News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्यविनायक-धुलिखेल सडकखण्डको विस्तारको काम भइरहेको छ ।
- वर्षायाम पनि सडक विस्तारका काम भइरहँदा यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ ।
१२ असार, काठमाडौं । दुई वर्षदेखि सूर्यविनायक-धुलिखेल, धुलिखल-सिन्धुली-बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक-साँगा सडकखण्ड विस्तारको काम भइरहेको छ ।
आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले यो सडकखण्डको काम १६ चैत २०७९ देखि सुरु गरेको थियो । साढे सात किलोमिटर लामो दुरीको यो सडकखण्डको लागत तीन अर्ब ८८ करोड ९३ लाख रहेको छ ।
धुलिखेलदेखि साँगासम्मको आठ दशमलव चार किलोमिटर सडकखण्ड विस्तारको काम भने लामा कन्स्ट्रक्सनले गरिरहेको छ । यो खण्डको लागत भने चार अर्ब पाँच करोड ६४ लाख रहेको छ ।
६ लेनमा विस्तार भइरहेको दुवै खण्डको काम दुवै ठेकेदार कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
यो बर्खायाममा पनि दुवै ठेकेदार कम्पनीहरूले सडक विस्तारको काम गरिरहेका छन् । सडक विस्तारका काम भइरहेका कारण यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । जसले गर्दा सर्वसाधारण यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
घाम लाग्दा धुलाम्य भएर यात्रा गर्न सकिए पनि पानी पर्दा भने सडक हिलाम्य बन्दा यात्रुले धेरै सास्ती भोग्नु परेको छ । सडक हिलाम्य बन्दा दुर्घटनाको जोखिम बढेको छ भने कहिलेकहीँ सवारीसाधनको लामो जामले यात्रुहरूले हैरानी खेप्नु परेको छ ।
संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग यो राजमार्ग जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी प्रदेश र मधेश प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन् ।
यसैगरी चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानीसँग पनि यो राजमार्ग जोडिएको छ ।

प्रतिक्रिया 4