+
+
Shares

जलवायु परिवर्तनबाट प्रभावित देशबीच सहकार्य आवश्यक : परराष्ट्रमन्त्री राणा

उनले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरुको विकास आवश्यक रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणाले जलवायु परिवर्तनको जोखिमलाई कम गर्न प्रभावित देशहरूबीच सहकार्य आवश्यक भएको बताइन्।
  • उनीहरूले जलवायुबाट प्रभावित देशहरूमा कृषि र जीविकोपार्जनमा नराम्रो असर परिरहेको उल्लेख गरिन्।
  • नेपालले जलवायु अनुकूलन, प्रविधि स्थानान्तरण र सहकार्यमा जोड दिएको र कृषि प्रणालीमा सुधार गर्न प्रयासरत रहेको बताइन्।

१६ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका जोखिमलाई कम गर्न प्रभावित देशहरुबीच सहकार्य हुनुपर्ने बताएकी छन् ।

इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत सोमबारआयोजित अति कम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरुसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुबाट प्रभावित देशहरुबीच दरिलो सहकार्यमा ढिला गर्न नहुने बताइन् ।

उनले भनिन्, ‘अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू राष्ट्रहरु जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जिवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ ।’

आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद गरेको भन्दै परराष्ट्रमन्त्री राणाले आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

उनले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरुको विकास आवश्यक रहेको बताइन् ।

जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपाय सहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवर्द्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।’

अहिले नेपालसहितका यी देशहरुले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तन जस्ता साझा संकटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन् ।

मन्त्री राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताइन् ।

एफएओद्वारा अघि सारिएको ‘फोर बेटर’ अर्थात ‘राम्रा चार’ जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।

राम्रो उत्पादन अन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढीमूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषण अन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवर्द्धन गरिरहेको उनले बताइन् ।

त्यसैगरी राम्रो वातावरण अन्तर्गत नेपालले पुन:प्रजनन कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको बताइन् ।

मन्त्री राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?