
१६ असार, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै कान्छा काकालाई पक्राउ गरेको छ ।
अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा बालिकाकै २२ वर्षीय काका अनिष सरदारको संलग्नता खुलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका उनले पछि स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । पक्राउ परेका अनिषमाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी चुडालले जानकारी दिइन् ।
फिल्म हेरेपछि भतिजीमाथि करणी
आत्तिकाका बुबा–आमा घर बनाउने मजदुर हुन् । गाउँबाट उनीहरु हरेक दिन विराटनगर कामका लागि आउँछन् । उनीहरु काममा जाँदा छोराछोरीलाई उनीहरुका हजुरआमा र काकाको जिम्मा लगाउँथे ।
शुक्रबार काम गरेर फर्किएपछि अक्षय सरदार धर्मकर्मका लागि भारत कटिहारमा रहेको मनिहारीघाट गए । उनकी श्रीमती माइती गइन् । उनीहरुका दुई छोरी र एक छोरा हजुआमाको घरमा बस्न थाले ।
प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँछिन् । शुक्रबार बेलुका उनले नाती–नातिनीलाई सुताउनु है भन्दै आफ्नो कान्छो छोरा (बालबालिकाका काका) अनिषको जिम्मा लगाइन् । खाना खाइसकेपछि भतिज र भतिजीलाई लिएर अनिष सुत्न गए ।
शुक्रबार बेलुका मदिरा सेवन गरेका अनिषले भतिज र भतिजी सुतेपछि मोबाइल चलाएर बसे । राति अबेरसम्म उनले ‘अश्लील भिडियो’ हेरेको प्रहरी स्रोत बताउँछ । ‘उसको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लील भिडियो हेर्ने गरेको देखिन्छ, शुक्रबारको घटना अघि पनि हेरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ ।’
‘राति करिब १२–१ बजेतिर करणीका क्रममा बालिका चिच्याएपछि उनले मुख थिचेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘बालिकाले प्रतिकार गरेपछि अनिषले घाँटी बटारीदिए । त्यसपछि उनको आवाज बन्द भयो । घटना खुल्ने डरले उनले मुख थुनेर हत्या गरिदिए ।’ प्रहरीका अनुसार बालिकाले चिथोरेको जस्तो दाग अनिषको शरीरमा देखिन्छ ।
हत्यापछि राति २ देखि ३ बजेको बीचमा उनले शव बोकेर सडकको किनारमा लागेर राखे । त्यसपछि घर आएर उनले लगाएको भित्री कपडा धोएर सुकाएका थिए ।
बिहानपख हजुरआमा आएर हेर्दा नातिनी घरमा थिइनन् । त्यसपछि गाउँमा बालिका हराएको हल्ला भयो । अनिषलाई सोध्दा ‘चोरी’ भएको हुनसक्ने बताए । बालिकालाई खोज्ने क्रममा आइतबार बिहान साढे ४ बजेतिर घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको सडक किनारमा शव भेटियो ।
अनिषले सुनाएको कथा उनैसँग मिल्यो
प्रहरीका अनुसार अनिषले सुरुमा हत्या गरेको स्वीकार गरेनन् । अन्य व्यक्तिको मुभमेन्ट नभएका कारण प्रहरीको शंका उनीमाथि नै थियो । आफ्नै काका भएका कारण गाउँलेले भने काकामाथि प्रहरीले गरेको शंकाप्रति चित्त बुझाएका थिएनन् । तर प्रहरीले उनैलाई सोधपुछ गरिरह्यो ।
‘सोधपुछको क्रममा उनले बोली फेरिरहे । कहिले मैले गल्ती गरेँ भन्दै रोए, कहिले अरुले मार्यो भन्दै सुनाए,’ प्रहरी स्रोतले भन्यो, ‘उनले हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला भन्ने कथा पनि सुनाए । तर अनुसन्धान गर्दै जाँदा उनले सुनाएको कथा उनैले गरेको देखियो ।’
आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे । आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारे ।
आफन्त र परिवारका कतिपय सदस्यले भने यसलाई स्वीकार गर्न सकिरहेका छैनन् । तर प्रहरीले भने काका अनिषले नै भतिजीलाई करणी गरेको र पोल खुल्ने डरले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
‘घटनाको प्रारम्भिक अनुसन्धान र प्राप्त प्रमाणबाट काकाको संलग्नता देखिएपछि थप अनुसन्धान पनि जारी छ,’ डिएसपी चुडालले भनिन्, ‘बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ । अनिष आफैं अहिले मानसिक रूपमा विक्षिप्त छन्, गल्ती गरेँ भन्दैछन् ।’
प्रतिक्रिया 4