
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुराको खण्डन गरे।
- उनीले भने, ‘मैले त्यो रकम लिएको होइन’ र निर्माताले बोल्न भनेपछि मात्रै बोलेको बताए।
- निर्माता मुनाल घिमिरेले भने, ‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ भनेर बताएका थिए।
काठमाडौं । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् ।
आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए ।
‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ ।’
उनले अघि भने, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’
असार पहिलो साता फिल्म ‘माग्ने राजा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए । उनले त्यसो बताएपछि केही मिडियाले महंगा कलाकार भन्दै प्रचार गरेका थिए ।
रोचक कुरा के छ भने, महिना दिन नबित्दै उनै निर्माता घिमिरेले आफ्नै कुराको खण्डन गरेका छन् ।
शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ एपिसोडमा निर्माता घिमिरेले यस कुराको खण्डन गरिसकेका छन् । यो शो ३ सातापछि प्रसारण हुने तयारीमा छ ।
‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ मुनालले उक्त शोमा बोलेको कुरा उध्दृत गर्दै केदारले पत्रकार सम्मेलनपछि भने ।
अनलाइनखबरले पनि केदारलाई यसबारे जिज्ञासा राखेको थियो । जवाफमा उनले अहिलेसम्म आफूले कहिँकतै ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर नबोलेको बताए ।
‘६१ लाख लिएको प्रमाणित गर्नेलाई ६१ लाख रुपैयाँ नै दिन्छु’ केदारले भने, ‘निर्माताज्यूले कमेडी नाइट विथ च्याम्पियन्स पारिश्रमिकको कुरा गलत भएको भनेर बोलेपछि मलाई पनि प्रेसमिटमा बोल्न सजिलो भएको हो ।’
केदारको शीर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ तीजमा प्रदर्शन तयारीमा छ । ‘माइतीघर’ दशैंमा, ‘जेरी अनटप’ तिहारमा र ‘जहाजैमा’ फागुनमा प्रदर्शन तयारीमा छन् ।
केदारको तिहार यसपटक अमेरिकामै बित्नेछ ।
प्रतिक्रिया 4