
२१ असार, काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका झन्डै पाँच सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा भएको कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिका सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथिको गिरिले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिएकी थिइन् ।
‘तपाईं आफ्नो जीवनको खराब समय चलेको बेला कानुनी विवादमा पर्नुभयो, सधैं तपाईंको जीवनमा खराब समय चल्दैन, यहाँको बसाइँलाई जीवन उपयोगी समयमा बदल्नुस्, आफ्नो मुद्दा हेरेको वकिल कुन हो ? मुद्दा कहाँ पुगेको छ त्यसको बिषयमा चासो राख्नुस्’, कार्यक्रममा उनले भनिन् ।
सांसद् गिरीको पहलमा लुम्बिनीमा हालसम्म तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भएको छ ।
पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिइएको उनले बताइन् ।
रुपन्देही बाल सुधार गृहमा आयोजित कार्यक्रममा निमित्त कार्यालय प्रमुख बोधराज आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका भूप बहादुर मल्ल, रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4