
News Summary
Generated by OK AI. Editorially reviewed.- ब्याङ्क्सी विश्वप्रसिद्ध गुमनाम स्ट्रिट आर्टिस्ट हुन् जसले सामाजिक विसंगति र मानव अधिकारजस्ता विषयहरूमा टिप्पणी गर्छन् ।
- उनले बनाएका म्युरलहरू सामाजिक चेतना जगाउने उद्देश्यले सडक र भित्तामा सिर्जना गरिएका छन्, र बिक्रीका माध्यमबाट पनि प्रचार हुन्छन् ।
सामान्यत: मान्छेहरू नाम र प्रशंसकका भोगी हुन्छन् । सबैले आफूलाई चिनुन्, आफ्नो गुणगान गाउन् भन्ने मान्छेको चाह धेरै हुन्छ । तर ब्याङ्क्सी यी कुराहरूबाट अलि टाढै छन् ।
उनी विश्वप्रसिद्ध गुमनाम स्ट्रिट आर्टिस्ट (सडकहरूमा चित्र बनाउने कलाकार) हुन् । अहिलेसम्म उनको वास्तविक परिचय विश्वलाई थाहा छैन । तर उनी बेलायतका हुन् भन्ने अनुमान छ ।
यद्यपि आफ्नो म्युरल (भित्तामा बनाइने कला) को माध्यमबाट समाजमा रहेका विसङ्गती, युद्ध, पूँजीवाद, राजनीति र मानव अधिकारजस्ता विषयहरूमा तीखा टिप्पणी गरेका कारण उनका प्रशंसकहरू भने विश्वभर छन् ।
आफ्नो वास्तविक परिचय सार्वजनिक नगर्ने भएकाले धेरैजसो समय रातारात सार्वजनिक भित्ता, पर्खाल र सडकहरूमा उनले कला सिर्जना गरेका छन् । यसका लागि उनले स्टेन्सिल टेक्निक प्रयोग गर्ने गर्छन् । यो एक प्रकारको छपाइ प्रक्रिया हो । यसले उनको कलाको शैली पनि निर्माण गरेको छ ।
रोचक कुरा के छ भने उनले गरेका कामहरू विभिन्न माध्यममार्फत बिक्री पनि भइरहेका छन् । तर उनी आफैं सो कामलाई ‘कलाको बजारीकरण’ भनेर आलोचना गर्ने गर्छन् ।
नेपालमा पनि स्ट्रिट आर्टको माहोल बढ्दै गइरहेका बेला त्यस्तो स्वभावका ब्याङ्क्सी निश्चित जनसंख्यामै भए पनि परिचित छन् । धेरैले उनको कामलाई केवल कला नभएर एउटा आन्दोलनको रूपमा लिन्छन् । कला हतियार बन्न सक्ने र समाजलाई झकझकाउन सक्ने भन्ने कुराको उनी गतिला उदाहरण पनि हुन् ।
आई वन्ट टू बी ह्वाट यू से इन मी (२०२५)
यो उनको हालैको काम हो । गत मे महिनाको अन्त्यतिर फ्रान्सको दक्षिणी बन्दरगाह शहर मार्सेइको कुनै गल्लीमा उनले यो म्युरल(भित्तेचित्र) बनाएका थिए ।
उक्त चित्रमा सादा पर्खालमा कालो रङको लाइटहाउसको छायाँ देखिन्छ । र त्यसमा ‘तिमीले मभित्र जे देखेका छौ, म त्यही बन्न चाहन्छु’ लेखिएको छ ।
तर त्यो छायाँ र आवाज एउटा पुरानो बलार्ड (सडकको किनारमा भएको सानो खम्बा) को हो । यस चित्रले सानो तथा तुच्छ देखिने वस्तु पनि उज्यालो फैलाउने स्रोत बन्ने आकांक्षा गरिरहेको भन्न खोजेको छ ।
यसबाट ब्याङ्क्सीले के हामी आफ्नै सीमिततालाई यथार्थ ठानिरहेका छौं ? कि हामीभित्र अरूले देखेको विशाल सम्भावना नै हाम्रो वास्तविक ‘म’ हो ? भन्ने जस्ता दार्शनिक प्रश्न छाडेका छन् ।
कतिपयले ब्याङ्सीले यस भित्ते पेन्टिङबाट ‘एलिगोरी अफ द केभ’लाई उल्ट्याएको बताउँछन् । यस दृष्टान्तमा मानिसहरू गुफामा बस्छन् र भित्तामा परेको छायाँलाई यथार्थ ठान्छन् । किनकि यसमा छायाँ नै यथार्थ बन्न खोजेको देखिन्छ ।
गर्ल विथ बेलुन (२००२)
