
News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्याएको छ, जसमा तीन घर पूर्ण रूपमा नष्ट भएका छन्।
- पहिरोले विद्यालय र घरहरूमा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति गरेको छ, र प्रहरी उद्धारमा खटिएको छ।
- यसैगरी, त्रिपुरासुन्दरी नगरपालिका-३ मा बाढीले घर र जमिनमा क्षति पुर्याएको छ।
१३ असार, काठमाडौं । डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पुर्याएको छ ।
बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो ।
गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहित खसेको पहिरोले तीन वटा घर पूर्ण रूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले अनलाइनखबरलाई जानकारी दिए ।
पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको उनले बताए ।
पहिरोले काइके गाउँपालिका-४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको उनले बताए ।
आंशिक रूपमा १२ वटा घरमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको बुढामगरले बताए ।
यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्याएको छ । पहिरोले रिवागाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।
उनका अनुसार पहिरोले विद्यालयमा रहेका कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी लगायतमा पनि क्षति पुगेको छ । पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
बुढामगरका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।
बाढीले त्रिपुरामा पनि क्षति
यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ भित्तीस्थित खोर खोलामा आएको बाढीले तटबन्द निमार्णका लागि राखिएका ८५ थान जाली बगाएरको छ ।
त्रिपुरासुन्दरी नगरपालिका-३ का लालबहादुर दमाई, शुद्व दमाई र जयकुमार कठायतको घरमा बाढी पसेर क्षति पुगेको छ ।
बाढीले कर्णवीर बोहरा, झक्कु दमाई, विष्णु बोहरा,फुक्कु दमाईको तरकारी बाली तथा खेतमा क्षति पुर्याएको छ । यसैगरी बाढीले वडा नम्बर २ मधुस्थित बाघबहादुर बुढा लगायत १२ घरधुरीको करिब ५/६ रोपनी जमिनमा क्षति पुर्याएको छ ।
प्रतिक्रिया 4