+
+
Shares

पोर्चुगलमा नेपाली केन्द्रित व्यवसाय संकटमा, दलालका दिन गए

फेरिएको पोर्चुगलको नीतिका कारण नेपालीलाई लक्षित गरी सञ्चालन भएका कतिपय काम र व्यवसाय बन्द भएका छन् भने कतिपय धराशायी भएका छन् ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ असार १४ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रमोद रिजालले पोर्चुगलको लिस्बनमा आफ्नो भाषा स्कुल बन्द गरी बेल्जियम सरेका छन्।
  • पोर्चुगलको नयाँ आप्रवासन नीतिले नेपाली व्यवसाय र रोजगार अवसरहरू संकटमा परेका छन्।
  • स्रोत अनुसार, पोर्चुगलमा नेपालीको संख्या ३० हजारभन्दा बढी भए पनि वास्तविक संख्या अझ बढी हुन सक्ने बताइन्छ।

१४ असार, लिस्बन । प्रमोद रिजालले २२ मे, २०२५ मा फेसबुकमा एउटा सूचना राखे । जसमा लेखिएको थियो, ‘धेरै रहर, सेवा र कम व्यावसायिक रुपमा सञ्चालन भइरहेको पोर्तुगिज भाषा कक्षा पूर्ण रुपमा बन्द गरिएको र शिक्षण पेसाबाट अहिलेको लागि केही टाढा रहेको सबैको जानकारीको लागि अनुरोध छ ।’

पोर्चुगलको राजधानी लिस्बनमा रहेर नेपाली समुदायलाई लामो समयदेखि पोर्चुगिज भाषा पढाउँदै आएका रिजाल आफूले सञ्चालन गर्दै आएको भाषा स्कुल बन्द गरेर दुई साताअघि युरोपकै अर्को देश बेल्जियम सरेका छन् । उनले लिस्बनको असाध्यै व्यस्त र पर्यटकीय क्षेत्र ख्वसियोमा एउटा फ्ल्याट नै लिएर नेपालीलाई भाषा पढाउँदै आएका थिए ।

श्रीमती र दुई सन्तानसहित लिस्बन बस्दै आएका रिजालको गुजारा राम्रै चलेको थियो । तर जब नयाँ आप्रवासन नीतिले पोर्चुगल सुनसान जस्तै हुन थाल्यो, उनको यो व्यवसाय र पेसाले पनि मार खेप्नुप¥यो ।

सजिलै अस्थायी आवास अनुमतिपत्र (टीआरसी) पाउने यहाँको कानुन बदलिएपछि पोर्चुगल आउने नेपालीको संख्या शून्यप्रायः भयो । जसले गर्दा नेपालीलाई पोर्चुगिज भाषा सिकाउने र त्यसैबाट जीवनयापन गर्ने उनको ७ वर्षदेखिको यात्रा रोकियो ।

उनी भन्छन्, ‘आप्रवासीहरु पोर्चुगल आउने क्रम रोकिएपछि नेपालीलाई लक्षित गरेर सञ्चालन गरिएका अधिकांश सेवा तथा व्यवसाय संकटमा परेका छन् ।’

रिजाल जस्तै अर्का एक नेपाली युवा पनि काम बन्द गरेर बसेका छन् । काभ्रे घर बताउने उनी ५ वर्षअघि पोर्चुगल आएका हुन् । पोल्यान्ड हुँदै पोर्चुगल प्रवेश गरेका उनीसँग साना गाडी चलाउने सिप थियो ।

पोल्यान्डमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर आएका उनले आफ्नै लगानीमा एउटा कार किने र पोर्चुगलबाट स्पेन, फ्रान्स, जर्मनी, बेल्जियम जानेहरुलाई ट्याक्सी सेवा दिन थाले ।

पोर्चुगलमा रहेको नेपाली समुदाय जोडिएको फेसबुक पेजहरुमा आफ्नो सेवाको विज्ञापन गर्दै उनी ग्राहक बटुल्थ्ये । दैनिक सयौंको संख्यामा नेपालीहरु पोर्चुगल प्रवेश गर्ने समय थियो, पोर्चुगलमा नेपाली दूतावास पनि स्थापना भएको थिएन ।