यो उनको सबैभन्दा चर्चित चित्रमध्ये एक हो । सन् २००२ मा लन्डनमा बनाइएको यो म्युरलमा सानी बालिका मुटु आकारको बेलुनतिर हात बढाउँदै गरेकी छिन्, जुन टाढा गइरहेको छ । त्यसमा सँगै लेखिएको थियो, दियर इन् अल्वेज होप (सधैं आशा हुन्छ) ।
यस चित्रमा जर्मन दार्शनिक आर्थर शोपेन्हावरको ‘इच्छा’ सम्बन्धी विचारलाई उतारिएको भन्ने गरिन्छ । सो दर्शनमा मानवीय इच्छा कहिल्यै पूरा नहुने बताइएको छ ।
यस चित्रसँग विश्व चर्चित घटना पनि जोडिएको छ । सन् २०१८ मा त्यस चित्रको लिलामी भइरहेको थियो । निकै राम्रो मूल्यमा चित्र बिक्री हुन लागेको थियो । जसै बोलकबोल सकियो, तब रिमोट कन्ट्रोल स्रेडरबाट चित्र टुक्राटुक्रा बनाइयो । त्यो काम ब्याङ्क्सी आफैंले गरेका थिए ।
फ्लावर थ्रोअर (लभ इन त इयर, २००३)
ब्याङ्क्सीको यो म्युरल अत्यन्त प्रतिकात्मक छ । चित्रमा एक मास्क लगाएका युवाले इँटा होइन, फूलको गुच्छा फ्याँक्न खोजिरहेको देखिन्छ । यो देख्दा महात्मा गान्धीको सत्याग्रह (अहिंसात्मक प्रतिकार) सम्झना आउँछ । गान्धीले नैतिक बलमार्फत सत्ता परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास गर्थे ।
त्यस्तै ब्याङ्क्सीले हिंसाको सट्टा सौन्दर्य र सत्यलाई ‘हतियार’ बनाएका छन् । चित्रको प्रदर्शनकारी अझै पनि रिसाएको देखिन्छ । तर फूल उसको आक्रोशको माध्यम बनेको छ ।
वान नेसन अन्डर सीसीटीभी (२००७)
सन् २००७ मा लन्डनको व्यस्त क्षेत्र अक्सफोर्ड स्ट्रिटमा बनाइएको यो म्युरलमा एउटा केटो अग्लो भर्याङ चढेर पर्खालमा ठूला अक्षरमा लेखिरहेको छ – वान नेशन अन्डर सीसीटीभी (सीसीटिभीको निगरानीमा एउटा राष्ट्र) । उसलाई नजिकैबाट एउटा प्रहरी र उसको कुकुरले हेरिरहेका छन् । र सो म्युरलको भित्तामा साँच्चैको सीसीटीभी पनि रहेको छ ।
यो म्युरल केवल निगरानीको आलोचना मात्र होइन, यो मिशेल फुकोको ‘प्यानोप्टिकन’ अवधारणाको सजीव प्रतिनिधित्व भएको भनेर यसको चर्चा हुने गर्छ । फुकोले ‘आधुनिक समाज एक जेलजस्तो भएको छ, जहाँ हरेक नागरिक एक-अर्कालाई हेर्छ । राज्यले राज्यलाई सबैलाई हेर्छ’ भन्ने बताएका थिए ।
त्यसैगरी ब्याङ्क्सीको सो म्युरलले पनि भनिरहेको छ – हामी एक यस्तो युगमा छौं, जहाँ हामी स्वतन्त्र जस्तो लागे पनि हरपल हामीलाई कसैले नियालिरहेको छ । खासमा यो म्युरल एउटा दार्शनिक चेतावनी पनि हो ।
मोबाइल लभर्स (२०१४)
ब्याङ्क्सीको सन् २०१४ को यो म्युरल निकै सरल तर पीडादायक सत्य उजागर गर्ने चित्र हो । चित्रमा एउटा जोडीले एकअर्कालाई अँगालोमा हालिरहेका छन् । तर उनीहरूको अनुहार र हात भने मोबाइलतिर छ । उनीहरूको ध्यान आफूहरूसँगभन्दा पनि मोबाइल स्क्रिनसँग नै छ ।
उनको सो म्युरल सिमोन द बुआभारको अस्तित्ववादी दर्शनसँग मेल खाने बताउने गरिन्छ । बुआभारले आफ्नो चर्चित पुस्तक ‘द इथिक्स अफ एम्बिग्युटी’मा वास्तविक स्वतन्त्रता भनेको एकअर्काको उपस्थितिलाई गम्भीर रूपमा ग्रहण गर्नु हो भनेर भनेकी थिइन् ।
तर म्युरलमा ब्याङ्क्सीले जोडीले ध्यान मोबाइल स्क्रिनमा दिइरहेको देखाइदिए । उनको यो चित्र आधुनिक प्रेमको बिडम्बना पनि हो । जोडीहरू शारीरिक रूपमा सँगै रहे पनि भावनात्मक रूपमा टाढा छन् ।
प्रतिक्रिया 4