
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री ओलीले नेपालमा भगवान् रामको जन्म भएको दाबी दोहोर्याए।
- उनले राम, शिव, विश्वामित्र र कौशिक नेपालकै भएको बताए।
- उनले सत्य बोल्न हिचकिचाउनु नपर्ने बताए।
२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्याएका हुन् ।
यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए ।
उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर … ।’
उनले थपे, ‘राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो कि ? के थियो । अहिले त्यो भूभाग नेपालमा पर्छ ।’
उनले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे ।
‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’
उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं ?’
उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण !’
प्रधानमन्त्री ओलीले वाल्मिकीकृत रामायणमा राम-लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको उनले सुनाए । ‘त्यो मैले लेखेको होइन नि । वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ,’ उनले भने ।
प्रतिक्रिया 4