‘पासपोर्ट बनाउने देखि अधिकृत वारेसनामा वा कुनै कागजात प्रमाणीकरण गर्नुपरेमा यहाँका नेपालीहरु स्पेन, फ्रान्स वा अन्य देशमा रहेको नेपाली दूतावासमा नपुगी सुखै थिएन,’ उनी भन्छन्, ‘चार जनासम्म त्यस्ता काम परेका व्यक्तिहरु जम्मा गर्र्थें र फ्रान्सको पेरिस वा स्पेन गएको प्रतिव्यक्ति साढे २०० यूरो लिने गरेको थिएँ ।’

अहिले आएर उनको यो व्यवसाय बन्द भएको छ । पछिल्लो कानुनअनुसार विना पासपोर्ट पोर्चुगल आइपुगे पनि वैध बनेर बस्न पाउने बाटो बन्द भएपछि नेपालीहरु आउन छाडे । ‘त्यत्तिबेलासम्म पनि गुजारा चल्नेसम्मको काम त मिलिरहेको थियो, तर लिस्बनमै दूतावास स्थापना भएपछि मेरो काम हराएको छ,’ उनी भन्छन् ।

फेरिएको पोर्चुगलको नीतिका कारण नेपालीलाई लक्षित गरी सञ्चालन भएका कतिपय काम र व्यवसाय बन्द भएका छन् भने कत्तिपय धराशायी बन्न थालेका छन् ।

पोर्चुगलका तत्कालीन प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ३ जुन २०२४ मा आप्रवासनसम्बन्धी नयाँ योजना सार्वजनिक गरे । सोही योजनाअनुसार ‘रेसिडेन्सी कार्ड’को लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ समाप्त भएको हो ।

पोर्चुगलमा १८ मे २०२५ मा भएको आम निर्वाचनबाट पनि उनै मोन्टेनेग्रो प्रधामन्त्री चुनिएका छन् । पोर्चुगलले सन् २००७ देखि आय घोषणा गर्ने विदेशीलाई सजिलै काजगत दिन सुरु गरेको थियो । २०१८ को सरकारले अवैध रुपमा आएकालाई पनि कागजात दिने नीति लिएसँगै आप्रवासीको ओइरो लागेको थियो ।

पोर्चुगलको लिस्बनमा थुप्रै व्यवसाय नेपाली केन्द्रित छन् । कतपिय रेष्टुरेन्ट तथा पसलहरुले नेपाली ग्राहकलाई मात्रै लक्षित गर्दै आएका छन् । मम, सेलरोटी, भुटेको मकै भटमास लगायतका नेपाली परिकारहरु नेपालीलाई नै बढी लक्षित गरेर व्यावसायिक रुपमै उत्पादन र बिक्री हुँदै आएको छ । बजारको केन्द्रमा रहेको र आफ्नो ‘ब्रान्ड’ कायम गरिसकेको बाहेकका त्यस्ता साना र सुरुवाती व्यवसायहरु अहिले संकटमा छन् ।

धरापमा कोठाको व्यापार

चोकचोक बरालिएर हिँडेनेदेखि तरकारी तथा साइबर पसलेले ‘सेफ लक’ को काममा दलाली गर्थे । लाग्नेभन्दा दोबर मूल्य असुलेर सयौंले लिस्बनमा धन्दा चलाएका थिए । अहिले त्यस्ता दलालका पसल बन्द भएका छन्

३० लाखभन्दा बढी नागरिकको बसोबास रहेको लिस्बनमा फस्टाएको व्यापारमा पर्छ, कोठाको व्यापार ।

लिस्बनमा आधा जनसंख्या आप्रवासीको बसोबास रहेको अनुमान छ । आप्रवासीहरु एउटै कोठामा चार जनासम्म बस्ने, एउटा शौचालयमा १२÷१५ जनासम्म आश्रित हुनु सामान्य छ ।

न्यूनतम तलब मासिक ८७० युरो रहेको पोर्चुगलमा अधिकांश श्रमिक न्यून ज्यालामै काम गर्छन् । सामान्य एउटा कोठाको प्रतिमहिना भाडा ४०० यूरोदेखि माथि पर्ने भएपछि यहाँका श्रमिक वर्गका आप्रवासी ‘रुम सेयरिङ’मा बस्ने गरेका छन् । तर यसरी हुने रुम सेयरिङ कोठमा बस्नेहरुको नभई घरधनी वा घर भाडामा लिएकाहरुले निर्धारण गरेबमोजिम हुने गरेको छ । उनीहरुले एउटा कोठामा जति जना राख्न चाहन्छन् वा कोठा भाडा जत्ति निर्धारण हुन्छ, तिर्नुपर्ने हुन्छ ।

