+

बेलायतमा उदाउँदै नेपाली युवा खेलाडी

२०८२ असार  १२ गते १७:४८ २०८२ असार १२ गते १७:४८

नेपाली मूलका विभिन्न युवा नेपाली खेलाडीहरू बेलायतका प्रतिष्ठित क्लबहरूमा आफ्नो प्रतिभा देखाउँदै अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुँदै गएका छन्।

बेलायतमा उदाउँदै नेपाली युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मूलका खेलाडीहरू बेलायतमा विभिन्न क्लबहरूमा आफ्नो प्रतिभा देखाउँदै विश्वस्तरमा प्रगति गरिरहेका छन्।
  • किवान राईले अल्डरसट टाउन फुटबल क्लबसँग अनुबन्ध गरेपछि पहिलो नेपाली मूलका खेलाडी बनेका छन्।
  • अस्मिता आले र मेलिसा रेग्मीले पनि प्रतिष्ठित क्लबहरूमा खेल्दै नेपाली खेलकुदको नाम उजागर गरिरहेका छन्।

१२ असार, लन्डन । नेपाली मूलका विभिन्न युवा नेपाली खेलाडीहरू बेलायतका प्रतिष्ठित क्लबहरूमा आफ्नो प्रतिभा देखाउँदै अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुँदै गइरहेका छन्।

फुटबलदेखि एथ्लेटिक्ससम्मका खेलमा युवाहरूले विदेशी भूमिमा संघर्ष, लगनशीलता र निरन्तरताबाट सफलता हासिल गर्दै नेपालको नाम विश्वमा फैलाइरहेका छन्।

उनीहरूको यो उपलब्धिले नेपालका अन्य युवाहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न प्रेरणा दिएको छ।

बुधबार मात्र बेलायतको नेपाली राजधानी भनेर चिनिने अल्डरसट शहरको स्थानीय फुटबल क्लब ‘अल्डरसट टाउन फुटबल क्लब’ मा नेपाली मूलका फुटबलर किवान राई अनुबन्धित भए ।

इंग्लिस फुटबलको पाँचौं तह मानिने ‘नेशनल लिग’ खेल्ने अल्डरसट टाउनमा अनुबन्ध हुने किवान नेपालीमूलका पहिलो खेलाडी हुन् । सन् २००५ मा वेल्समा जन्मिएका किवान ब्रिटिश गोर्खा सैनिकका सुपुत्र हुन् ।

बुधबार अल्डरसटका लागि सम्झौता हस्ताक्षर गरेलगत्तै किवानले आफू निकै उत्साहित र खेल्नका लागि आतुर रहेको प्रतिक्रिया दिए । अल्डरसट टाउन क्लबमा आउँदो सिजनमा आफनो प्रतिभा निखार्ने र सिंगो क्लबलाई नै माथि लैजानेगरी योगदान गर्ने आफ्नो लक्ष्य रहेको किवानले बताएका छन् ।

यसअघि किवान इंग्लिस फुटबलको चौंथो तह मानिने ‘लिग टु’ मा खेल्ने वेल्सको क्लब न्यूपोर्ट काउन्टीबाट खेल्दै आएका थिए । न्यूपोर्ट काउन्टीकै अन्डर १५ तहमा युथ एकेडेमी जोइन गरेका किवानले सन् २०२३ मा सोही क्लबको मेन टिममा स्थान बनाएका थिए ।

न्यूपोर्ट काउन्टीका लागि ३० वटा खेलमा मैदान उत्रिएका किवानले प्रिमियर लिग क्लब ब्रेन्टफोर्डविरुद्ध खेलको ९६ औं मिनेटमा स्कोर गरेको बराबरी गोल सम्झनालायक छ ।

अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने किवानको रचनात्मक र प्राविधिक कौशल बलियो पक्ष मान्ने गरिन्छ ।

नेपाली मूलकी बेलायती फुटबलर अस्मिता आले पनि अहिले प्रतिष्ठित इंग्लिस प्रिमियर लिग क्लब लेष्टर सिटीबाट खेलिरहेकी छन्।

यसअघि अर्को प्रिमियर लिग क्लब टोटनम हटस्परसंगको तीन वर्षे सम्झौता अवधि पूरा भएपछि उनले गत वर्ष लेष्टर सिटीसंग तीन वर्ष सम्झौता गरिन् जसमध्ये एक वर्ष सकिएको छ र अब दुई वर्ष बाँकी छ ।

