+
+
Shares

हनी सिंह : लागु पदार्थको लतसँग जुधिरहेका सुपरस्टारले कसरी गरे पुनरागमन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १४:०४

साधारण पृष्ठभूमिको एउटा ठिटो १५ वर्षअघि भारतीय हिपहप संगीतमा प्रवेश गर्छन् । संगीतको यस विधालाई उनले आफ्नो शैलीमा रङ्याउँछन् ।

त्यसले उनको छुट्टै पहिचान बनिदिन्छ । उनका गीतहरू विवाह समारोहदेखि क्लबहरूमा बज्छ । सडक छेउका चियाका टहरादेखि भव्य पार्टीसम्म बज्छ । उनका गीतहरूले श्रोतालाई मानसिक सान्त्वना दिनुका साथै रमाइलो गराउँछ ।

यसरी हरेक तरिकाबाट उनी आफ्नो करियरको उत्कर्षमा पुग्छन् । तर, उनी अचानक हराउँछन् । सार्वजनिक स्थानमा कतै पनि देखिँदैनन् । मिडियामा छाउँदैनन् । सात वर्ष (२०२४/२५)पछि उनी फेरि संगीतको दुनियाँमा पुनः फर्कन्छन् । नयाँ एल्बमका साथ टुर पनि गर्छन् । उनी हुन्, यो यो हनी सिंह ।

हराउनुको कारण लागूपदार्थको लत र मानसिक स्वास्थ्य भएको उनेले खुलाए । र, अब आफू परिवर्तन भएको उनको दाबी छ ।

हृदेश सिंहदेखि यो यो हनी सम्मको यात्रा

हनी सिंहमाथि बनेको एउटा नेटफ्लिक्स वित्तचित्र छ, ‘यो यो हनी सिंह : फेमस’ । त्यसमा संगीत पत्रकार भानुज कप्पलले हनी सिंह कुनै समय भारतको सबैभन्दा ठूला संगीत सितारामध्ये एक रहेको बताएका उल्लेख गरेका छन् । उनले हनी सिंहलाई भारतमा हिप-हप संगीतको सांस्कृतिक प्रभावलाई अगाडि बढाउन भूमिका खेलेको भनेर प्रशंसा गरेका छन् ।

तर उनको वास्तविक नाम हृदेश सिंह हो । जन्म पञ्जाबमा भए पनि हुर्काइ दिल्लीको सानो बस्तीमा भएको थियो । त्यहीँ नै उनले आफ्नो संगीतलाई आकार दिएका थिए ।

अनि संगीतमै करियर बनाउने अठोट लिएर उनले कलेज डीजेबाट आफ्नो यात्रा सुरु गरेका थिए । ‘म गायक बन्न चाहन्थेँ । मलाई सधैं बीट्स र संगीतमा काम गर्न मन पर्थ्यो,’ उनी भन्छन् ।

त्यस्तै पञ्जाबमा केही समय प्रोड्युसरका रूपमा पनि उनले काम गरेका थिए । तर त्यो काम पर्याप्त नभएको लागेपछि उनी पञ्जाबबाटै नयाँ शहरमा ‘सिफ्ट’ भएका थिए ।

२०११ मा पहिलो ब्रेकआउट

सन् २०११ मा उनले आफ्नो पहिलो एल्बम ‘द इन्टरनेसनल भिलेजर’ सार्वजनिक गरे । पञ्जाबी ढोल र स्ट्रिङ्सलाई हिप-हपको साथ मिसाएर उनले नयाँ शैली बनाएका थिए ।
एल्बम सार्वजनिक भएको केही महिनासम्म असफल जस्तै थियो । तर, अचानक सब कुरा बदलियो । गीतहरू भाइरल भए । चार्टमा शीर्षमा पुगे । पुरस्कार जिते । र, उनी बलिउडमा प्रवेश गर्न पनि सफल भए ।

उनको ‘ब्राउन रङ’ गीत २०१२ मा युट्युबको सबैभन्दा धेरै हेरिएको भिडियो बन्यो । दुबईमा एक मिलियन डलरको बजेटमा खिचिएको, तेज कार, सुनका चेन, गहना र तड़कभडकले भरिपूर्ण उक्त गीतले भारतीय दर्शकलाई हिप-हपको चमकसँग परिचित गराएको थियो ।

यद्यपि महिलाविरोधी गीतहरूका कारण आलोचना हुन छाडेका थिएनन् । उता सिंहले स्टेडियमहरू भरिरहेका थिए । एकपछि अर्को हिट गीत दिइरहेका थिए । हुँदाहुँदा शाहरुख खान र अक्षय कुमारका लागि पनि बलिउडमा गाउन भ्याएका थिए ।

घरेलु हिंसाको आरोप

हनी जति प्रसिद्ध थिए, विवादमा पनि उत्तिकै थिए । आफू ‘आक्रामक र लापरवाह व्यक्ति’ भएको उनैले मिडिया अन्तर्वार्ताहरूमा स्विकारेका छन् । उनको त्यही व्यवहारलाई लिएर धेरैले उनलाई विभिन्न आरोप पनि लगाउने गर्थे ।