६ महिना अघिसम्म भनेजति भाडा तिर्न तयार हुँदा पनि कोठा नपाइने अवस्था थियो । त्यसैले थुप्रै नेपालीले ‘अपार्टमेन्ट’ भाडामा लिएर आफू पनि बस्ने र भाडामा लगाउने व्यवसाय थालेका छन् । यसरी ‘अपार्टमेन्ट’ भाडामा लिँदा कुन क्षेत्रको घर हो र घर कति पुरानो छ, त्यसमा भाडा निर्धारण हुने गरेको छ ।

सुवास राईले पाँच महिनाअघि अलमेदामा तीनवटा कोठा भएको अपार्टमेन्ट प्रतिमहिनाको भाडा ९०० यूरोमा लिए । दुई कोठामा दुई÷दुई जनाका दरले चार जना उनले राखेका छन् र आफू त्यो अपार्टमेन्टको सानो कोठामा बसेका छन् । उनले प्रतिव्यक्ति २१० यूरोका दरले मासिक ८४० यूरो जम्मा गर्छन् र ६० युरो थपेर धरधनीलाई बुझाउँछन् ।

पाँच महिनादेखि चल्दै आएको सित्तैमा बस्ने उनको जुगाडमा अब भने समस्या आएको छ । जुलाई महिनादेखि ती चारै जनाले कोठा सर्ने मनसाय व्यक्त गरेका छन् । उनीहरुले प्रतिमहिना ३५० यूरोमा अर्को कोठा पाएकाले सर्ने भएका हुन् । अब सुवासले उनीहरुलाई प्रतिव्यक्ति १७५ यूरोका दरले कोठा भाडामा नदिने हो भने बढी भाडा तिर्ने अरुको खोजी गर्नुपर्ने हुन्छ, जो लिस्बनमा हत्तपत्त पाइँदैन ।

‘उनीहरुले अन्त पाएको मूल्यमा कोठा दिउँ दुईवटा कोठाबाट महिनाको ७०० मात्रै जम्मा हुन्छ, घरभेटीलाई ९०० तिर्नुपर्छ’, राईले पीडा सुनाए, ‘एउटा बेड मात्रै अट्ने म बसेको रुमकै मैले २०० तिर्नुपर्ने हुन्छ ।’

आप्रवासी आउने क्रम ठप्प भएपछि उनी जस्ता भाडामा लगाएर आफू सित्तैमा वा सस्तोमा बसँुला भनेर घर भाडामा लिनेहरु समस्यामा परेका छन् ।

यहाँ अफ्रिकन, भारतीय, नेपाली, बंगलादेशी, पाकिस्तानी आप्रवासीको संख्या अधिक छ । बसोबासका लागि प्रायः आफ्नै समुदायका नागरिक रहेको अपार्टमेन्टमा मिसिएर बस्ने चलन छ । आप्रवासीले शौचालय र भान्सा संयुक्त रुपमा प्रयोग गर्नुपर्ने भएकोले आफ्नै देशका नागरिक वा चिनेजानेको व्यक्तिसँगै घर भाडामा लिन्छन् ।

बन्द भए दलाली पसल

यसअघि ६ महिनादेखि एक वर्षसम्म काम गरेर कर तिरेपछि पोर्चुगलको अस्थायी आवास अनुमति प्राप्त हुन्थ्यो । युरोपेली संघ (सेङ्गेन) भिसाको अवधि बाँकी हुँदै पोर्चुगल प्रवेश गरेकाहरुको ६ महिना सामाजिक सुरक्षा र सेङ्गेन बाहिरबाट आएकाहरूले पोर्चुगलमा एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे ।

यसरी निवेदन दिनका लागि होस्टल वा होटलबाट बनाइने सेफ इन्ट्री, सोसल, फिनान्स, जुन्ता जस्ता कागजात बनाउने र ‘सेफ लक’ गर्नका लागि नेपालीहरुले प्रशस्तै पसल खोलेका थिए । चोकचोक बरालिएर हिँडेनेदेखि तरकारी पसल, साइबर पसलले यो काममा दलाली गर्थे । लाग्नेभन्दा दोबर मूल्य असुलेर सयौंले लिस्बनमा धन्दा चलाएका थिए । धेरै व्यक्तिहरु यही दलालीबाट मात्रै कमाइ गर्थे ।