२३ वर्षीया डिफेन्डर अस्मिता लेष्टर सिटीमा अनुबन्ध हुनुअघि सन् २०२१ देखि टोटनम हटस्परमा रहेर खेल्दै आएकी थिइन् । अस्मिताले इंग्ल्यान्डलाई प्रतिनिधित्व गर्दै अन्डर १७, अन्डर १८ र अन्डर १९ टिमबाट समेत खेलिसकेकी छन् । युरोपियन अन्डर २३ लिगको उद्घाटन खेलमा समेत उनी इंग्ल्यान्डको टिममा समावेश थिइन् ।

प्रोफेशनल फुटबलरका रुपमा अस्मिताले पहिलो सम्झौता सन् २०१८ मा इंग्लिश प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट पाएकी थिइन् । सन् २०२१ सम्म एस्टन भिल्लामा रहँदा उनले क्लबका लागि ५० खेल खेलेकी थिइन् ।

त्यसपछि टोटनम हटस्परमा सन् २०२१ देखि २०२४ सम्मको अवधिमा अस्मिताले ३१ खेल खेलिन् । संसारभर प्रतिष्ठित इंग्लिस फुटबलकै सर्वोच्च प्रिमियर लिग खेल्ने क्लबमा अफिसियल सम्झौता पाउने अस्मिता नेपालीमूलकी पहिलो फुटबलर हुन् ।

७ वर्षदेखि नै फुटबल खेलमा लागेकी अस्मिता ८ वर्षदेखि एस्टन भिल्लामा आवद्ध भइन् । स्थानीय ब्वाइज टिममा केही समय खेलेपछि एस्टन भिल्लाबाट उनको फुटबल यात्रा अगाडि बढेको थियो ।

१६ वर्षदेखि एस्टन भिल्लाबाट वुमन्स सुपर लिगमा छिरेकी अस्मिताले अण्डर १५, १६, १७, १८, १९, २१ हुँदै अण्डर २३ खेलेकी छन् । एस्टन भिल्लाले १८ वर्ष पुगेपछि उनलाई प्रोफेशनल कन्ट्रयाक्ट दिएको थियो ।

तनहुँ दमौली स्थायी घर भएका भूतपूर्व गोर्खा अमृत आले र वसन्ती आलेकी सुपुत्री अस्मिता स्पोर्टस साइन्समा ब्याचलर्स पनि गर्दैछिन् लफबरो युनिभर्सिटीबाट । ‘खेलका कारण पढाइमा भने अलिक ब्रेक लागिरहेको छ’ बुबा अमृत भन्छन्, ‘तर छोरीले परिवार र देशको नाम उँचो पारेकी छ । त्यसैमा हामीलाई गर्व छ ।’

पुर्ख्यौली घर छेपेटार गोरखा भएपनि काठमाडौंमा जन्मिएर १४ वर्षको उमेरमा बेलायत आएका २८ वर्षीय आभूषणराज पन्तको प्रगति पनि लोभलाग्दो छ ।

अहिले उनी स्थानीय वाटफोर्ड फुटबल क्लव अन्डर –१४ गल्स टिमको हेड कोच छन् । उनको प्रशिक्षणमा हालै वाटफोर्ड फुटबल क्लव एकेडेमी १८ मा १७ गेम जितेर जुनियर प्रिमियर लिग २०२५ च्याम्पियन बन्न सफल भयो ।

उनले आफ्नै एफएसपी फुटबल क्लव पनि चलाइरहेका छन् जुन क्लवमा करिब १५० जना किशोर किशोरीले प्रशिक्षण लिइरहेका छन् । उनको क्लवबाट प्रशिक्षित खेलाडीले स्थानीय कयौं टुर्नामेन्ट पनि जितेका पन्तले जनाए ।

यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स् बी (यूइएफए बी) को कोचिङ लाइसेन्स प्राप्त आभूषणले लन्डनस्थित सेन्ट म्यारिज यूनिभर्सिटीबाट स्पोर्टस अन्तर्गत ‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ’ विषयमा ब्याचलर्स गरेका छन् ।

उनले वृहस्पति विद्या सदन स्कुल पढ्दा ६ कक्षादेखि नै फुटबल खेल्न थालेका थिए । उनी यूके आए लगत्तै फुटबल खेलतिर लागे । ग्रासरुटबाट सेमीप्रो फुटबल खेलेपछि कोचिङतिर मोडिएका थिए उनी । ‘ट्यालेन्ट भए यहाँ धेरै अवसर हुने रहेछ’– उनी पेशाप्रति गर्व गर्छन् ।

