+
+
Shares

विद्युत् प्राधिकरणको ठेक्का विवाद : बागमतीका सांसद तामाङविरुद्ध पक्राउ पुर्जी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते २१:२५
बागमती प्रदेशसभा सदस्य डम्बर तामाङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
  • ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
  • तामाङ यसअघि प्रदेशको सहकारी मन्त्री पनि भएका थिए।

२१ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।

बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।

धादिङ-२ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।

के हो विवाद ?

चिलिमे–त्रिशुली २२० के.भी प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का कात्तिक २०७४ मा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले १ अर्ब ११ करोडमा पाएको थियो । त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले दबाब दिएर सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा बागमती प्रदेश सांसद डम्बर तामाङको प्रो–सोलुसन्सलाई दिलाएका थिए ।

त्यस ठेक्कामा सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेकोमा करिब ३८ करोड भुक्तानी पाएको स्रोतले जनायो । पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रो सोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओ मार्फत सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।

तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएको स्रोतले बतायो । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ ।

पक्राउ पुर्जी जारी हुनेहरूमा प्रोसोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?