सन् २०२३ को आक्टोबरमा साइप्रसबाट यहाँ आएकी सुनिता भण्डारीले आफ्नो ‘सेफ लक’ आन्जोस नजिकैको एउटा किराना पसलबाट गराइन् । ‘धेरै ठाउँमा सोध्दै जाँदा त्यो पसलेले अलि सस्तोमा ४०० यूरो तिरेको गराएँ,’ उनी भन्छिन्, ‘पछि यहाँको बारेमा अलिअलि बुझ्ने भएपछि थाहा पाएँ, त्यो काममा उसले ८० देखि १०० यूरो मात्रै खर्च गरेको रहेछ ।’

अहिले नयाँ आप्रवासी आउने क्रम रोकिएपछि त्यस्ता कागजात बनाउन दलाली गर्नेहरु कामविहीन भएका छन् । प्रहरी रिपोर्ट लगायतका पछि चाहिने अन्य कागजातमा बढी शुल्क असुल्ने र दलाली गर्ने तीन जना नेपाली अहिले पोर्चुगिज प्रहरीको हिरासतमा छन् ।

डेढ महिनाअघि यहाँको सरकारले गरेको गोप्य अनुसन्धानमा कागजपत्र नक्कली बनाउने र बढी पैसा लिने तीन जना नेपाली भेटिएपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरु पक्राउ परेसँगै लिस्बनमा बसेर दलाली गर्ने अन्य केहीले पसल नै बन्द गरेका छन् ।

कत्ति छन् नेपाली ?

पोर्चुगलमा औपचारिक रुपमा बसोबास गर्ने नेपालीको संख्या करिब ३० हजार छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पोर्चुगिज सरकारी तथ्याङ्कअनुसार ३० हजार हाराहारीमा नेपाली यहाँ रहेको बताए । तर यो संख्या निकै धेरै रहेको र उनीहरु सरकारी प्रक्रियामा प्रवेश हुने चरणमा रहको उनी बताउँछन् ।

उनका अनुसार यहाँ नेपाली मात्रै ६० हजारभन्दा बढी छन् । पोर्चुगलमा नेपालीको संख्या यकिन हुन नसक्नुमा यहाँको बसाइँसराइ, कामको प्रवृत्ति मुख्य रहेको छ । साथै, हालसालै यहाँ स्थापना भएको नेपाली दूतावासले तथ्याङ्क संकलनको कार्य नथाल्नु र एनआरएन पोर्चुगलको निष्क्रियताका कारण तत्कालै सही तथ्याङ्क आउनेमा शंका छ ।

केही नेपाली यहाँको अस्थायी कार्ड (टीआर) र पोर्चुगिज पासपोर्ट लिएर अन्य सेङ्गेन देशमा काम गर्न गएका छन् । वैधानिकता पोर्चुगलको भए पनि त्यस्ता नेपाली गणनामा आउँदैनन् ।

पोर्चुगल सरकारको एक आँकडाअनुसार यहाँ रहेको आप्रवासीको संख्या मध्ये ३० दशमलव ८ प्रतिशत अदक्ष कामदार छन् । सजिलै आवास अनुमति पाउने र त्यसका कारण ठूलो संख्यामा अदक्ष कामदार भित्रिने समस्यालाई यहाँको सरकारले रोकेको हो ।

अहिले पोर्चुगल सरकारले सिप तथा क्षमता भएका योग्य कामदार भित्र्याउन ‘डी वान’ भिसा (वर्किङ भिषा) सुरु गरेको छ । उक्त भिसाबाट समेत नेपालीहरु अहिले फाट्टफुट्ट यता आइरहेका छन् ।

साथै, पोर्चगल सरकारले विदेशी युवा विद्यार्थीहरूलाई भित्र्याउन थालेको छ । अध्ययनकै लागि यहाँ बस्नेहरुको पनि अस्थायी बसोबास पत्र छिट्टै बन्ने भएकोले नेपालीहरु विद्यार्थीका रुपमा पनि पोर्चुगल प्रवेश गर्न थालेका छन् ।

तस्वीर : पोर्चुगिज भाषा स्कुल बन्द गर्नुअघि पढाउँदै प्रमोद रिजाल (बायाँ) र भाषा सिक्न कक्षामा सहभागी नेपाली ।  

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?