
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सन् २०२५ को एकल साहसिक यात्रा गन्तव्यको सातौं स्थानमा परेको छ, बेलायतस्थित ‘मच बेटर एड्भेन्चर्स’ ले सूची सार्वजनिक गरेको हो।
- नेपाल पर्यटन बोर्डले प्राकृतिक, सांस्कृतिक विविधता र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्दै सुरक्षित र रमणीय गन्तव्यको रूपमा प्रचार गरेको छ।
- मच बेटर एड्भेन्चर्सले नेपाललाई अद्वितीय भू–दृश्य, साहसिक गतिविधि र बजेटमैत्री सेवाका लागि उच्च मूल्याङ्कन गरेको छ।
१७ असार, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।
नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामू प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको दावि गरेको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग, र समुदाय–आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुहरूका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको समेत दावि गरेको छ ।
मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा, र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।
नेपाल पर्यटन बोर्डले एकल यात्रुहरूको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यहरूमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा, र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन नीति अन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, “नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’
मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् । उनी भन्छन्, “नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ – चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरु नै किन नहुन् ।”
प्रतिक्रिया 4