+
+
Shares

सुर्खेतको ग्रामिण क्षेत्रका महिलामा प्रजनन् स्वास्थ्य समस्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १७:२७

१२ असार, सुर्खेत । सुर्खेतको ग्रामिण भेगका अधिकांश महिला प्रजनन् स्वास्थ्यसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित रहेको पाइएको छ । उनीहरूमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने तथा प्रसव फिस्टुलाका साथै प्रजननसँग सम्बन्धित समस्या देखिएको हो ।

सुर्खेतको लेकवेशी नगरपालिका–३, ब्यावरेमा बुधवार भएको नि:शुल्क महिला स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका अधिकांश महिलामा कुनै न कुनै प्रजनन् स्वास्थ्य समस्या देखिएको हो ।

शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई उपचार तथा थप उपचारका लागि रिफर समेत गरिएको छ ।
इनरह्वील क्लब अफ सुर्खेत भ्याली, लायन्स क्लब अफ सुनगाभाको आयोजना तथा लेकवेशी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा १४२ जनाले परीक्षण गरिएका थिए ।

महिलामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा नि:शुल्क स्वास्थ्योपचार गरिएको थियो ।

भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

‘हामीले औषधी राखेर गर्ने परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ’, शिविरमा सहभागी स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल नर्सिङ प्रशासक दिपा भट्टराईले भनिन्, ‘परीक्षणबाट पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।’

यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन् ।

भिआइए परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र उनीहरूको थर्मो कगुलेशन विधिद्वारा उपचार गरिएको नर्सिङ प्रशासक भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार शिविरमा परीक्षण गराएका ७० प्रतिशत महिलाहरूमा प्रजनन स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।

गम्भीर समस्या देखिएका महिलाहरूलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि रिफर गरिएको नर्सिङ प्रशासक भट्टराईले बताइन् ।

‘महिलाहरूमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने र प्रसव फिस्टुला लगायतका समस्या बढी भेटियो’, भट्टराईले भनिन्, ‘गाउँघरमा ९० प्रतिशत महिलाहरूको श्रीमान उहाँहरूसँग हुनुहुन्न । खानपान, दैनिकी र जीवनशैली मिल्दैन । नियमित चेकजाँच छैन । आर्थिक अभावले पनि महिलाहरू यस्ता समस्या गाँजेर बस्नु हुन्छ ।’

सुत्केरी हुँदा राम्रो स्याहार नपाउँदा महिलामा प्रजनन अङ्गसँग सम्बन्धित समस्या देखिने गरेको छ । उमेरै नपुगी गरिने विवाहले पनि पाठेघर खस्ने समस्या थपेको छ । यस्ता महिलाहरू गरिबी र चेतना अभावसँगै लोकलाजका कारण रोग लुकाउने गर्दा समस्या अझ जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

शिविरमा आङ खस्ने समस्या भई जटिल उपचार गर्नुपर्ने दुई जना भेटिएका थिए । उनिहरुमध्य एक जनालाई रिङ प्रेसरी लगाएको छ भने र अर्को एक जनाको फोर्थ डिग्री पाठेघर खसेको हुँदा शल्यक्रियाका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको भट्टराइले बताइन् ।

केही महिलाहरूमा आङ खसेको शल्यक्रिया गरिसकेपछि भल्ट प्रोल्याबस भएर रिफर गरिएको छ । २ जना महिलामा स्तनसँग समस्या देखिएकाले थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएको छ ।

अन्य प्रजनन स्वास्थ्यसँग सम्बिन्धीत सङ्क्रमण देखिएका र पिसाब थैलीसँग सम्बन्धित समस्या भएका महिलाहरूलाई आवश्यक उपचार र परामर्श गरिएको शिविरमा सहभागी अनमी निरीक्षक सिता शर्माले बताइन् ।

जटिल र उपचारमा महँगो रोग क्यान्सरको रोकथाम र उपचारको शिविर सञ्चालन हुँदा ठुलो सङ्ख्यामा स्थानीय महिला प्रत्यक्ष लाभान्वित हुने अवसर पाएको लेकवेशीका स्थानीय अगुवा कृष्ण खत्रीले बताए ।

‘गाउँमा महिलाको स्वास्थ्य संस्थाको सहज पहुँच छैन, आर्थिक अवस्था कमजोर छ । गर्भावस्था र सुत्केरी हुँदा पनि सबै काम आफै गर्नुपर्ने हुन्छ । जसले गर्दा एक घर, एक बिरामी जस्तै छ,’ खत्रीले भने ।

जिल्लाका ग्रामीण भेगका महिलाहरू प्रजननसँग सम्बन्धित जटिल स्वास्थ्य समस्या रहेको थाहा पाएपछि भिआइए विधिद्वारा नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको इनरह्वील क्लब अफ सुर्खेत भ्यालीकी संस्थापक अध्यक्ष सिया कार्की प्रधानले जानकारी दिइन् ।

‘गाउँघरका अधिकांश महिला दिदीबहिनीहरू कुनै न कुनै रोग पालेर बस्नु भएको छ,’ संस्थापक कार्कीले भनिन्, ‘अवस्था यस्तो पनि छ उहाँहरू उपचारका लागि शिविर नै कुरेर बस्नु पर्ने अवस्था छ ।’

पाठेघरको मुखको क्यान्सरमा हुने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले भिआइए परीक्षण मेसिन नै गाउँमै लगेर शिविर सञ्चालन गरिएको कार्कीले बताइन् ।

‘दुर्गम क्षेत्रमा महिलाहरूमा पाठेघरको क्यान्सर, पाठेघर खस्ने र फिस्टुलाको समस्या बढी देखिने गरेको छ । समस्याको पहिचान गर्न, न्यूनीकरण गर्न हामीले जिल्लाका विभिन्न ठाउँमा नि:शुल्क शिविर सञ्चालन गर्दै आएका छौँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?