ्ना वरिपरि विश्वासपात्रहरू राख्दै स्वयंलाई बलियो बनाउने योजनामा काम गरे ।

डा. सिद्दिकीका अनुसार खामेनीईले जानाजान आफ्नो नजिक रहने समूहमा साधारण पृष्ठभूमिका व्यक्तिहरूलाई नियुक्ति दिएका थिए । सामाजिक रूपमा बलिया र धार्मिक पृष्ठभूमिका व्यक्तिहरूले भविष्यमा चुनौती दिन सक्ने आकलन गरेर उनले यस्तो निर्णय लिएको डा. सिद्दिकीको विश्लेषण छ ।

वासिंगटनस्थित थिंक ट्यांक मिडल इस्ट इस्टिच्युटमा इरान मामिलाको कार्यक्रमका निर्देशक एलेक्स वतांका अनुसार खामेनी जति जिद्दी छन् त्यति नै सतर्क पनि छन् । समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘यही कारण पनि खामेनी लामो समयदेखि इरानको सत्ताको केन्द्रमा छन् ।’

खामेनीसँग जोडिएका विवाद

पछिल्ला तीन दशकमा इरानको सर्वोच्च नेताको पदमा आसिन आयतोल्लाह अली खामेनीसँग जोडिएका थुप्रै विवाद पनि सहतमा आएका छन् ।

आफूविरुद्ध देशभित्र चर्किएका आवाजलाई दबाउने, पत्रकारहरूलाई प्रताडित गर्ने, साहित्यकारको रचनामा सेन्सरसिप लगाउने, मानवअधिकार हनन र कट्टरपन्थी विचारलाई बढावा दिने जस्ता आरोप उनीमाथि लाग्ने गरेका छन् । यसैकारण पनि उनी सधैं प्रश्नको घेरामा छन् ।

सन् २०२२ मा प्रहरी हिरासतमै महसम अमिनीको मृत्यु भएपछि इरानमा भड्किएको विरोध प्रदर्शनलाई दबाउन पनि सर्वोच्च नेता खामेनीको हात रहेको बताइन्छ । अमिनीलाई इस्लामिक आचरण उल्लंघन गरेको भनेर प्रहरीले पक्राउ गरेको थियो ।

अयातुल्लाह अली खामेनेईको तस्वीरसहित प्रदर्शन गर्दै गरेका ईरानी नागरिक

खामेनीको कार्यकालमा इरानमाथि परमाणु हतियार निर्माण गरेको आरोपमा थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ र त्यो अझै कायम छ ।

सन् २००३ मा खामेनीले परमाणु हतियारका विरुद्धमा भाषण गरेको बताउने वरिष्ठ पत्रकार सइद नकवीका अनुसार खामेनीले त्यो बेला सार्वजनिक भाषणमै पटकपटक परमाणु हतियार इस्लामविरुद्ध भएको बताएका थिए ।

तर, पश्चिमा मुलुकले भने खामेनीईको यस किसिमका बयानलाई कहिल्यै गम्भीर रूपमा नलिएको बताइन्छ । आफ्नो लामो कार्यकालमा खामेनीले पाँच राष्ट्रपतिसँग काम गरिसकेका छन् ।

जसमध्ये चार राष्ट्रपतिले नीतिगत रूपमा सर्वोच्च नेता खामेनीलाई चुनौती दिने प्रयास गरेको आरोप छ ।

इरानका राष्ट्रपतिहरूसँग खामेनीको सम्बन्ध

सन् १९९७ मा राष्ट्रपति बनेका मोहम्मद खातमी पश्चिमा मुलुकसँगको सम्बन्ध प्रगाढ बनाउन चाहन्थे । साथै उनी इरानलाई सामाजिक र राजनीतिक रूपमा स्वतन्त्र बनाउनुपर्नेमा पनि जोड दिन्थे ।

तर राष्ट्रपति खातमी र सर्वोच्च नेता खामेनीबीच लगातार टकरावको स्थिति देखिएपछि उनका प्रयास असफल भएको बताइन्छ ।

अर्का राष्ट्रपति हसन रुहानीसँग पनि सर्वोच्च नेता खामेनीबीच मतभेद रहन्थ्यो । उदारवादी नेता मानिने रुहानीसँग खामेनीईको शासन हाँक्ने शैली मिलेन । इब्राहिम रइसीसँग भने नेता खामेनीईको सम्बन्ध अपेक्षकृत राम्रै भएको बताइन्छ । तर रइसीको कार्यकालमा इरानमा मानवअधिकार उल्लंघनका घटना बढेको र देशमा दमनका शृंखला देखिएको थियो ।

हालका राष्ट्रपति मसुद पेजसकियान सुधारवादी विचारधारासँग जोडिएका छन् । तर हालसम्म सर्वोच्च नेता खामेनीसँग उनको ‘ट्युनिङ’ मिलिरहेको देखिन्छ ।

खामेनीका निजी जीवनबारे त्यतिधेरै जानकारी सार्वजनिक गरेका छैनन् । खामेनीका चारजना छोरा र दुई छोरी छन् ।

उनका छोरा मुजतबालाई खामेनीको उत्तराधिकारीका रूपमा हेरिन्छ ।

सर्वोच्च नेता बनेयता खामेनीले हालसम्म एक पटक पनि विदेश भ्रमण गरेका छैनन् ।

इजरायल-अमेरिकाप्रतिको दृष्टिकोण

अयातुल्लाह अली खामेनीले अमेरिकालाई ‘ठूलो राक्षस’ र इजरायललाई ‘सानो राक्षस’ भन्ने गरेका छन् ।

अमेरिका र इरानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ । तनावपूर्ण सम्बन्धका पछाडि विगतका घटनाहरूको पनि महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

सन् १९५३ मा अमेरिकी खुफिया एजेन्सी सीआईए र बेलायतको सहयोगमा इरानमा भएको शासकीय फेरबदल, सन् १९७९ को इस्लामिक क्रान्ति, तेहरानमा रहेको अमेरिकी दूतावासमा कब्जा, ८ वर्ष चलेको इराक-इरान युद्ध, इरानको परमाणु कार्यक्रम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टकराव जस्ता घटनालाई तिक्ततापूर्ण सम्बन्धको प्रमुख कारण मानिन्छ ।

इस्लामिक क्रान्तिअघि इजरायलसँग भने इरानको सम्बन्ध सौहार्द्रपूर्ण थियो ।

तर, क्रान्तिपछि इरानले इजरायलको अस्तित्वमा मात्रै स्वीकारेन, प्यालेस्टाइनी मुद्दालाई कट्टर समर्थन समेत दियो ।

समय समयमा यी दुई देशबीच ‘स्याडो वार’ अर्थात् पर्दापछाडि हुने सैन्य र साइबर आक्रमण समेत हुने गरेका छन् ।

तर, पछिल्लो पटक भने यी दुई देश युद्धको मैदानमै उत्रिएका छन् र पाँच दिनदेखि एकअर्का विरुद्ध आक्रमण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?