
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाबाबु कोइरालासँगको सम्बन्ध स्मरण गरेका छन्।
- उनले कोइरालासँग झगडा र पार्टीबाट निकालिएको घटनाबारे बताए।
- देउवाले गिरिजाबाबु र राजा ज्ञानेन्द्र शाहलाई एउटै मान्ने गरेकाे टिप्पणी पनि उनले गरे।
२१ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. नेता गिरिजाबाबु कोइरालासँगको सम्बन्ध स्मरण गरेका छन् ।
शनिबार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कोइरालाको स्मरण गरे । गिरिजाबाबु र आफूबीच विभिन्न कालखण्डमा झगडा परेको पनि उनले सम्बोधनको क्रममा बताए ।
‘स्वर्गिय गिरिजाबाबु र मेरो बीचमा हाम्रो झगडा पनि भएको सबैलाई थाहा छ । उहाँले मलाई पार्टीबाट निकालिदिनुभयो । मैले आफ्नो पार्टी खोलेँ पनि,’ देउवाले भने ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद र गिरिजाबाबुले पार्टीबाटै निष्काशन गरेपछि आफूले उनीहरूमाथि गरेको टिप्पणी पनि देउवाले खुलाए ।
देउवाका अनुसार, उक्त घटनापछि उनले गिरिजाबाबु र ज्ञानेन्द्र एउटै हुन् भनेर भनेका थिए ।
‘अनि मैले के भनेको थिएँ भने, राजाले मलाई खोस्यो । त्यतिबेला मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर क्या,’ देउवाले भने, ‘ त्यस्तो हाम्रो सम्बन्ध हो । तर, पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ ।’
आफू जेलबाट छुटेपछि गिरिजाबाबुसँग मिल्नुपर्छ भनेर मिलेको उनले सुनाए ।
‘पछि म छुटिहालेँ । गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो । अनि गिरिजाबाबुसँग मेरो सम्बन्ध भयो,’ देउवाले भने, ‘उहाँ (गिरिजाबाबु) धेरै हिम्मत भएको व्यक्ति हो । गणतन्त्र ल्याउने सच्चा रुपमा भन्ने हो भने गिरिजाबाबु नै हो ।’
प्रतिक्रिया 4