+
+
Shares

त्रिभुवन विश्वविद्यालय : सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले ताला, विद्यार्थीको बाँकी

आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १२:५३
उपकुलपति कार्यालय ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको ताला खोल्न आदेश दिएपछि आंशिक प्राध्यापकहरूले शुक्रबार बिहान ताला खोले।
  • आंशिक प्राध्यापकहरूले फास्ट ट्रयाक नियुक्ति विरोधमा तालाबन्दी गरेका थिए ।
  • नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने अझै खुलेको छैन र उनीहरूले तोडफोड गरेको आरोपमा कारबाहीको माग गरिएको छ।

२० असार, काठमाडौं । आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका छन् । फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो ।

शुक्रबार त्रिविको ६६ औं वार्षिकोत्सव पनि थियो । त्रिभुवन स्मृति भवानमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनुअघि नै आंशिक प्राध्यापकले गएर ताला खोलेका हुन् ।

त्रिविका रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले आंशिक प्राध्यापकले ताला खोलेको जानकारी आएको बताए ।

‘ताला खोलेको सूचना आएको छ,’ उनले भने ।

तर नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने खुलेको छैन । स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौंमा स्ववियु पदाधिकारीले उपकुलति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका थिए ।

रजिस्ट्रार कार्यालय ।

ताला सँगै उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै त्रिविले जाहेरी दिएको थियो । तर अहिलेसम्म कारबाही भएको छैन ।  पक्राउ परेका दुई जनालाई पनि छोडिसकेको छ ।

तालाबन्दीका कारण उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् ।

विद्यार्थीले लगाएको ताला आफैं नखोले अदालतको आदेश अनुसार प्रशासनले खोल्ने तयारी छ ।

अदालतको आदेश गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रहरीले खोल्ने बताइएको छ ।

तालाबन्दीकै बीच त्रिविले शुक्रबार आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?