News Summary
Generated by OK AI. Editorially reviewed.- सावित्रा भण्डारी साम्बा नेपाली महिला फुटबल टिमकी ११औं कप्तान बनेकी छन्, उनले लाओस विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेकी हुन्।
- अखिल नेपाल फुटबल संघले सुरुमा नगरकोटीलाई कप्तान बनाउने योजना बनाएको थियो, तर सावित्रालाई कप्तानको आर्मब्याण्ड लगाएर खेल सुरु भयो।
- सावित्राले पहिलो पटक नेपाली राष्ट्रिय टिमको कप्तानी गरेकी हुन् र उनी नेपालका लागि सर्वाधिक ५८ गोल गर्ने खेलाडी पनि हुन्।
१५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११औं कप्तान बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् ।
सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । यसअघि कप्तानी गर्दै आएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा सावित्रा नयाँ कप्तान बनेकी हुन् ।
तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुमा लाओस विरुद्ध रनेुका नगरकोटीले कप्तानी गर्ने भन्दै पहिलो रोजाईँको टिम सार्वजनिक गरेको थियो । तर खेल सुरु हुने बेला टनेलबाट सावित्रा कप्तानको आर्मब्याण्ड लगाएर निस्किइन् । रेनुकाले कप्तानी गर्ने निर्णय एकछिन पनि टिक्न सकेन । रेनुकाले यसअघि नै नेपाली महिला टोलीको कप्तानी गरिसकेकी छन् ।
युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले पहिलो पटक नेपाली राष्ट्रिय टिमको कप्तानी गरेकी हुन् । उनी नेपालका लागि सर्वाधिक ५८ गोल गर्ने खेलाडी समेत हुन् ।
महिला टिममा प्याट्रिक डि वाइल्ड नयाँ मुख्य प्रशिक्षक नियुक्त भएपछि नै टिमको कप्तान परिवर्तन हुने चर्चा चलिरहेको थियो । यस्तै टिम घोषणा गर्दा र बिदाइ गर्दा पनि कप्तान नतोकिँदा कप्तान परिवर्तन हुँदैछ भन्ने शंकमा बल पुगेको थियो ।
पछिल्लो समय नियमित गोलकिपरको रुपमा रहेकी एन्जिला पहिलो रोजाईँमा खेल्ने/नखेल्ने टुङ्गो नहुँदा प्रशिक्षकले पनि नयाँ कप्तान बनाउन चाहेका थिए । त्यसैले नेपालको कप्तानी कसले गर्ने भन्ने खेल सुरु हुनु केही समय अघि मात्र सार्वजनिक भयो । त्यसमा पनि सुरुमा रेनुकालाई कप्तान तोक्दै पछि सावित्रालाई कप्तान दिँइन निर्णय पनि कच्चा देखिएको छ ।
एन्जिला पहिलो रोजाईँमा नपरेपछि नेपालको कप्तान परिवर्तन हुनुका साथै अन्जना राना मगरले गोलपोष्ट सम्हालेकी छन् । यस्तै मिडफिल्डर सरस्वती हमालले यसै खेलमार्फत सिनियर टिममा डेब्यु गरेकी छन् ।
प्रतिक्रिया 4