अझ कतिपयले उनकै गीतहरूको पनि कठोर आलोचना गर्थे । उनका गीतहरूमा महिलामाथिको हिंसा र बलात्कारको प्रशंसा गरिएको भनेर प्राय: टिप्पणी हुने गर्थ्यो ।

त्यसमाथि उनको सार्वजनिक छवि झनै खस्कियो । प्रमुख कारण भने पूर्वपत्नीले उनलाई घरेलु हिंसाको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा हाल्नु थियो । यद्यपि सिंहले ती आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

रहेनन् पहिलेको जस्तो हिटमेकर

सात वर्षपछि फर्के पनि उनी हिटमेकर रहेनन् । यसको प्रमुख कारण उनको छवि खस्कनु र संगीतको दुनियाँमा आएको पछिल्लो बदलाव हो ।

कुनै समय हनी सिंहबाट प्रेरित हुने कलाकारहरू नै उनीभन्दा चर्चित भइसकेका छन् । अनि हनी सिंहको शैलीमा पनि परिवर्तन देखिन्छ । जुन गीतको विधादेखि विचारसम्मै भएको छ ।

उनी पहिले आफूलाई नै ब्रह्माण्डको सर्वज्ञ गुरु बताउँथे । तर आजभोलि उनी आफूलाई ईश्वरप्रति श्रद्धावान् र ज्योतिषशास्त्रप्रति विश्वास राख्ने व्यक्ति भएको बताउँछन् ।

संगीतलाई पनि उनले लागूपदार्थभन्दा पर भएको र यसको गहिराइतिर उन्मुख भइरहेको बताएका छन् । यद्यपि प्रशंसकहरूले भने अब हनी सिंहमा उही चमक नभएको र उनका नयाँ गीतहरू कमजोर भएको बताइरहेका छन् ।

हार मान्न तयार छैनन् हनि

तर, हनी सिंह अझै हार मान्न तयार छैनन् ।

उद्योगमा उनी पारदर्शी नै छन् । आफ्नो प्रसिद्धि, नशाको लत, मानसिक स्वास्थ्यसँगको संघर्ष कुनैमा पनि उनले कुरा लुकाएका छैनन् ।

एक मिडियासँगको अन्तर्वार्तामा उनले आफूलाई ‘ड्रग्स’ले पूर्णरूपमा वर्वाद गरेको सुनाएका छन् । ‘प्रसिद्धि, पैसा र महिलाहरूका लागि आफूलाई खत्तम बनाएँ । राक्षसजस्तै भइसकेको थिएँ’ ग्लानी भावमा उनले भनेका छन् ।

तर पछिल्ला अन्तर्वार्ताहरूमा उनी हँसिलो र शान्त देखिएका छन् । अब सत्य बुझिसकेका बताउने उनले आफू अँध्यारोमा फसेको र त्यसबाट फर्किसकेको सुनाउँछन् । त्यसक्रममा समय भने लागेको उनको स्वीकारोक्ति छ ।
प्रसिद्धिसँगै पतन

तर, प्रसिद्धिसँगै उनको निजी जीवनमा पनि पतन आयो । त्यसको कारण उनले मज्जैले खुलाइसकेका छन् ।

‘म लागूपदार्थ र रक्सीमा चुर्लुम्म डुबेको थिएँ । दिनमा १२/१५ पटक गाँजा तान्थेँ । रक्सीका बोतलहरू सक्थें । परिवारबाट अलग भएको थिएँ । आफूमाथि नियन्त्रण गुमाइसकेको थिएँ’ उनले पतनबारे भनेका छन् ।

सन् २०१७ को टुरका क्रममा उनी मानसिक रूपमा विक्षिप्त भए । त्यसपछि तुरुन्तै संगीत र लागूपदार्थ त्यागेर दिल्ली फर्किए । उपचार सुरु गरे । मानसिक रूपमा अस्वस्थ भएकाले ठिक नभएसम्म केही गर्न नसक्ने कुरा उनले परिवारमा पनि शेयर गरेका थिए ।

उनले भने जस्तै उनी ठिक पनि भएका छन् । यो ७ वर्षको अवधिमा रक्सी नपिएको तर कहिलेकाहीँ बियर मात्र पिउने गरेको उनको भनाइ छ । ‘म नर्कमा गएर फर्किएँ । अहिले पनि केही औषधिको असरले बिहान उठ्दा अलमल लाग्छ,’ नेटफ्लिक्सको वित्तचित्रमा उनले सुनाएका छन् ।

मानदारीले बाँधेका छन् प्रशंसक

सिंहलाई प्रशंसकसँग बाँधिरहने अर्को कुरा, उनको इमानदारिता हो । धेरै प्रशंसकहरू उनको त्यहीँ इमानदारीबाट प्रभावित छन् । सबैमा यो लागू नहुन सक्छ ।यद्यपि हनी सिंहको पुनरागमन दर्शक र उनी स्वयंका लागि एउटा चुनौती भने पक्कै बनेको छ ।

‘म ७ वर्ष टाढा रहेँ । तर, अबको सात वर्षमा फेरि सबैलाई मोहित पार्नेछु । म फर्किएको छु,’ उनी भन्छन्, ‘मलाई उही माया चाहिन्छ, जुन ७ वर्ष पहिले पाएको थिएँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?