
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिकामा बेलिब्रिज उद्घाटन गरे।
- उद्घाटनपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, जसले जनजीवनमा सुधार ल्याउने अपेक्षा छ।
- सडक जडानले हुम्लाको दुर्गम क्षेत्रलाई सुगम बनाएको र विकासमा टेवा पुर्याउने बताइएको छ।
२३ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरिरहँदा हुम्लीबासी खुसीले गद्गद् थिए । कारण थियो- उनीहरूको २६ वर्षदेखिको सडक सपना पूरा भएको थियो ।
सडक पहुँचका लागि हुम्लाको लाइफलाइन मानिएको कर्णाली करिडोर अन्तर्गत उक्त बेलिब्रिजको उद्घाटनपछि कर्णाली प्रदेशको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला थियो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । त्यसकारण पनि हुम्लीवासी खुसी हुनु स्वाभाविक थियो ।
हुम्ली जनताको भाग्य बदल्ने बेलिब्रिज उद्घाटन कार्यक्रम हेर्न टाढाटाढादेखि स्थानीयवासी च्वाखोला नदी पुगेका थिए । अधिकांशको अनुहारमा खुसीको धर्सा देखिन्थ्यो । तीमध्ये एक थिइन्, सिमकोट गाउँपालिका-१ की पानकला भण्डारी ।
उनले भनिन्, ‘हामीले भारी बोकेर हिँडेको बाटो हो यो । यो बाटोमा गाडी गुडेको देख्दा साह्रै खुसी लागेको छ ।’ प्रधानमन्त्रीले पुल उद्घाटन गरेको हेर्न २ घण्टा हिँडेर आएको भण्डारीले बताइन् ।
७७ जिल्लामध्येमै दुर्गम हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिँदा आफू खुसीले गद्गद् भएको सिमकोट गाउँपालिका- १ का गोरसिंह बोहराले बताए । ‘हाम्रै पालामा हुम्लामा सडक जोडियो । गाडी गुड्यो । खुसीको सीमा नै छैन,’ बोहराले भने ।
भण्डारी र बोहरा जस्तै अर्की स्थानीय जाङ्मु लामा पनि हुम्लामा गाडी गुडेको देखेर निकै प्रशन्न देखिन्थिन् । उनी भन्दै थिइन्, ‘प्रधानमन्त्री आउने खबर पाएर खुसीले हेर्न आएको । यो ठाउँमा सडक बन्ला, गाडी गुड्ला भनेर सपनामा पनि सोचेको थिइनँ । अब दु:खका दिन जालान् कि ।’
देशको ७७ जिल्ला र कर्णाली प्रदेशको १० जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएपछि हुम्ली जनतामा खुसी छाएको जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले बताए । ‘आज हुम्ली जनताको खुसीको दिन हो । सडक यातायात नभई विकास नहुने रहेछ । अब हुम्लीको जीवनस्तर फरक हुन्छ,’ समन्वय प्रमुख शर्माले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलिब्रिज उद्घाटनका क्रममा देशको अति दुर्गम ठाउँलाई सुगम बनाएको बताएका थिए । ‘७७ जिल्लाका रूपमा हुम्लालाई सडक सञ्जालमार्फत जोडिएको छ । यहाँ दाजुभाइ, दिदी-बहिनीलाई दुर्गम ठाउँबाट सुगम बनाएका छौं । हुम्ला अब राजाधानी काठमाडौँबाट टाढा रहेन,’ प्रधानमन्त्री ओलीले भने ।
नेपालगञ्जको जमुनाहा नाकादेखि हुम्लाको हिल्सा नाकासम्म दुई लेनको सडक विस्तार गर्ने आश्वास समेत प्रधानमन्त्रीले दिएका थिए । ‘मोटर चढेर सिमकोट आउन पाइने भयो । अब कर्णाली फेरियो । दुःख छैन,’ ओलीले भने । हिल्सा नाकामा पनि क्वारेन्टाइन स्थापना गर्ने आश्वासन समेत ओलीले दिएका छन् ।
नेपालगञ्जको जमुनाह नाकादेखि हुम्लाको उत्तरी चीनसँग जोड्ने यो त्रिदेशीय नाकाको लम्बाई ५०८ किलोमिटर दूरी रहेको हिल्सा सिमकोट सडक योजना हुम्लाले जनाएको छ । जसमा २३९ किलोमिटर सडक पिच, ६३ किलोमिटर सडक ग्राभेल र २०६ किलोमिटर सडक कच्ची रहेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले अनलाइनखबरलाई बताए ।
हालसम्म कर्णाली करिडोरको ट्र्याक खोल्ने र ग्राभेलका लागि लागत स्टेटमेन्ट ६ अर्ब ६६ करोड, १९ लाख रहेको र हालसम्म खर्च २ अर्ब ३० करोड ९० लाख ३३ हजार ५५१ रुपैयाँ रहेको योजना प्रमुख नेपालीको भनाइ छ ।
प्रतिक्रिया 4