‘यूइएफए ए’ को कोचिङ लाइसेन्स लिएर नेपालको ग्रासरुट फुटबल विकास गर्ने उनको मुख्य लक्ष्य छ । ‘नेपाल सरकारले बोलाउँछ भने म नेपाल गएर कोचिङ जिम्मेवारी निर्वाह गर्न तयार छु’, उनले भने, ‘हामीसंग ज्ञान, सीप छ तर देशले आवश्यकता महशुस गर्नुपर्छ ।’

उनले नेपाल जांदा गाउँमा फुटबल सामग्री वितरण र आफ्नो ज्ञान बाढ्दै आएको बुवा आशिषराज पन्त बताउँछन् । ‘छोराले धेरै मेहनत गरेर आफ्नो करिअर बढाएको छ । उसले मातृभूमिमै केही गर्ने महत्वकांक्षा राखेकाले हामीलाई गर्व छ’, पन्तले भने ।

उता, संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डस्थित एबरडिन निवासी १६ वर्षीया किशोरी मेलिसा रेग्मी एबरडिन क्लबबाट ‘अन्डर १७ एकेडेमी’ का लागि खेलिरहेकी छन् ।

मेलिसा आवद्ध एकेडेमीको गत शनिबार सेल्टीक यू–१७ संग अन्तिम खेल थियो । यस सिजनमा उनी १९ गोलसहित क्लबको टप स्कोरर बनेकी छन् ।

मेलिसाले एक्स्ट्रा च्यालेन्जका लागि वुमेन्स क्लबमा जाने निर्णय गरेकी छन् । ‘दुई वर्ष स्कुल पढाइका कारण एबरडिन शहर छोडने स्थिति छैन् । रेगुलर गेम टाइमका लागि च्याम्पियनसीप वा लिग वान अन्तरगतको क्लबमा जाने मेरो योजना छ’, उनले भनिन् ।

आफूलाई ७ वटा स्थानीय क्लबले चासो देखाएपनि ति मध्ये दुईवटा सर्टलिस्टमा राखेको मेलिसाले बताइन् ।

यस वर्ष बिजिसी स्कटल्याण्ड अन्डर १७ मा खेल्न जानु अगाडि एउटा क्लवमा आवद्ध हुने उनको योजना छ । मेलिसा यो वर्ष फेरि बिजिसी स्कटल्याण्ड अण्डर १७ मा मा छनोट भएकी छन् । यो खेल आउंदो जुलाई २० मा वेल्समा तय छ ।

मेलिसाले दुई वर्षसम्म कडा परिश्रम गरेर बाबु आमाको सपना साकार पार्न नेपाली राष्ट्रिय टिमका लागि ट्रायल दिने सोच राखेकी बुबा दीपेश रेग्मीले जनाए । बुबा दीपेश र आमा संगीता छोरीको प्रगतिमा दंग छन् ।

एबरडिनको अल्बाइन प्राइभेट स्कुलमा एसथ्री लेभलमा अध्ययनरत मेलिसाले ७ वर्षकै छँदा पहिलोपटक डाइस गल्स फुटबल क्लबमा आबद्ध भई फुटबल करिअर सुरु गरेकी थिइन् । त्यसपछि एबरडिन फुटबल क्लब लेडिज (एएफसीएल) बाटै उनले उमेर समूहका ‘अन्डर ११’ देखि ‘अन्डर १६’ बाट ९ नम्बरको जर्सी लगाएर ‘मेन स्ट्राइकर’ का रुपमा खेलिन् ।

उनी एबरडिन क्लबको ‘अन्डर १६ एकेडेमी प्रोग्राम’ की पहिलो खेलाडी पनि हुन् ।

स्कटल्यान्डमै जन्मिएर हुर्किए पनि मेलिसा नेपाली भाषा राम्रो बोल्छिन् । हरेक नेपाली चाडपर्व निकै चाख लाग्छ  । आफ्नो खेल क्षेत्रका मानिसलाई उनी नेपाली भनेरै चिनाउँछिन् ।

बेलायतबाट प्रतिनिधित्व गर्दै विश्व प्रतिष्पर्धामा

२७ अप्रिल लन्डनमा आयोजित संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा एक नेपालीले विश्व कीर्तिमान बनाए । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएका हुन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

