
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘रियाल रिंगेट’ले वैदेशिक रोजगारीमा रहेका नेपालीको पीडालाई चित्रण गर्दछ र प्रचारप्रसार थालेको हो।
- गीत ‘जिन्दगी, उडी जाने हो कहाँ’ले विदेशमा नेपालीले भोग्ने संघर्ष र बाध्यतालाई गहिरो रूपमा प्रस्तुत गर्दछ।
- निर्देशक विभोर पोखरेलले यो फिल्म हरेक नेपालीको कथा भएको बताए र कलाकारहरूले अभिनयमा मिहिनेत गरेका छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीको मार्मिक कथा समेटिएको फिल्म ‘रियाल रिंगेट’ले प्रवर्धन थालनी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मले दर्शकमाझ प्रचारप्रसार थालेको हो ।
जसअनुसार, फिल्मको मौलिक गीत (ओएसटी) ‘जिन्दगी, उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । नयाँबानेश्वरस्थित आइएनआई हलमा सार्वजनिक गरिएको गीतले वैदेशिक रोजगारीको मर्म र पीडालाई चित्रण गरेको छ ।
रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दनध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर छ । गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।
कार्यक्रममा कवि नाथन रायनले कविता वाचन गरे, जहाँ मामुली मजदुरका रूपमा बिदेसिन बाध्य नेपालीको मार्मिक भावना पोखिएको छ । गायक क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
निर्देशक विभोर पोखरेलले यो फिल्म हरेक नेपालीको कथा भएको बताउँदै दर्शकको मन छुने बताए । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए ।
दुई दशकभन्दा बढी समयदेखि रेबेल क्रियसन सञ्चालन गर्दै आएका प्रधानले यसअघि २०३९ सालमा भिडियो फिल्म ’अभिलाषा’ निर्माण गरेका थिए । अभिनेत्री नीता ढुङ्गानाले लामो समयको मिहिनेतपछि फिल्म रिलिजको संघारमा पुगेकोमा खुसी व्यक्त गरिन् ।
अभिनेता प्रमोद भारद्धाजले सोच विचार गरेर अभिनय गरेको बताए । प्रदीप भारद्वाजले पटकथा लेखेका हुन् । फिल्मको टाइटल ’रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ’रियाल’ तथा मलेसियाको मुद्रा ’रिङ्गेट’ को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुकलाई सङ्केत गर्दछ ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ । यस फिल्मकी अभिनेत्री अनिशा सदा स्थानीय फिल्मको छायाङ्कन स्थलमा मृत भेटिएको जानकारी गराउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
प्रतिक्रिया 4