तिनै सन्तोष गत वर्ष अगष्टमा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गर्न अष्ट्रेलिया पुगे । ३ किमी स्वीमिङ, १२१ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ समावेश ट्रायथलन प्रतियोगितामा राई टप १३ मा आउन सफल भए ।

राईले अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसिप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए । यसपटक फेरि उनी वर्ल्ड च्याम्पियनसिप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गर्न स्पेनको पोन्टेभेड्रा जांदैछन् ।

२९ जुनमा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी स्पेन जान लागेका सन्तोषले ४० देखि ४४ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेको जनाए । ५० देखि ५४ उमेर समूहमा सन्तोष कर्माचार्य पनि अमेरिकाको बोस्टनबाट आउँदै छन्। नेपाल ट्रायथलन एसोसिएसनले दुई खेलाडी छनोट गरेको हो ।

‘मातृभूमिबाट टाढिएपछि आफू जन्मेको ठाउँ, परिवार र देशको माया झन् बढी लाग्ने रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘नेपालको सान, पहिचान बढाउन पाउँदा ठूलो खुशी मिल्छ । बेलायत बसेर पनि मैले नेपालकै लागि खेलिरहेको छु ।’

नेपालमा ट्रायथलन खेलाडी निकै कम छन्। यो खेल महंगो र गारहो हुने भएकाले पनि खेलाडी संख्या न्यून भएको सन्तोषले बताए ।

सन्तोषको म्याराथन यात्रा सन् २००९ देखि शुरु भयो । लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फूल म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् । उनले दुई वर्षमा ति विश्वप्रसिद्ध म्याराथन सम्पन्न गरेका थिए ।

सन् २०१६ को रियो ओलम्पिक्समा सबैभन्दा कान्छी स्वीमर भएर राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिचेकी गौरिका सिंह परिवारका साथ लन्डन बस्छिन् । बसाइ बेलायत भएपनि उनले नेपालकै प्रतिनिधित्व गरेर खेलिरहेकी छन् ।

जापानको फुकुओकामा आयोजित २०औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेर ख्याति बटुलेकी उनले विश्व एक्वाटिक्स च्याम्पियनसीप २०२४ दोहामा १ः०५.४७ को समय निकालेर ६७१ एक्वा पोइन्ट स्कोर गर्दै महिला १०० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् ।

गौरिकाले यसअघि सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत ५० मिटर ब्याकस्ट्रोकमा ३१ दशमलव ४४ सेकेन्डमा पार गरेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

गौरिका आफ्नो देश नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लाग्ने बताउँछिन् । ‘बिडम्बना केही वर्ष यता साफ, एसियन गेम्स हुन नसक्दा मैले भाग लिन पाइरहेकी छैन्’ उनले भनिन्, ‘स्वीमिङमा एज म्याटर हुने भएकाले वर्षौं प्रतियोगिता स्थगित भइरहंदा खेलाडीको अवसर र मनोवल गिर्छ ।’

गौरिकाका पिता यूरोलोजिस्ट डा. पारसबहादुर सिंहले छोरी नेपालमा गएर खेल्न लालयित भएपनि प्रतियोगिता हुन नसकेको गुनासो गर्छन् ।

विगत २२ वर्षदेखि बेलायतमा रहेका पारसले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायत निकायबीच आपसी मतभेद र समन्वय नहुंदा खेलाडीलाई क्षति पुगिरहेको बताए ।

पछिल्लो समय अध्ययन र प्रतियोगिता पनि उल्लेख्य नहुँदा उनी अलिकति ओझेलमा छन् । टफ्ट्स युनिभर्सिटी, बस्टन, अमेरिकामा ४ वर्षे ब्याचलर्स कोर्स सकेर हालै लन्डन फर्किएकी २३ वर्षीया गौरिकाले अब सेप्टेम्बरदेखि एलएसइमा इन्टरनेशनल पोलिटिकल इकोनोमीमा मास्टर्स गर्दैछिन् ।

यतिखेर बलिउड मूभी रामायणको फाइनान्स र लजिष्टिकमा इन्टर्नसीप गर्न ६ हप्ताका लागि मुम्बइमा छिन् गौरिका । अस्कर विनिङ भिएफएक्स कम्पनी डिनेगले उक्त फिल्मको भिज्यूअल इफेक्ट्स हेरिरहेको छ ।

बेलायतमा नेपाली खेलाडी
लेखक
नवीन पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय